बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो

काठमाडौँ, २३ पुस – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन । सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकारिन् । बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन् ।
त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो । सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए ।
त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ । महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ ।
तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ । बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ । यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो । सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ । अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन् । ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन् ।