महिलाका लागि नेतृत्व बिकास तालिम

बागलुङ, १८ जेठ– पर्वतको आर्थरमा महिलाहरुका लागि ३ दिने नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. १४ आर्थरको आयोजना र सामुदायिक रेडियो कुशुमको समन्वयमा तालिम सम्पन्न भएको हो । महिलाहरुलाई आफ्ना कुरा निर्धक्कसँग राख्न सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए । सामाजिक संघ संस्था र बिभिन्न तहमा नेतृत्वमा रहेका महिलाहरु समेत आफ्ना जायज कुरा राख्न समेत डराउने तथा लजाउने गरेकाले उनीहरुको बोल्ने क्षमता विकासका लागि तालिम प्रभावकारी हुने उनको भनाई थियो । तालिमको समापन गर्दै गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । विभिन्न संघ संस्था तथा समुहमा आबद्ध ६० जना महिलाले तालिममा सहभागिता जनाएका थिए । तालिममा प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार तारानाथ आचार्य, कृष्ण अँखेली, अर्जुन थापा लगायतले सहजीकरण गरेका थिए । तालिमपछि बोल्दै सहभागीले खुसी ब्यक्त गरे ।