नियमविपरित नक्सा पास गरेको भन्दै उजुरी

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २४ पौष – बागलुङ नगरपालिकाभित्र नियमबिपरित नक्सा पास गरेको भन्दै बागलुङ नगरपालिकाका पुर्ब उप–प्रमुख पद्मचन्द्र राजभण्डारीले प्रमुख जिल्ला अधिकारी समक्ष निबेदन दिएका छन् । २०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्पको कारण नक्सापास स्थगित भएकोमा २०७२ श्रावण २९ को नेपाल सरकारले बस्ती विकाश शहरी योजना तथा भबन निर्माण सम्बन्धि आधारभुत मार्गदर्शन २०७२ लाई १ महिनाभित्र विशेष परिषदबाट स्वीकृत गराई अबिलम्ब कार्यान्वयन गरि प्रचलित कानुन अनुसार नक्सा पास गर्न आदेश दिएपनि सो बमोजिम काम नभएको भनी राजभण्डारीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । बागलुङ नगरपालिका कार्यालयमा २०७३ बैशाख २८ गते बसेको बोर्ड बैठकबाट नगरपालिकामा कार्यरत रहेका प्राबिधिक कर्मचारीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सँलग्न देखिएका उदय ईन्जिनियरिङ कन्सल्टेन्सी, भद्रकाली ईन्जिनियरिङ, कन्सल्टेन्सी नेप्चुन ईन्जिनियरिङ कन्सल्टेन्सी र धौलागिरि ईन्जिनियरिङ कन्सल्टेन्सिबाट नक्सापास प्रयोजनका लागि डिजाइन भएका नगरपालिका कार्यालयमा दर्ता नगर्ने भनी निर्णय भएपनि सो निर्णय बिपरित काम भएको भनी पुर्ब नगर उप–प्रमुख राजभण्डारीले प्रजिअलाई लेखेको निबेदनमा ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय गौरबको मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ मालढुङादेखि रामरेखाको डिलहुँदै उपल्लाचौरसम्म सडक मापदण्ड दायाँ बायाँ २५ र२५ मिटर भनिए पनि नगरपालिकाले उक्त खण्डमा समेत १५ र १५ मिटर मात्रै मापदण्ड छोड्न लगाई घर निर्माणको अनुमति दिने गलत काम गरेको समेत राजभण्डारीले जानकारी गराएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय काठमाडौ र नगर अन्तर्गत दलिय संयन्त्रलाई बोधार्थ दिएर लेखिएको निबेदनमा जनताले रगत पसिना गरि कमाएको घडेरीमा सरकारले तोकेको नियम कानुन बिपरित नगरपालिकाले काम गर्दा जनताले दुख पाईरहेको हुदा सरकारले भने अनुसार काम अगाडि बढाउने बाताबरण बनाई दिन प्रजिअ समक्ष पुर्ब नगर उप–प्रमुख राजभण्डारीले अनुरोध गरेका छन् । २०७३ असार १६ गते बागलुङ नगरपालिका क्षेत्रभित्र बस्ती बिकाश शहरी विकाश योजना तथा भबन निर्माण सम्बन्धि आधारभुत मापदण्ड २०७२ अनुसार अघि बढ्ने लिखित सहमति भए पनि सो निर्णय समेत अलपत्र परेको नगरबासीको गुनासो छ । अहिले पनि बागलुङ नगर भित्र मनपरि तरिकाले नक्सापास आफु खुशी घर बनाउने क्रम अघिबढेको छ । अहिले अनुगमन गर्ने निकाय चुपचाप देखिन्छ । भुकम्पपछि जनताले घर निर्माण गर्दा माटो प्ररिक्षणको नाममा समेत नराम्रो सँग ठगिने गरेको गुनासो समेत बाहिर आएको छ । बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत युबराज अधिकारीले नगरपालिकाको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको आफुलाई जानकारी नभएको बताए ।