बन्द मणिपाल अस्पताल खुलाउने वार्ता निश्कर्षविहिन

निश्कासित कर्मचारी पुर्नबहाली नगर्ने अस्पतालको अडान

पोखरा-१७ जेठ – मणिपाल शिक्षण अस्पताल प्रशासनले कारबाही गरेका चार जना कर्मचारी कुनै पनि हालतमा पुर्नबहाली नगर्ने अडान दोहोर्‍याएको छ । अस्पताल प्रशासनले बिहीबार अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गरेर निश्कासित कर्मचारी पुनर्बहाली नगर्ने पूर्ववत अडान दोहोर्‍याएको हो ।
भ्रष्टाचार गरेको सबुत प्रमाणसहित कारबाही गरेकाले सो निर्णयमा पुर्नबिचार नहुने अस्पतालका प्रशासकीय प्रमुख भानु भारद्वाजले बताए । ‘हामीले सबुत प्रमाणसहित धेरै सोंच विचार गरेर ४ जनालाई भ्रष्टाचार ठहर गर्दै कारबाही गरेका हौं, अब कुनै पनि हालतमा यो निर्णय फिर्ता गर्दैनौं’ उनले भने ।
जेठ ७ गतेदेखि बन्द रहेको अस्पताल खुलाउन भइरहेको पटकपटकको वार्ता निश्कर्षविहिन हुँदै आएको छ । बिहीबार भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेन । वार्तामा ट्रेड युनियनहरुले अन्तिम निर्णयमा नपुगेसम्म निश्कासित कर्मचारीलाई अस्पतालमा हाजिर गराउनुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउन माग गरेका छन् ।
तर यी दुबै मागमा अस्पताल प्रशासन कठोर देखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पताल प्रशासकीय प्रमुख भानु भारद्वाजले भने,’टे्रड युनियनको यी दुबै मागमा हामीले नो भन्यौं, किनकी यी दुबै माग कम्पनी, गरिब जनता र पोखरेलीको हितमा छैन ।’ ट्रेड युनियनहरुले भने निश्कासित कर्मचारीलाई अन्तिम निर्णय नभएसम्म अस्थायी रुपमा हाजिर गर्ने ब्यबस्था नभएसम्म अस्पताल नखोल्ने अडान व्यक्त गरेका छन् ।
दैनिक करीब एक हजार विरामी आउने मणिपाल अस्पताल बन्द हुँदा उनीहरु मारमा परेका छन् । जेठ ७ गतेदेखी अस्पतालको आकस्मिकबाहेक अन्य कुनै पनि सेवा सञ्चालनमा छैनन् ।