थुकी सुकी संसद…

कृष्ण प्रसाद शर्मा
बहुदलयी व्यवस्था माने पछि संसदीय व्यवस्था छाने पछि संसद भनेको सर्वच्चता र मर्यादालाई मान्न जरुरी छ । जहाँ सांसदले बोलेका कुराहरू दस्ताबेज सरह मानिन्छ । त्यहाँ कुरा उठ्नु र उठाउनु भनेको सडकमा बोलेका चर्का माईकिङ जस्तो पक्कै होईन । हाम्रो संसद देखी संविधान सभाहलमा रहेका प्रत्येक सामानहरू बैदेशिक दानबाट जोडजाम गरिएका हुन । कसैले कुर्सि त कसैले माईक सम्म दान दिएर तर हामी यसरी भाषण गर्छौ कि मानौ त्यो औकात हामी आँफैले बनाएका हौं । यहाँ प्रश्न संसदका सामानको होईन कुरा संसदमा बोलिने कुरा र आचारण हो । हाम्रो जस्तो विकासोन्मुख देशहरूमा संसदमा लडाई झगडा भएका खबर सुन्न पाईन्छ भने हात हालाहाल समेत हुन्छ । संसदमा गोल्छे सार्कि देखी बिसेन्द्र पासबानका व्यवहार सबैलाई थाहा नै छ तर पनि हामी संसद भित्र देख्न व्यवहार एउटा सामान्य जनताको भन्दापनि तल्लो स्तरको लाग्छ ।
संसद भवन भित्र के बोल्ने के नबोल्ने आचार संहिता पनि हुन्छ तर बेलामौकामा यस्तो भाषाको प्रयोग हुन्छन् जसलाई सभामुखले रेकडबाट फाल्नु पर्ने हुन्छ । हामी जनता नागरीक हुन सकेका छैन यो सर्वविभिद हो तर सांसद भनेको अलि उचाईमा रहेर काम गर्न सक्ने मानिन्छ तर हामी कहाँ त्यस्तो हुँदैन । गत बर्ष अफ्रिल ११ मा बेलायतको संसदमा लेबर पार्टिका सांसद डेभिड स्किनरले तात्कालिक प्र.म डेभिड क्यामरुनलाई ‘डजी डेभ’ भन्ने शब्द प्रयोग गरेपछि सभामुख ब्रकाउले त्यो शब्द फिर्ता लिन पटक–पटक अनुरोध गर्दा नमाने पछि उनलाई संसद भवनबाट निकालिएको थियो तर बेलामौकामा संसदिय टोली बेलायती संसदको आमन्त्रणमा आउने हाम्रो नेपालका संसदिय टोलीले के सिक्छन् भगवान जानुन । पछिल्लो पटक ओनसरी धर्ती मगर पनि आउनु भएको थियो तर व्यवहारमा यो देखिएन । जब संसदमा कुनै बिषय तताईन्छ त्यहाँ मर्यादाको याद समेत गरिंदैन । राज्यले पुष एक गते देखी सवारी साधानबाट फोहोर फाल्नेलाई रू १ हजार जरीवाना तिराउने नियम राख्यो जुन स्वागतयोग्य छ तर त्यही संसदमा बहस भएर आएको बिचार जनताले मान्नु पर्ने तर सांसदले मान्नु नपर्ने किन ?
सर्वसाधारणले सार्वजिक स्थलमा थुके रू १०० तर सांसदले थुके फासफुस यहि हो संसदको गरिमा र महत्व ? यसको मतलब जनताले थुक्न पाउनु पर्छ भन्ने होईन तर संसदले गरेको गल्ती हामीले उठाउन समेत सक्दैनौ । संसद बैठक चलिरहेको बेला कोही सांसदहरू सुतिरहेका हुन्छन्, कोही फोनमा व्यस्त हुन्छन् कोही कानेखुशी गरेका हुन्छन् भने कसैले सुर्ती खाएर थुकिरहेका हुन्छन् । शहरी बिकास मन्त्रीले संसद चलिरहेको संसदमा थुके त्यसको तस्वीर सार्वजनिक भयो तर त्यस बारेमा संसदिय आचार संहिता लागु हुने देखिएन । जनता सगँ सिधा कुरा कार्यक्रममा पत्रकार रवी लामिछानेले त्यस बारे सोध्दा मन्त्रीले आँफुले सुर्ती होईन दालचिनी खाएको बताए । यहाँ संसदमा दालचिनी खाए पनि भेली खाए पनि त्यो बस्तुको बारेमा कुरा आफ्नो ठाउँमा छ थुक्ने काम किन भयो त्यसलाई जोड दिन खोजिएको हो । एक संसदमा सुर्ती सेवन गरेको भए पनि बेठीक अर्को थुक्नु ।
यस बारे संसद सचिवालयलाई सोध्दा यति हलुका जवाफ दिन्छन् कि यो त सामान्य कुरा हो जस्तो गरेर ! हामी बिपक्षले रत्नपार्कमा बदाम खाएर फालेको कागज देख्छौ तर आफ्नाले संसदमा आफ्नाले थुकेको देख्दैनौ । संसदमा गोल्छे सार्किले हात उठाउँदा हामीले यो घटना कसले कसलाई अर्थात कुन पार्टिकाले कुन पार्टिलाई गर्यो त्यो हेर्यौ तर कहाँ गर्यो हेरेनौ । हामीले संसदमा कुर्सि फोडाफोड गरेको देख्यौ तर कुन पार्टिको सांसद हो भनेर पार्टि नङगाउन खोज्यौ तर फोडिफोड गर्ने ठाउँको कुनै चर्चा भएन र कर्ताको आचरण नङगाउन भन्दा पार्टि जोड्यौ । यसैमा हाम्रो संसदको कच्चापन । त्यो संसदमा कृष्ण प्रसाद भट्टराई बोले मनमोहन अधिकारी बोले अरू एक दुई सम्झन लायक पनि बोले । कतिले सम्झन लाएक बोलेको बिर्सन सकिँदैन कतिले भुल्न नसकिने गरी बोलेकोले भुल्न सकिँदैन । संसदको सर्वच्चतालाई भाषा र भाव दुवैले स्वीकार्न जरुरी छ ।
यहाँ आज अर्जुन नरसिहं के.सीको प्रसंङग उठाए पनि समग्रमा जो कोही पनि यो संसदको गरीमालाई होचाउँदछन् उनिहरूले यो बुझ्न जरूरी छ कि हामी प्रणालीलाई उबलम्बन गरे पछि त्यसको आत्मलाई चोट दिनु हुँदैन । सांसदले बोल्ने र गर्ने कुराहरू सर्वसाधारणको भन्दा भिन्न हुनु पर्ने त नभनौ तर जसका कुरा सुनेर देखेर भोट दिए, ज्यान दिए तिनिहरूको आचरण अलि फरक हुन जरूरी नै छ । हामी रोल मोडेलका कुरा गर्छौ तर हामी रोग मोडेलको पारामा अगीबढी रहेका छौ । संसद बोल्ने, बहस गर्ने, तर्क गर्ने र जनतालाई चित्त बुझ्दो ऐन कानुन निकाल्ने ठाउँ हो । यो कोईला खानी जस्तै हो । कहिले कहिं यहाँ हिरा पनि पाउँछ तर हातमुख काला बनाए पनि मन कालो गराउन हुन्न । संसदिय प्रणालीलाई मसालले बाख्राको मासु झुण्डाएर गाईको मासु बेच्ने ठाउँको रुपमा चित्रण गर्दथे तर आजकाल त्यही संसदमा टेकेर मन्त्री समेत भए पने यसै मार्फत आफ्ना ओजपुर्ण बिचार राख्दै आईरहेका छन् । संसदीय व्यवस्था नमान्न पाईन्छ तर यसमा छिरेपछि यसका नीति नियमलाई मानेरै अगाडी बढ्नै पर्छ ।
संसदीय व्यवस्थामा संसदको मर्यादा भनेको सिहंदरबारमा रङ छ्यापदा उलङगन हुने र भित्र बान्ता गर्दा नहुने नहोस् । संसदका सरसमान अरूले जोड्दिए पनि भोट भने हाम्रो परेको छ त्यसैले कुर्सी फोर्दा रकम बढेर आउला तर मर्यादा तोडियो भने व्यवस्था नै गुम्न सक्छ । त्यसैले संसदको फ्लोर पानपसलेको भित्तो नबनाऊ !