बेनी जोमसोम सडकमा मापदण्ड हटाउने तयारी

सडकमा मापदण्ड हटाउने तयारी

म्याग्दी, १७ जेठ– जिल्लाको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी जोमसोम सडकमा कायम रहेको २६ जना क्षमत्ता भन्दा बढी क्षमत्ताको सवारी साधन सञ्चालनमा रोक लगाउने मापदण्ड हटाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले २६ सिट क्षमत्ताभन्दा बढी क्षमत्ताको सवारी सञ्चालनको सम्भाव्यत्ता अध्ययनका लागि सहायक प्रजिअ शोभाखर पोखरेलको संयोजकत्वमा एक टोली गठन गरेको छ । तिनदिनको समय अवधि पाएको टोलीको सदस्यमा डिभिजन सडक कार्यालय बागलुङका ईञ्जिनियर सरोज ढकाल, जिल्ला प्राबिधिक कार्यालयका सब ईञ्जिनियर चन्द्रबहादुर पुन, ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठक र यातायात कम्पनीका एक जना प्रतिनिधि रहेका छन् । २०७१ बैशाख ८ गते तत्कालिन यातायात ब्यवस्थापन समिति धौलागिरीको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउदै २६ सिट भन्दा बढी क्षमत्ताका यात्रुबाहक सवारी साधनलाई बेनी जोमसोम सडकमा सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि आएका पर्यटक तथा तिर्थयात्रीहरु गाडी बेनीमा छोडेर स्थानीय यातायात ब्यवसायीको गाडी चढेर जान बाध्य थिए ।