बागलुङ नगरपालिकाका १० सडकको डिपीआर बन्दै

कम्तीमा ७ देखी बढीमा १० मिटरका सडक बन्ने

बागलुङ, १८ जेठ– बागलुङ नगरपािलकाले १० वटा सडकको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण थालेको छ । चालु आर्थिक बर्ष भित्रै काम सक्ने गरी डिपिआर बनाउन लागिएको हो । नगरपालिकाले ५४ लाख रुपैयाँ बिनियोजन गरेर धमाधम काम गरिरहेको छ । आगामी बर्षदेखि सडकहरुको स्तरोन्नतीका काम गरेर नगरबस समेत चलाउने योजना राखिएको ईन्जिनियर त्रिलोचन गिरीले बताए । डिपिआर बनेपछि एकद्वार प्रणालीबाट लगानी गरिने तथा तोकिएको समयमा काम सक्ने पद्दती बसाल्न सकिने भन्दै नगरपालिकाले काम थालेको हो । नगरपालिका भित्र २ सय ५० किमी कच्ची सडक छ ।
त्यस्तै २० किमी पक्की र ३० किमी ग्राभेल सडक छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरले ओगटेको क्षेत्रलाई नगरपालिकाले गणना गरेको छैन । नगरपालिकाको प्राविधिक शाखाका सबै र केही अन्य क्षेत्रका प्राविधिक समेतले निरन्तर रुपमा काम गरेर असार मसान्तसम्म प्रतिवेदन तयार गर्न लागेको गिरीले बताए । ‘डिपिआरलाई अन्तिम रुप दिनका लागि काम गरिरहेका छौं’ गिरीले भने, ‘प्रतिवेदन अनुसारको काम गरियो भने २ अर्ब रुपैयाँमा मुख्य सडकहरु कालोपत्रे गर्न सकिन्छ ।’ नगरपालिकाले केही समय अघि अल्पकालिन र दिर्घकालिन योजना निर्माणका लागि कार्यपालिका सदस्यहरु बीच विस्तृत छलफल गरेको थियो । पञ्चवर्षिय र दिर्घकालिन योजनातर्फ १५ बर्षे कार्ययोजना बनाएकोले प्रतिवेदन अनुसार काम गर्न सकिने नगर प्रमुख जनकराज पौडेलले बताए । ‘एकै पटक बजेट समेत नहुने भएकोले आन्तरिक बजेट र दाता पाएको खण्डमा लगाउने बजेटलाई योजना अनुसार खर्चनका लागि योजना बनाएका हौं’ पौडेलले भने, ‘दिर्घकालिन योजना पुरा गर्न नगर, प्रदेश र केन्द्रीय सरकारको बजेट ल्याउन सकिन्छ ।’ कामको मूल्यांकन, प्रभावकारिता र तोकिएको समयमा काम सक्न डिपिआर बनाएको उनले बताए ।
आगामी बर्षदेखि सबै वडामा नगर बस चलाउन सकिने गरी काम थालिसकिएको उनले बताए । हाल वडा नं. ३, ४, ५, ६ र ७ मा मात्र नगरबस चल्न सक्ने सडक छ । १५ बर्षमा सबै वडाका बस्तीमा कालोपत्रे सडकबाट पुग्न सकिने गरी दिर्घकालिन र आगामी बर्षभित्रै वडा मुकामसम्म बस चलाउन सकिने गरी काम भएको उनको दाबी छ । ठूलो बजेट लाग्ने भएपनि योजनाबद्ध काम भएमा संभव हुने समेत उनले बताए । नगरपालिकाले तित्याङको बुकेनीदेखि सिगानातर्फको १२ किमी, देउरालीचोकदेखि खहरे ६ किमी, भलाटाकुरादेखि कालीमाटीहुँदै तितौरे जाने ९ किमी, पञ्चासे नागबोटेहुँदै म्याग्दीको भकिम्ली जोड्ने ७ किमीको डिपिआर बनाएको हो । उपल्लाचौर ढोडेनी ५ किमी, गलुवा भकुण्डेहुँदै रायडाँडा १६ किमी, पाउजा, बाँसबोट अमलाचौर ८ किमी, काभ्रेडाँडादेखि भैरवस्थान १० किमी र नेपाने कैया गार्लुम ८ किमी सडकको पनि काम भैरहेको हो । ‘कम्तिमा ७ मिटरदेखि १० मिटर सम्मको पक्की सडक बनाउन लागेका हौं’ गिरीले भने, ‘नगरपालिका भित्रका सडकमा १५ मिटरको मापदण्ड बनाएर संरचना बन्न नदिने व्यवस्था समेत भैसकेको छ ।’ सडकलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई दोश्रो बनाएको छ । नगरभित्रका सबै विद्यालयमा शिक्षक दरबन्दी पु¥याउने, गुणस्तर विकास र विद्यालय छाड्ने दर न्युन बनाउने गरी समेत काम गरेको छ । ‘स्वास्थ्य तर्फ सदरमुकामका अस्पतालमा सहज पहुँच बढाउन पनि सडक राम्रो हुनुपर्छ’ वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘ग्रामीण सडकहरु कालोपत्रे हुने र वडाको मुकामका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि पर्याप्त पाउने व्यवस्थाका लागि पहल भैरहेको छ ।’ ग्रामीण बस्ती समेत नगरपालिकामा जोडेपछि मानव विकास सुचकांक घटेको, नगरपालिकाको सेवा पाउन यातायात अभावले सास्ती खेप्ने र स्वास्थ्य सेवा जटिल भएको गुनासो बढेपछि नगरले दिर्घकालिन योजनामा यस्ता बिषय समावेश गरेको हो ।