सत्ता-विपक्षी राजनीतिक भिडन्तको नयाँ आयाम सुरु

काठमाडौं, २२ पुस – प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै राजनीतिक भिडन्तको नयाँ आयाम सुरु भएको छ |
एमालेले साथ नदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव पुस २४ को बैठकमा अगाडि बढाउँदै पारित गराउने आश्वासन मधेसी मोर्चालाई दिएका छन् । बालुवाटारमा बिहीबार बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताको बैठकमा दाहालले पुस २४ गते कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने बताएका हुन् । एमालेले भने शुक्रबारको ‘विशाल’ आमसभाको तयारीस्वरूप राजधानीमा बिहीबार मोटरसाइकल र्‍याली गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले सरकारले जबरजस्ती संविधान संशोधन विधेयक अघि बढाए त्यसको जबाफ कडा हुने बताएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा ओलीले भने, ‘सरकारले जबरजस्ती विधेयक अघि बढायो भने त्यसको जबाफ झन् कडा हुन्छ । त्यो कस्तो कडा हुन्छ, तत्कालको समय र परिस्थितिमै निर्भर हुन्छ ।’
ओलीले मधेसी मोर्चाले ब्रेक फास्ट, लन्च, डिनरबाट आएपिच्छे प्रमुख दलसँग कुरा फेरिरहेकाले उसको माग पूरा गर्ने नाममा राष्ट्रहितविपरीतको कुनै पनि कुरामा सम्झौता नगर्ने बताए । अन्नपूर्ण पोस्ट