कथा-सुन्तलीले दिएको चोट

सुनिल पौडेल
एउटा सानो गाउँ थियो । गोरेको सुन्तलीसँग संसार बसाउने दाउ थियो । बजाइयो बाजा दुवै तर्फबाट, नाचे मान्छेहरू, भाँचे कमर, ठिटा तरूनीहरुको छुट्टै माहोल थियो । बूढापाकाहरू पनि गुट गुट बनेर गफ गरिरहेका थिए । कोही भन्दै थिए– भाग्यमानी रहिछे केटी, राम्रो खान्दानिया र असल लोग्ने पाई । कोही थप्दै थिए, केटी पनि त असल मिहिनेती छे । भाग्यमानी रहेछन् दुवै । उत्कृष्ट जोडी हुनेछ यिनीहरूको । आहा कति मिलेको जोडी । तर गोरे त्यो भाग्यमानीमा परेन, जसले रङ्गाउन पाओस् सुन्तलीको सिउँदो अनि अन्माउन पाओस् उनको त्यो डोली । बिहे भयो, सुन्तलीको पल्लो गाउँकै मुखियाको छोरा जो लाहुरे भएर पहिलो छुट्टी आएको थियो । विचरा मर्यो गोरेको त्यो भर्खरै टुसाएको प्रेमको मुना । बेलाबेला गुन्गुनाउँथ्यो
निष्ठुरीले बोटो लाग्दा आँखा तरी गएपछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो ।
मानव स्वभाव पनि बिछटैको हुँदो रहेछ । आफूले पाएका अनेकौं उप्लब्धिलाई बिर्सिएर आफूले गुमाएको एउटै वस्तुप्रति धेरै आशक्ति भएर बस्छ ।
हप्तौं बिते, महिनौँ बिते । सुन्तलीको बिहे भएपछि त्यसको रन्कोले गोरेले पनि गाउँ छोड्यो, मरे जिम्दोको केही अत्तोपत्तो भएन ।
सुन्तलीका पनि दिनहरू बित्दै गए । नव बेहुलासँग छुटिनुको पीडा त छँदै थियो त्यसभन्दा पनि उसलाई बेलाबेला चिमोट्ने गथ्र्याे गोरेको यादले । अनि गोरे बेपत्ता भएको खबरले । कति पटक त सपनामा पनि झस्की सकेकी थिई । बेलाबेला लोग्नेले फोन गथ्र्याे, मीठामीठा सपना सजाउँदै प्रणयले भरिएका गफहरू गर्दै कैयौं रात उज्यालो बनाउँथे तर आफ्नो मन उज्यालो बनाउन सकिन सुन्तलीले ।
पाँच वर्ष भएछ, सुन्तलीको बिहे भएको तर उसले बाजे बज्जैको काखमा नाति नातिना दिन सकेकी थिइन । लाहुरे बेलाबेला छुटिमा आउँथ्यो, उसलाई मायाभन्दा बढी डर देखाउँथ्यो दोस्रो बिहेको । कतिपय रातहरू रकसीले मातिँदै आएर बजाथ्र्यो आफ्ना हात र लातहरू निरही महिलाको शरीरमा । अनि महसुस गथ्र्यो आफूले आफूलाई वीर गोर्खाली, वीर पुरूष र आफ्नो अर्धाङ्गिनीमा गर्व गथ्र्याे होला । अनि भन्दै गयो त थारी, बाँझी, वेश्या अनि मुखमा जे आउँछ त्यही… ।
एक दिन अचानक सुन्तलीलाई कुनै अपरिचितको चठ्ठी आएको रहेछ । त्यसमा लेखिएको थियो ः
म जुन शब्दले सम्बोधन गर्न चाहान्थेँ, ती शब्दहरू त लिलाम गरिदयौ तर यादहरू अझै विकाउन र साट्न सकेको छैन । मेरो आशाले भरिएको गाग्रो फुट्यो त्यही दिन, जुन दिन तिमी पराइ भयौ । त्यो क्षण म आफै टुटेको थिएँ, फुटेको थिएँ । मन त थियो, आफ्नै जिन्दगीको नाम निसान मेटाइदिऊँ र आफैलाई अतीत बनाइदिऊँ । आखिर अतीत भएर गएर त के पाउँथे र बाचेँ भने तिम्रो खुशी देख्न सकुँला भन्ने सोच्थेँ एक मन । हिजो निश्चित सीमाभित्र सीमाङ्कन गर्ने नसकेको हाम्रो सम्बन्धले गर्दा मप्रति गाउँले सबैले दयाको नजरले हररे भन्न थालिसकेका थिए । विचरा गोरे, प्रिय तिमीलाई थाहा छैन दयाको दायरामा बाँच्नु गाह्रो हुन्छ भनेर ।
ती दिनहरू अझै मेरा मष्तिस्कमा ताजै छन् जो पराइले तिम्रो सिउँदो रङ्गाएका दिनहरू कस्तो छट्पटी र बेचैनीमा बाचेको थिएँ । वियोगका प्रेम कथाहरूमा पढेको ती असम्भव जस्तो लाग्ने अवस्था आफैले भोगेको थिएँ ।
विस्तारामा पल्टिएर सुतेको छु तर आँखाका परेली पनि नदीका दुई किनार झैँ भइदिन्छन् । यो कस्तो बेचैनी भोग्दै छु, प्रिय खाना खान बोलाउने मान्छेलाई खाइदिऊँ झैँ झोक चल्छ तर हातले टिपेर एक सितो भात मुखमा राख्ने आँट आउँदैनथो । अरू हाँस्दा पनि मलाई देखेरे हाँसेको जस्तो भान हुन थालिसकेको थियो । जतिसुकै सकारात्मक सोचका पुस्तकहरू अवलम्बन गर्न खोजे पनि आत्मआलोचनाको मरूभमिमै रुमल्लिरहेँ । अतीतलाई कोट्याएर किन किन तिम्रो वर्तमानलाई नमीठो बनाइदिऊँ, रहर र खुशीका उमङ्गले भरिएको तिम्रो त्यो सहरमा किनपश्चात् रूपी असिना झारिदिऊँ, तिमीले भुलिसक्यौं होला मलाई लाउरेको त्यो न्यानो माया र त्यो ठूलो खान्दानी घरको रहनसहनमा तर मैले भुल्न सकिन माया । यो धाराको पानीजस्तो रहेनछ, जो चाहेको बेला खोल्न र बन्द गर्ने सकियोस्, माया त मूलको पानीजस्तै रहेछ जो चाहेर पनि बन्द गर्न नमिल्दो रहेछ । त्यसैले आजसम्म पनि तिम्रो यादले सताइरहन्छ बेलाबेला । त्यसैले तिमीलाई फेरि भन्न मन लाग्छ माया गर्ने मुटुले हो जातले होइन ।
उही तिम्रो अतीत गोरे ।
कास्की