प्रधानसेनापतिले गरे जैदीको लौंवाखोलामा पुल उद्घाटन

बागलुङ, १८ जेठ–निर्माणाधिन कालीगण्डकी कोरिडोरको लौंवाखोलामा नेपाली सेनाले बनाएको पुल शुक्रवार उद्घाटन भएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रलिे यो पुलको उद्घाटन गरेपछि बस र जिपहरु पुलबाटै हिड्न थालेका छन् ।

यस अघि खोलाबाट घुमेर हिड्नुपर्ने सवारीले पुलको बाटो पाएका हुन् । बर्षातमा खोला बढ्दा सवारी साधनले तर्न कठिनाई हुने गथ्र्यो । केही समय अघि ट्रयाक खुलेको यो सडकमा सेनाले आवस्यक पर्ने ४ स्थानमा ट्रस्टको पुल बनाइसकेको हो ।

चौथो मध्येको अन्तिम पुल शुक्रवार उद्घाटन भएपछि कोरिडोरको बागलुङ खण्डमा सवारीलाई सहज रुपमा आउजाउ गर्ने अवसर मिलेको छ । सेनाले यसै बर्षदेखि कोरिडोरको ट्रयाक चौडापार्ने काम समेत थाल्ने बताएको छ । बागलुङको ३६ किमी खण्ड सहित गुल्मी र पाल्पा खण्डमा पनि सेनाले काम गरिरहेको छ । गुल्मी तर्फ पनि पुल बनाइरहेको कालीगण्डकी कोरिडोर निर्माण कार्यदलका ईन्जिनियर रेश्मीराज भट्टराईले बताए । यस अघि पालुङखोला, चौरी खोला र ठेउले खोलाको पुल बनाएर संचालनमा आईसकेको छ । शुक्रवार लौंवाखोलाको पुल संचालनमा आएपछि बर्षाले खोला बढ्दा रोकिने सवारी सहज रुपमा चल्न सक्ने भएका छन् ।

जैमिनी नगरपालिका ७ जैदी स्थित लौंवाखोलाको पुलले दैनिक चल्ने सवारीसाधन र स्थानीय बासिन्दालाई पनि सहज भएको छ । स्थानीय सँग कुरा गर्दै क्षेत्रीले सडक निर्माण सँगै स्थानीयको आवस्यकता र सहजीकरणका लागि पनि सहायोग गर्ने बताएका थिए । सेनाले यो खण्डमा अझै ३ वटा पुल बनाउनुपर्ने बताएको छ । उद्घाटन स्थलमा पुगेका पत्रकारलाई जानकारी दिंदै कार्यदलकै प्राविधिक सुवेदार हरिशरण पोखरेलले बर्षातमा पनि नियमित काम गरिहरने बताए । उनले अझै बागलुङ खण्डमा मात्र ३ वटा पुल बनाउने तयारी गरेको सुनाए । सेनाले यो सडकलाई अझै चौडा पार्ने तयारीपनि गरेको छ ।

पहिलो चरणमा गुल्मीको खण्डमा चौडापार्ने काम शुरु भैसकेको छ । आगामी बर्ष चौडा पारेर नाली समेत बनाउने सेनाले योजना बनाएको छ । कोरिडोरमा ६ महिना अघिदेखि नियमित सवारी चल्न थालेका थिए । हिउ“दमा सजिलै चलेपनि बर्षातमा खोलाले रोक्ने संभावना थियो । सेनाले बर्षात अघिनै काम पुरा गर्न ट्रस्ट पुल बनाएको हो । कोरिडोरको ट्रयाक खुलेपछि बागलुङको कुश्मीसेरा र बेलबगरबाट दैनिक दुइवटा बस र ६ देखि ८ वटा सम्म जिप समेत चल्न थालेका छन् । कोरिडोरको स्तरउन्नती भएमा बेलबगरदेखि ४ घण्टामा बुटवल पुग्न सकिने स्थानीयले बताए । धुले सडकमा पनि सा“ढे ५ घण्टामा बुटवल पुग्न सकिएको स्थानीयको अनुभव छ ।

कालीगण्डकीको कोरिडोर चीन र भारत जोड्ने छोटो मार्ग हो । कोरिडोरकै ट्रयाक नखुलेका केही स्थानमा पुराना सडकको प्रयोग गरेर बस र जिप चलिरहेका छन् । शुक्रवार पुल उद्घाटन कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल, उपप्रमुख लिला राना, विभिन्न क्षेत्रका सहायक तथा उपरथीहरु समेत उपस्थित थिए । हेलीकोप्टरमा आएका क्षेत्रीले शुक्रवारै स्याङजा स्थित सडक निर्माणको समेत अनुगमन गरेका थिए भने सेनाकै अर्जुन बाँण गण रहेको घोडाबाँधे व्यारेकमा पुगेर खाना खाएका थिए । सेनापतिको स्वागतका लागि २३ नम्बर बाहिनीपनि श्रीप्रसाद न्यौपाने लगायतका अधिकृतहरु पनि बेलबगर पुगेका थिए । सेनाले जिम्मा लिएपछि पटकपटक अनुगमन र निर्माणको कामलाई तीव्रता दिनका लागि मन्त्री तह सम्मले भ्रमण गरिरहेका छन् । सामान्य अवस्थामा निर्माण गर्न नसकिने भएपछि सरकारले यो कोरिडोर निर्माणको जिम्मा सेनालाई दिएको थियो ।