अपराधको नयाँ रुप

प्रायजसो सार्वजनिक अपराध र फौजदारी अपराधामा संलग्नहरुलाई पक्राउ गरेको सूचना प्रकाशन गर्ने जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय साईवर अपराधका घटना सार्वजनिक गर्न थालेको छ । गत जेठ २ गते जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्लाको काठेखोला गाउँपालिका १ की बिष्णु नेपालीलाई गुल्मी जिल्लाको मालिका गाउँ पालिकाका पोम बहादुर खत्रीले इमो मार्फत ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । इमो मार्फत चिट्टा परेको प्रलोभन देखाएर बैंक खाता समेत उपलव्ध गराई चिट्टामा परेको रकम निकाल्नका लागि आवश्यक पर्ने खर्च जम्मा गरीदिन भन्दै ठगि गरेको आरोपमा उनि पक्राउ परे । जिल्ला प्रहरी कार्यालयलेनै जारी गरेको अर्को सूचना अनुसार जेठ महिनाकै १४ गते अर्का एक युवा पक्राउ परे उनि बिरुद्ध पनि साईवर अपराधको अभियोग लागेको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका ६ का बिशाल घर्तिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल गालि गलौज गरेको भन्दै कक्षा १२ मा अध्ययनरत एक जना युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले घर्तीलाई पक्राउ गरी थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान व्युरोको जिम्ममा लगाएको छ ।
पछिल्लो समय जिल्लामा घटेका दुई घटनाहरुले के कुरा प्रष्ट पारेको छ भने आधुनिक प्रबिधि तथा सुबिधाको उपभोग गर्दा सदुपयोगको सट्टा दुरुपयोग भैरहेको छ । सामाजिक सञ्जाल तथा ईमेल इन्टरनेटको माध्यामबाट सामाजिक बिकृती निम्त्याउने र ठगि तथा अन्य अपराधका कृयाकलापमा संलग्न हुनेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । एकातर्फ उमेरको हद नराखीकन सामाजिक सञ्जालको प्रयोगमा गरिएको फुकुवा र अर्को तर्फ सामाजिक सञ्जालका प्रयोगकर्ताले सदुपयोगको सट्टा दुरुपयोगमा सामाजिक सञ्जालको प्रयोग गर्दा यस्ता खालका घटना निम्तीएका हुन् । सामाजिक सञ्जालको प्रयोग मार्फत चाहे अपराधका घटना हुन वा लागि गलौजका कुरा यि सबैलाई नेपालको कानुन अनुसार साईवर अपराधको रुपमा मानिएको छ । ईमेल, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग मार्फत हुने यस्ता खालका घटनाहरुको अनुसन्धान गर्न जिल्ला तहमा प्राप्त प्रबिधि नभएका कारण प्रहरीले यस्ता घटनाको अनुसन्धानको लागि केन्द्रिय अनुसन्धानको व्युरोको जिम्मा लगाउने गरेको छ ।
कानुनमा व्यवस्था भए बमोजिम जुनसुकै माध्यामबाट भएका अपराधका घटनामा दोषीलाई कारवाही र पिडितलाई न्याय दिलाउने एउटा पक्ष हो । तर अर्को पक्ष आधुनीक युगको अत्यावस्यक सूचना तथा सञ्चारको माध्यामको रुपमा रहेको सामाजिक सञ्जाल प्रयोग गर्नेहरुमा चेतानाको बिकास हुनु हो । कम उमेरमा चोच्ने शक्तिको कमी, किसोरावश्थाको उन्माद र अहमताका कारण सामाजिक सञ्जालको दुरुपयोग गर्दै घटिरहेका यस्ता घटनाहरुलाई कम गर्न समुदाय स्तरमा साईवर अपराध र यो अपराधमा संलग्नहरुलाई हुने कारवाहीको बिषयमा सचेतना फैलाउनु आवश्यक छ । बिद्यालय, समुदाय, संघ संगठन, तथा धेरै मानिसहरुको उपस्थिती रहने तहमा साईवर अपराधको बिषयमा चेतना मुलक कार्यक्रम तथा सदुपयोग गर्दाका फाईदा र दुरुपायोग गर्दाका बेफाईदाका बिषयमा जानकारी गराउन आवश्यक छ । साईवर अपराधको नियन्त्रणमा सबैको हातेमालो आवश्यक छ ।