संगठन सुधारमा तरुण दल बागलुङ

बागलुङ, १७ जेठ– तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ । युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए । उनका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिनेछ । “स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेका छौ”, उनले भने, “वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्छन् ।” यसअघि गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा थिए । संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ ।
जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ । युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ । नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनलाई जागृत गराउन पार्टी लागिपरेको बताए । उनले तरुण तलको संगठन विस्तार र सशक्तीकरण अभियानले पार्टी थप बलियो हुने धारणा राखे ।