विद्यालय भवनको शिलान्यास गरियो

बागलुङ, १८ जेठ– पल्लोपाखा सामुदायिक मावि कुश्मीशेरामा निर्माण गर्न लागिएको चार कोठे भवनको बिहिबार एक समारोहका बीच शिलान्यास गरिएको छ । भवनको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले सामुदायिक विद्यालयले भौतिक संरचनासँगै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबारे बेला–बेलामा प्रश्न उठ्ने गरेको भन्दै पौडेलले विद्यार्थीको भावनालाई बुझेर पठनपाठन गराउन शिक्षकलाई निर्देशन समेत दिए । जैमिनीका सामुदायीक विद्यालयमध्ये पल्लोपाखा नमुना विद्यालय भएकाले अन्य विद्यालयले सिक्ने खालको शैक्षिक गुणस्तर कायम गर्न विद्यालय चुक्न नहुनेमा पौडेलको जोड थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद शर्मा ‘कृष्ण’ लगायतले बोलेका थिए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको ३६ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको चार कोठे पक्की भवन २०७६ सालको असार मसान्तभित्र निर्माण सक्ने योजना रहेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल ८ कोठे पक्की भवन रहेको र बाँकी चार कोठा निर्माणको काम थालनी भएको छ ।
भवन अभावमा एकछाने पुरानो भवनमा बसेर अध्ययन गरिरहेका बिद्यार्थीको लागि उक्त चार कोठे भवन निर्माणपछि सहज हुने प्रधानाध्यापक टेकनारायण आचार्यले बताए । विद्यालयमा भवन अभावकै कारण कार्यालय सञ्चालनमा समेत समस्या हुँदै आएको छ । ‘हामीसँग पर्याप्त भवन छैनन्’ प्रअ आचार्यले भने ‘नयाँ बन्न लागेको भवनले केही राहत त देला तर समस्या समाधान हुँदैन् ।’ हाल रहेका ८ कोठा र बन्न लागेका ४ कोठामा बिद्यार्थीको लागि व्यवस्थापन गर्न सकिएपनि कार्यालय सञ्चालन, प्रयोगात्मक हल लगायतका कामको लागि भवन अभाव रहेको आचार्यले बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक टेकनारायण आचार्यले गरेका थिए ।