१० बालबालिकालाई आर्थिक सहयोग

बागलुङ, १६ जेठ– अभिभावक गुमाएका र नियमित पढाई लेखाईमा आर्थिक समस्या भोगेका बालबालिकालाई सहयोग गरिएको छ । त्यस्ता समस्या भोगेका बागलुङका १० जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिले प्रतिव्यक्ति ५ हजार रुपैयाँको दरले ५० हजार रुपैयाँ नगद सहयोग गरेको हो । जोखिममा परेकोले पढाई लेखाई अगाडि बढाउन नसकेका, छिमेकी वा बाबुआमा बाहेकका आफन्तसँग बस्दै आएकाहरुलाई छनौट गरेर उक्त सहयोग गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय अन्र्तगत संचालनमा रहेका महिला विकास सहकारीहरुले सिफारिस गरेका ती बालबालिकाहरुलाई छनौट गरिएको हो । बाबु वा आमा नभएका, आर्थिक रुपमा बिपन्न र बाल गृहमा जाने बाध्यतामा पुगिसकेकाहरुलाई समाजमै राख्न यो सहयोग गरिएको महिला विकास अधिकृत डिलकुमारी शर्माले बताईन् । केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार श्रोतव्यक्ति बद्री वाग्ले, बालअधिकारकर्मी लक्ष्मी जिसी कार्की र समितिका सदस्य काजी रोशनको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । यो सहयोगबाट बालबालिकाहरु पढ्न लेख्न सक्ने अवस्थामा पुग्ने बताइएको छ ।
सहयोग पाउनेमा अधिकांस गलकोट क्षेत्रका छन्भने सिगाना र बागलुङ बजारका पनि छन् । अभिभावकविहिन भएपनि बालबालिकाहरु समुदायमै बसेर हुर्कने, पढ्ने अवसर पाउन भन्नका लागि यो सहयोग गरिएको वाग्लेले बताए । सहयोग पाएपछि बालबालिका तथा उनिहरुका अफन्तले खुसी व्यक्त गरे ।