समयमै क्षतिपुर्ति

सरकारी निकायले किसान परिश्रम र मेहेनत नबुझ्दा सुखौराका किसानले उत्पादन गरेको अदुवाले बजार पाएन । गाउँ गाउँमा टनेलमा बेमौसमी तरकारी खेतीको लहर चलाईए पनि त्यहाँ उत्पादित कृषि उपजले बजार नपाउँदा कृषक निराश बन्दै गएका खबर आएका छन् । तरकारी खेतीमा कृषक अभिप्रेरित गर्ने काम जति राम्रो छ त्यसको प्रभावकारी अनुगमन गर्न नसक्दा कृषकहरु पलायन हुन थालेका छन् । कृषकले आफ्नै बलबुताले तरकारी खेतीमा अग्रसर भएपनि मौसम र किटाणुका कारण घाटा खाईरहँदा उनीहरुलाई सम्बन्धित निकायले राहत दिन सकेको छैन । यस्तै पीडा गुज्रिरहेका छन् । बुर्तिवाङका केही कृषकहरु । गत साउनको बाढी र पहिरोले पशु फारम बगाएर लाखौं क्षति व्यहोरेका बुर्तिवाङ क्षेत्रका किसान अझै राहत पाउन सकेका छैनन् ।
कृषकले राहतको लागि पटक–पटक आग्रह गरेपनि सहयोग र संरक्षणमा जिल्लाको नेतृत्व तथा प्रशासनले बेवास्ता गर्दै आएका छन् । पीडितहरुको गुनासो छ, कि हाम्रो कुरा सम्बन्धित निकायले सुनेको छैन । सबैभन्दा धेरै क्षति व्यहोरेका बुर्तिवाङ गाउँ विकास समिति वडा नं. १ का बुद्धिमान विक अझै राहत पाएका छैनन् । बाढीले विकका ३० वटा बंगुर बगाएको थियोभने खोर र जमिन समेत बगरमा परिणत भएको छ । बजारमा विक्रिको लागि तयार भएका बंगुर बगाएपछि लाखौं लगानी गरेका बिक अहिले अझै ऋणमा डुबेका छन् । बाढीका कारण अनुमानित २० लाख रुपैयाँ नोक्सानी व्यहोरेका विकलाई राहत दिनको लागि तत्काल सरकारी निकायले पहलकदमी गर्न जरुरी छ । विकलाई समयमै राहत दिन नसक्ने होभने कृषि पेशामा आर्कषित भएका विक फेरि निरुत्साहित बन्नेछन् । यतिमात्रै होइन विकको जमीन अझैपनि पहिरोको जोखिममा रहेको छ । बचेको विकको सम्पत्तिको संरक्षण गर्नु सरकारी निकायको जिम्मेवारी हो । यसबाट कोही पनि पन्छिनु हुँदैन ।
पिडित किसानको क्षतिलाई पूरण गर्न सक्ने कार्यालयको मात्र सामर्थ नभए अन्य दाताहरुको पनि खोजी गर्नुपर्छ । किसानहरुको संरक्षणको लागि जिल्लाका सबै विकास निर्माणका बजेट र कार्यक्रम त्यसतर्फ केन्द्रीत गर्नुपर्छ । दर्लिङ, अधिकारीचौर र बुंगादोभान लगायत गाविसमा पनि बाढीले कृषकलाई ठूलो नै क्षति पु¥याएको छ । लाखौं मूल्यको कृषि फसल र तरकारी खेती पनि नष्ट भएको थियो । सामान्य राहत वितरण भएपनि पशुको पूर्ण क्षतिपूर्ति दिनमा निकै ढिलाई भईसकेको छ । बुर्तिवाङका बुद्विमा विक जस्तै धेरै पिडित किसानहरु अहिले पनि सदरमुकामका विभिन्न कार्यालयमा सहयोगको खोजी गर्दै भौंतारिन बाध्य छन् ।
उनीहरुको आहतमा मल्हम लगाउनको लागि सम्बन्धित निकायले अब ढिला गर्नु हुँदैन । कृषिबाट आम्दानीको प्रशस्त संभावना छ । रोजगारीका लागि विदेशिने युवाहरुलाई पनि कृषि पेशामा अभिप्रेरित गर्नको लागि बाढी र पहिरोबाट पीडित बनेका कृषकलाई उत्साहित बनाउनको लागि उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्छ । कृषकका पीडालाई समयमै सम्बोधन नगर्ने होभने कृषी पेशामा लागेकाहरु निरुत्साहित हुनेछन् ।