बागलुङ नगरपालिकाको एक वर्षे कार्यकालको समिक्षा

६७ योजना सम्झौता हुन बाँकी

बागलुङ, १८ जेठ– बागलुङ नगरपालिकाले आफ्नो एक बर्षे कार्याकालमा गरेका गतिविधि सार्वजनिक गरेको छ । बिहिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले एक बर्षको अवधिमा भएको प्रगति सार्वजनिक गरेको हो । विभिन्न २१ बुँदामा समेटिएको प्रगति विवरणमा बलेवा बिमानस्थल सञ्चालन प्रमुख प्रगतिको रुपमा उल्लेख गरिएको छ ।
त्यस्तै, बसपार्क निर्माणका लागि भएको ऋण सम्झौता, सिटीहल निर्माणका लागि उपलव्ध गराईएको जग्गा, माझी बस्ती पुर्नस्थापना लगायतका काममा भएको प्रगतिलाई प्राथमिकतामा राखिएको छ । २०७४ सालको बैशाखमा निर्वाचित भएर जनप्रतिनिधि आएपनि नगरक्षेत्रभित्रको काममा जनताले अपेक्षा गरेअनुसारको प्रगति हाँसिल गर्न नसकिएको नगरपालिकाले जनाएको छ । ‘यो एक बर्षमा तिनै तहका निर्वाचन भएका कारण कतिपय प्रक्रिया पु¥याउनु पर्ने कामहरु आचारसंहिताका कारण रोकीए’ नगरप्रमुख जनक पौडेलले भने ‘अपेक्षा अनुसार द्रुत गतिमा काम नभएको भए पनि धेरै राम्रा काम भएका छन् ।’ नगरपालिकाले बित्तिय समानिकरण अनुदान चालु खर्चतर्फ ५ करोड, २९ लाख, ७१ हजार ४ सय ४१ रुपैयाँ र पुँजीगततर्फ ७ करोड, १२ लाख ९१ हजार ५ सय ८५ खर्च भएको विवरण सार्वजनिक गरेको छ । बित्तिय समानिकरण अनुदानअन्र्तगत कुल २५ करोड ९ लाख २२ हजार रुपैयाँ रकम निकासा भएको छ । त्यस्तै सर्शत अनुदानतर्फ शिक्षा, स्वास्थय, पशु स्वास्थ्य, आयुर्वेद र कृषिको क्षेत्रमा २९ करोड ७० लाख १३ हजार रुपैयाँ निकासा भएकोमा सोही अनुपातमा खर्च भएको विवरण सार्वजनिक भएको छ ।
सामाजिक सुरक्षा, एलजिसिडिपी, गत बर्षको मौजदात लगायतका शिर्षकमा निकासा भएको रकम पनि सन्तोषजनक रुपमा खर्च भएको विवरणमा उल्लेख छ । यस आर्थिक बर्षको लागि कुल ७१ करोड, १५ लाख ३६ हजार ६ सय ६९ रुपैयाँ निकासा गरेको नगरपालिकाले ४१ करोड ९५ लाख ६९ हजार ० रुपैयाँ खर्च गरेको नगरप्रमुख पौडेलले बताए । गत आर्थिक बर्षको बजेट अधिबेशनले स्वीकृत गरेका कुल ४ सय ९१ योजनाहरु मध्ये ४ सय २४ योजनाहरु सम्झौता भैसकेको र ६७ योजनाहरु सम्झौता हुन बाँकी रहेको पौडेलले बताए । आर्थिक बर्ष सकिनै लाग्दासम्म पनि सम्झौता नभएका योजनाको विषयमा छलफल भैरहेको र विशेष गरेर सानो बजेटका योजना सम्झौता नभएको उनको भनाई थियो । सम्झौता भएका योजनाहरुमध्ये १ सय ३० योजना सम्पन्न भैसकेको र २ सय ९४ योजना आगामी असार महिना सम्ममा सम्पन्न गर्ने गरी काम अगाडि बढेको नगर उप–प्रमुख सुरेन्द्र खड्काले बताए । नगरपालिकाले यस बर्षको प्रगतिको रुपमा कार्य सञ्चालनका लागि बनाएका केही ऐनलाई पनि उल्लेख गरेको छ ।
सहकारी, कृषि व्यवसाय प्रर्वद्धन, आर्थिक कार्यबिधि, बजार अनुगमन, एफ.एम. रेडियो सञ्चालन निर्देशिका र शिक्षा नियामावली लगायतका कानुन निर्माण पनि यो बर्षको प्रगतिमा परेका हुन् । विकास निर्माणका काममा केही ठाउँमा भएका अबरोधबाहेक व्यापक जनसहभागिता र टेण्डरका माध्यामबाट नगरलाई फाईदा हुने गरी निर्माणका कामहरु भैरहेको नगरपालिकाले दाबी गरेको छ । यस्तै नगरपालिकाले योजनाहरुमा आर्थिक भार काम गर्नको लागि आफ्नै जनशक्तिलाई उपयोग गरेर योजना स्टमेट र लागत स्टमेट तयार गर्ने गरेको जनाएको छ । टेण्डरमार्फत निर्माण हुने योजनाहरुमा स्टमेटको लागि बढी खर्च लाग्ने र समय समेत लाग्ने गरेकाले नगरकै जनशक्ति प्रयोग गरेर काम गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । कम मुल्यमा टेण्डर लिएका ठेकेदार कम्पनीहरुले पनि नगरपालिकाको स्टमेट अनुसार नै काम गर्नुपर्ने भएकाले टेण्डरको मुल्य कम हुँदैमा योजना कमजोर नहुने उनको भनाई थियो ।