बजेट नबढेकोमा स्थानिय तहको गुनासो

प्रदेशको बजेटले समेट्ने आशा

बागलुङ, १७ जेठ– आगामी आर्थिक बर्षका लागि अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा प्रदेश नम्बर ४ ले सबै भन्दा कम बजेट पाएको छ । सबै भन्दा बढि प्रदेश नम्बर १ ले १९ अर्व ८८ करोड पाएको छ भने सबै भन्दा कम प्रदेश नम्बर ४ ले १३ अर्व २७ करोड पाएको हो । त्यो मध्ये बागलुङका लागि दुइ अर्व ५६ करोड ६१ लाख रुपैयाँ बिनियोजन भएको छ । यो बजेटबाट बागलुङका सबै स्थानीय तहले २ लाख ६८ हजार जनताको चाहना र आवस्यकता पुरा गर्नुपर्नेछ ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरलाई सरकराले राष्ट्रिय गौरवको आयोजनामा राखेकोले यहाँ उक्त बजेट लगानी गर्नुपर्दैन । अन्य सबै पूर्वाधार बिकास देखि कर्मचारी र अन्य साधारण खर्चमा पनि यो बजेट खर्च गर्नुपर्नेछ । बजेट अनुसार बागलुङ नगरपालिकालाई ४९ करोड ४२ लाख, गलकोटलाई ३२ करोड ६१ लाख, जैमिनीलाई ३७ करोड २९ लाख र ढोरपाटन नगरपालिकालाई २० करोड ४९ लाख बजेट बिनियोजन भएको हो । त्यस्तै बडीगाढ गाउपालिकालाई २८ करोड २५ लाख, काठेखोलालाई २८ करोड ६ लाख, निसीखोलालाई १८ करोड २ लाख, बरेङलाई १६ करोड ३३ लाख, ताराखोलालाई १४ करोड २९ लाख र तमानखोला गाउपालिकालाई ११ करोड ८५ लाख रुपैयाँ बजेट बिनियोजन भएको हो । यो बजेटको आकारमा राम्रो नराम्रो भएपनि समग्रतामा देशको आर्थिक समृद्धिका लागि दिर्घकालिन योजना बनाउने सन्दर्भमा भने यो बजेट उत्कृष्ठ रहेको कतिपयले बताएका छन् । ‘दिर्घकालिन समृद्धिका लागि यो बजेट राम्रो छ’ अर्थशाष्त्री डा. सुदर्शन सिलवालले भने, ‘युवालाई स्वदेशमै काम गर्न प्रोत्साहन गर्ने गरी बजेट आएको छ ।’ शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने,महिलालाई सामुहिक जवानीमा ऋण दिने तथा शिक्षा र स्वास्थ्यमा लिइएको कर छुटले सरकारले दिर्घकालिन बिकासको सोच बनाएको देखिएको उनले प्रतिक्रिया दिए ।
बागलुङ क्षेत्र नं १ का सांसद डा. सुर्य पाठकले बजेटले आर्थिक सुसासन कायम गर्न खोजेको प्रतिकृया दिए । ‘निर्वाचनको समयमा गरेका कतिपय प्रतिबद्धताहरुलाई बजेटले छुटाएको भएपनि आगामि बर्षको बजेटमा व्यवस्थापन गर्न सरकार बाध्य हुने छ’ डा.पाठकले भने ‘हामिले राखेका कतिपय सडकका योजना छुटेका छन्, स्थानिय तहले गर्न नसक्ने कामका लगि भनेर जगेडा राखिएको २० अर्ब बजेट बाट व्यवस्थापन गर्न लगाउँछौं ।’ पाठकले केन्द्र सरकारे यस बर्ष स्थानिय तह र प्रदेश सरकारलाई पनि बजेट पठाउनु पर्ने भएकाले स्थानिय तहको बजेट घटेको बताए । केन्द्र सरकारले दिने बजेट घटेको भएपनि स्थानिय तहले पाउने बजेटलाई प्रदेश सरकारले परिपुर्ती गर्दा बजेटको मात्रा बढेर जाने उनको भनाई थियो । कतिपयले भने यो बजेटलाई नकारात्मक टिप्पणी पनि गरेका छन् । आश्वासन दिएर पनि कर्मचारीको तलब नबढाएको, भाषणमा ५ हजार रुपैयाँ पु¥याउने आश्वासन बाँडेर सामाजिक सुरक्षा भत्ता नबढाएको कुरामा धेरैले नकारात्मक टिप्पणी गरेका छन् । कतिपय राजनीतिक दलका नेताले समेत सामाजिक संजालमै टिप्पणी गरेका हुन् । पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माले सामाजिक संजालमै मनमोहन अधिकारीको पालाको बजेट लोकप्रिय, यस अघिको एमाले सरकारको बजेट सन्तोषजनक र अहिलेको निरासाजनक भनेर टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीको दलकै कार्यकर्ताहरुले धेरै टिकाटिप्पणी गरेर सामाजिक संजाल भर्ने अवस्था देखिएको छ । उनीहरुले गत निर्वाचनमा गरिएको प्रचारबाजीलाई बढी प्रहार गरेका छन् । बागलुङका धेरै पूर्वाधारलाई सम्बोधन नभएको टिप्पणी छ । स्थानिय तहलाई गत बर्षको तुलनामा बजेट घटाएर पठाएको भन्दै कतिपय स्थानिय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् । ‘गत बर्ष भन्दा यस पटक सञ्चालन खर्च बढेर जाँदै छ ’ जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज शर्माले भने ‘कर्मचारी थपिएका छन् कार्यालय व्यवस्थापन लगायतका काम गर्नु पर्ने छ तर बजेट बढेर आएन् ।’ केन्द्र सरकारले बजेट बढाएर नपठाएको भए पनि प्रदेश सरकारसँग आस रहेको पौडेलले बताए । ‘यो बर्षको बजेट बढेर आउँछ र केही काम गर्न सकिन्छ भन्ने लागेको थियो ’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ‘घटेर आएको बजेटले कसरी जनताका चाहना अनुसारको काम गर्नु ।’ गत बर्ष झण्डै २० करोडको हाराहारीमा बजेट पाएको बरेङले यस बर्ष १६ करोड ३३ लाख रुपैयाँ मात्रै पाएको छ ।
‘सबै योजनाको लागि केन्द्र सरकारको बजेटले व्यवस्था मिलाउनु पर्ने भन्ने होईन’ शर्माले भने ‘स्थानिय तहले गर्न नसक्ने केही खानेपानी र बाटाका योजना केन्द्रबाटनै सम्बोधन हुनुपर्ने थियो ।’ केन्द्र सरकारले बजेटमा निरास बनाएको भए पनि प्रदेश सरकारबाट आसा राखेको शर्माले बताए । मंगलवार सार्वजनिक बजेटको बिषयमा सत्तामा रहेको र प्रतिपक्षमा रहेको दुवै दलका तल्लो तहका कार्यकर्ता सम्मले मिस्रित प्रतिकृया दिएका छन् ।