अलोकप्रिय राष्ट्रपतिको तस्बिर ट्वाइलेट पेपरका रूपमा प्रयोग !

एजेन्सी /बागलुङ १७ जेठ –केही दिनदेखि तुर्कमेनिस्तान प्रहरीले देशभरी रहेको सार्वजनिक र निजी ट्वाइलेटको अनुगमन गरिरहेको छ । प्रहरीले आफ्नो देशको राष्ट्रपति गुरबन्गुली बेर्दीमुखाम्मेदोभको फोटो अङ्कित पत्रिका ट्वाइटलेट पेपरका रूपमा प्रयोग भए नभएको प्रमाण खोजिरहेका छन् ।

सुन्दा व्यङ्ग्य समाचार जस्तो लाग्ने यो खबर उनै तुर्कमेनिस्तानी राष्ट्रपतिको हो, जसले आफूलाई सेतो कार मन पर्ने भन्दै देशका सम्पूर्ण कालो रङका कारहरू प्रतिबन्ध लगाएका थिए ।
राष्ट्रपतिको तस्बिर भएको पत्रिकाका टुक्राहरू ट्वाइलेटमा प्रयोग भइरहेको छ भन्ने समाचारहरू आउन थालेपछि प्रहरी र फोहोर सङ्कलहरूलाई यसको प्रमाण खोज्न निर्देशन दिइएको हो । यसका साथै प्रशासनले उक्त व्यवहार गर्नेहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ ।

यो घटनाको सुरुवात अघिल्लो वर्ष भएको थियो । त्यो बेला उत्तरी सहर दसोगुजमा दर्जनौं विद्यालयका बालबालिकालाई सार्वजनिक स्थानमा रहेका राष्ट्रपतिका तस्बिरहरू बिगारेको आरोपमा पक्राउ गरिएको थियो । देसोगुजको एक विद्यालयका बालबालिकाले स्कुलमा रहेको राष्ट्रपतिको ठूलो फोटोमा जुँगा बनाएका थिए भने अर्को विद्यालयमा राष्ट्रपतिको फोटो च्यातिएको थियो ।