धार्मिक संस्थालाई सौर्य उर्जा प्रदान

बागलुङ, १८ जेठ– बागलुङ नगरपालिकाले नगरभित्रका विभिन्न धार्मिक तथा आध्यात्मिक संस्थाहरुलाई सौर्य प्रणाली बितरण गरेको छ । सौर्य उर्जा प्रबर्धन केन्द्र खुमलटारको आर्थिक सहयोगमा नगरभित्रका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थालाई सोलार बितरण गरिएको हो । सौर्य उर्जा प्रबर्धन केन्द्रको ८० प्रतिशत अनुदान र नगरपालिकाको २० प्रतिशत सहयोगमा धार्मिक संस्थालाई सौर्य प्रणाली सोलार बितरण गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । नगरपालिका भित्र रहेका मन्दिर, गुम्बा, चर्च, स्तुपा, मस्जिद लगायतका ७० धार्मिक तथा आध्यात्मिक संस्थाको लागि अनुदान माग गरी पठाईएको भएपनि सौर्य उर्जा प्रबर्धन केन्द्रबाट ५२ वटा संस्थाका लागि मात्रै स्वीकृत भएर आएको पौडेलको भनाई थियो । २० वाट क्षमताको सोलार प्यानल २० एमपिएरको व्याट्री, तिन वटा ५ वाटका बत्तिसहित प्यानल जडानका लागि आवश्यक सामाग्री उपलव्ध गराईने नगरपालिकाले जनाएको । प्रतिप्यानल ११ हजार ५ सय रुपैयाँ पर्ने प्यानल बितरणको जिम्मा क्वालिटी रिनुयवल इनर्जीले कम्पनीले पाएको छ । नगरपालिकाले बिहिबार बागलुङमा एक कार्यक्रमको आयोजना गरी बानपा–४ मा रहेको पञ्चकोट, बानपा–१२ मा रहेको भैरब र निरयमा रकेको केही मन्दिर लगायतलाई प्यानल हस्तान्तरण गरी सौर्य प्रणाली उपलव्ध गराउन लागेको जानकारी गराएको थियो । अन्य मन्दिरलाई पनि नगरपालिकासँग सम्पर्क गरी तत्काल प्यानल लिन र जडान गर्न आग्रह गरिएको नगरप्रमुख पौडेलले बताए । यस आर्थिक बर्षमा सौर्य प्रणालीबाट छुटेका संस्थाहरुलाई अर्को आर्थिक बर्षको योजनामा पर्ने गरी योजना अगाडि बढाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । नगर प्रमुख जनकराज पौडेलको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा र सञ्चालन भिमसेन पन्तले गरेका थिए । कार्यक्रममा समाजसेजवी देवबहादुर श्रेष्ठले बोलेका थिए ।