आऊ पृथ्वी, एक पटक फेरी दही खाऊ !

तीते करेली
कृष्णराज शर्मा
मैले कखरा सिक्दै गर्दा थाहा पाएको हुँ । सदरमुकामको नजिक मेरो जन्म भएकोले गर्दा त्यो थाहा पाउने अबसर मलाई बालापन मै मिलेको हो । मैले प्रावि तहको पढाई पुरा गरेपछि थाहा पाएको कुरा छाम्न दौडें । मेरो वीरेन्द्र स्कुलबाट जाँगे र लामबाहुले कमिजमा पुषको जाडो छल्दै न्यानो मानेर दौडिन्थें । यिनै दुई पीस कपडाले पनि पुषको जाडोमा खलखली पसिना बग्थे दौडिंदा । अनि खाली खुट्टा उफ्रिंदा बग्थे पसिना । बजारका दोकान देख्दा उमंगले भरिन्थ्यो मन । अझै न्यानो थपिन्थ्यो । खुशी लाग्थ्यो । भोक लागेर किनि खान खोज्दा तीनवटा खल्तीभरी एकसुका पैसा देखेर मन कठ्याङ्ग्रिन्थ्यो,जीऊ भने तातै हुन्थ्यो । खुर्रररर जूलुसमा मिसिंदा म पनि भाग्यमानी भएको ठान्थें । हो,यही बेलामा सुनेर थाहा पाएको हुँ ‘पृथ्वी जयन्ती’ भन्ने कुरो । ‘श्री ५ पृथ्वी’ भन्दा अमर रहून् भन्थें । ‘राष्ट्रिय एकता दिबस’भन्दा अमर रहोस् भन्थें । अरूपनि थुप्रै नाराहरू यसैगरी भट्ट्याउँथ्यौं । अहिले अरू नारा पट्टी मेरो छमकट्टै चासो छैन । संझना भएपनि यहाँ उल्लेख गर्न जरूरी ठान्दिन । प्रसँग मिले लेखौंला । तिनै दुई नारा मेरो बचपना उमेर देखि आजसम्म दिलमा गडेर बसे । आज आएर त्यही मौसम त्यही समय मेरो वरीपरी घुमेको छ । पाहारिलो घाम चीसो सिरेठो उही छ । कहिलेकाँही धमाल धुमुल पनि छ । तर त्यो उमेर आज मसंग छैन । तन्नम् विपन्नता बाट थोरै माथी उठेर जूत्ता ज्याकेटले छोपिएको छु । एक सुकाको ठाउँमा एकहजार छ । आँफै उफ्रने म,अरूलाई उफार्न सक्ने पाको उमेरको भएको छु । पाको उमेरको त भएको छु । तर “पाको“ भएको छु छुईन थाहा छैन । जे होस् त्यस्तो बेलादेखि पृथ्वीनारायण शाहलाई सुनेर जानेको हुँ । यो कुरा मेरा समकालिन सबैले बुझेको हुनु पर्दछ । जान्नु मात्र र बुझ्नु फरक कुरा हुन् । स्कुले जीवनमा जानेका कुरा कलेज जीवनले बुझाउँछ । कलेजमा बुझेका कुरा जीवन पर्यन्त अविष्मरणीय हुन्छ । मलाई भयो त्यै । म भन्दा बढी बुझेका साथीहरू पनि छन् । तत्कालिन बर्तमानमा भएका राजाहरूलाई दूत्कार्य पनि यि पृथ्वीनारायण शाहलाई “मान्नै पर्छ“ भन्थे समाज परिवर्तनका संवाहक ठान्ने मेरा मित्रहरूले । यिनले हाम्रो देश नेपालको एकीकरण नगरेका भए अँग्रेजले खर्लप्पै पार्ने रहेछ पनि भन्थे । लगभग बीस बर्षको उमेरमा राजा भएका पृथ्वीनारायणले छब्बीस बर्ष (बि.सं. १७९९ देखि १८२५ सम्म) भित्रमा उपत्यकाका तीन मल्लराज्य भादगाउँ, पाटन र कान्तिपुर माथी समेत विजय प्राप्त गरेका थिए ।
इतिहास बिषय रोचकता नै रोचकताले भरिएको हुन्छ । पढ्न मजा लाग्छ । नेपालको इतिहास पनि रोचक छ । विजय पराजय काट्मार षडयन्त्र कपटले भरिएको छ । मष्तिष्क मन्थन हुन्छ । इतिहासकारले लेखेका इतिहासमा विश्लेषण पनि गर्न पाईन्छ । मजा लाग्छ । त्यस्तै आधुनिक नेपालको इतिहासको किताब पल्टाउँदा बित्तिकै दाहीने हातको एक औंला उठाएर ठम्म उभिएका, देब्रे हातले तरबारको बींड समातेका,कम्मरमा पटुकी, पटुकी भित्र सीरूपाते खुकुरी, चट्ट मिलेका जूँगा, शीरमा हिरा जवाहरत जडित कल्की फहराएको नौरंगी श्रीपेच पहिरेका पृथ्वीनारायण शाहको फोटो देखिन्थ्यो । कहिल्यै पनि सूर्य नअस्ताउने अँग्रेज साम्राज्यलाई लखेटेर स्वतन्त्र र स्वाभिमान नेपाल जोगाएर राख्ने यिनै रहेछन् । यिनको रोचक कथा सुनाउँथे शुरूमै सरहरूले । पृथ्वीनारायणको बाल्यकालमा खेल्दाखेल्दै गोरखनाथ मन्दिर पुगेछन् । त्याहाँ भएका बृद्ध व्यक्तिलाई तीर्खा मेट्न पानी मागे । तर बृद्ध गोरखनाथ बाबाले दही खान दिए । दिएको दही खान जानेनन् । दही पोखिएर खुट्टामा खस्यो । बाबाले दिएको त्यो अमृत आशिर्वाद मुखमा पुर्याउन सकेनन् । यसो भएपछि बाबाले भने बालक तिमीले मैले दिएको दही खाईदिएको भए बोलेको राज्य तिम्रो प्रभावमा परेर अधिपति हुन्थ्यौ, तर खुट्टामा खसेकाले अब तिमिले टेकेको भूभाग तिमिले विजय पाउने छौ, ल जाऊ भन्दै गोरखनाथ बाबा अन्तरध्यान भएको कथा सुन्दा आँखा नझिम्काई ट्वाल्ल परेर सुनेको थिएँ । धेरैपछि र अहिले पनि पृथ्वीनारायणले कस्तो गल्ती गरे होलान भन्ने लाग्छ । सुरूप्प त्यो दही खाएर हिन्दुस्तान नेपालकै हो भनेका भए आज त्यताबाट नेपाललाई यति दुःख हुदैन्थ्यो नि ! त्यो नेपालका हामी कति समृद्ध हुँदा हौं ।
उनका बारेमा सुनेका अर्को रोचक लाग्ने पक्ष उनका दिव्योपदेशहरू हुन् । नेपाल चारजात छत्तीस बर्णको साझा फूलबारी हो भन्ने उपदेश सुन्दा बुझ्दै बुझ्दैनथें । पछि ठूलो भएपछि बुझ्दा थाहा भयो । एक शय एक जाती एकशय बढी भाषाभाषी भएको देशमा सबै मिलेर बस्नु र पराईले हेप्न नसकोस भन्ने भाव यो उपदेशमा देखिन्छ । तर आज पराईको ईशारामा नेपाली(नेपाली बीच फूट गराईएको छ । जाती भाषा क्षेत्र लिङ्गको आधारमा उक्साएर पृथ्वीनारायण शाहको परिकल्पनाले श्रृजित विशाल अखण्ड नेपाललाई खण्डित गर्ने षडयन्त्रका तानाबाना बुनेको बुनेई छन् ।
मैले पढ्दै गर्दा उनका उपदेशहरू परीक्षामा सम्झनै पर्ने भएर संझन्थें । उपदेशको मर्म के हो भन्ने भेऊ पाउनु जरूरी लाग्दैन्थ्यो । स्कुलको पृथ्वीनारायण शाहका ति तस्वीर सहीत पढ्दा मुखमा झुण्डिएको दिव्य उपदेश एकचोटी भन्दा दुईचोटी सुन्न परेन । नेपाल दुई ढुङ्गा बीचको तरूल हो । यो पृथ्वीनारायण शाहको नामको पर्यायवाची महानबाणी हो । स्कुले किताबमा यो बाणी हुन्थ्यो । पछि भूगोल र नक्शा सहीत बुझ्दा यसको अर्थ बुझेथें । यही उपदेशलाई नबुझ्दा विगतका केही दशक देखि नेपालीले दुःख झेल्नु परेको प्रष्ट छ । ढुङ्गाको आँशु झर्दैन भन्ने थाहा छ तर अहिले उसको दयाखान खोज्नेहरूले पृथ्वीनारायण शाहका यि उपदेशलाई भुलेर दक्षिणको चतुरेसंग लम्पसार पर्दैछौं । आजै मैले यो लेख्दैगर्दा प्रदेश सीमाङ्कनको बिषयमा सँसदमा अघोषित युद्धको कल्पना गरेको छु । पृथ्वीनारायण शाहको एकीकरणको इतिहास भत्काउन आज दुष्टहरू लाग्नेछन् देशभक्तहरूले यसोहुन दिने छैनन् । यही युद्धमा कल्पना गर्दैछु,अहिले पनि पृथ्वीनारायणले एक बटुको दही मुखमा हाल्न आउँथे कि लाग्छ । यो देश खलबलाउनेको देशै कब्जा गर्ने मुखबोली पृथ्वीनारायण शाहले गर्थे कि जस्तो लाग्छ । हे,पृथ्वी ! तिमी एकचोटी आऊ । नेपालीहरूले दिएको एक बटुको दही खाऊ ! त्यो दुःख दिने बैरीकै देश मेरो देशमा मिलाऊ ! तिम्रो दुःखले आर्जेको नेपाल टुक्रिन नदेऊ ! यिनै स्मरण र भावना राख्दै २९५औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको यस सन्दर्भमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति भावपूर्ण श्रद्धाञ्जली !