जिल्ला कारागारका दुई बन्दीको सजाय मिनाहा

बागलुङ, १६ जेठ– गणतन्त्र दिवसको अवसर पारेर बागलुङ जिल्ला कारागारका २ जना कैंदी बन्दीको बाँकी सजाय मिनाहा भएको छ । चोरी मुद्दामा जेल सजाय भोगिरहेका देवी जिसी र धनबहादुर भुसालको भुक्तान गर्न बाँकी सजाय नेपाल सरकारले मिनाहा गरिदिएको हो । मन्त्रि परिषदको निर्णय अनुसार जिल्ला कारागारका दुई जनालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले उनीहरुको बाँकी सजाय मिनाहा गरिदिएको जिल्ला कारागार बागलुङका जेलर दिपक शर्माले जानकारी दिए ।
२०७१ साल मंसिरको २३ गते साधारण चोरी मुद्दामा ४ बर्ष एक महिनाको लागि जेल सजाय पाएकी जिल्लाको रायडाँडा–३ हालको बानपा–११ की देवी सिजीले ८५ प्रतिशत सजाय भुक्तानी गरिसकेकी छन् । त्यस्तै २०७१ साल जेठ ११ गते ४ रहजनी चोरी मुद्दामा ४ बर्ष ७ महिना २४ दिनका लागि जेल सजाय सुनाईएका धनबहादुर भुसालले ८६ प्रतिशत सजाय भुक्तानी गरेर बाँकी समय मिनाहा भएको शर्माले बताए । उनीहरुलाई मंगलबार बिहान परिवारको जिम्मा लगाईएको छ । राष्ट्रिय पर्व तथा गणतन्त्र दिवसको अवसर पारेर जेल भित्र राम्रो व्यवहार देखाउने कैंदी बन्दीलाई जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको सिफारिसमा मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले बाँकी सजाय मिनाहा गर्ने प्रचलन छ ।