आफ्नै अडानलाई बदल्दै प्रधानमन्त्री ओलीले बनाए दुई उपप्रधानमन्त्री

संघीय समाजवादी फोरम सरकारमा, सूचना प्रविधिमन्त्री बाँस्कोटा बढुवा

काठमाडौं, १८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकार विस्तार गरेका छन्। सरकार विस्तारसँगै रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। सँगै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समेत स्वास्थ्य सँगै उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
फोरमलाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री केपी ओलीले विगतमा आफैंले गरेको अडान बदल्दै सोमबार दुईजनाई उपप्रधानमन्त्री बनाएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव नै सरकारमा सहभागी हुने भएपछि उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइएको हो ।
त्यसैगरी यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीको जिम्मेवारी पाएका गोकुल बाँस्कोटालाई मन्त्रीको जिम्मेवारी दिइएको छ । सँगै संघीय समाजवादी फोरमका सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बनेका छन्।
जिम्मेवारी हेरफेर भएका दुई र नयाँ दुई मन्त्रीले शुक्रबार साँझ प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

विगतमा उपप्रधानमन्त्री भइसकेकाले अहिले पनि त्यही पद पाउनुपर्ने अडान यादवले राखेका थिए । त्यही विषयमा कुरा नमिल्दा शुक्रबार शपथको समय झण्डै दुई घण्टा पर सरेको थियो । दिउँसो राष्ट्रपति कार्यालयले उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को कार्यविभाजन भएको विज्ञप्ति जारी गरेको थियो ।
तर, यादवले उपप्रधानमन्त्रीको अडान नछोडेपछि दिउँसो बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसहितको बैठकले यादवसहित पोखरेललाई पनि उपप्रधानमन्त्री बनाउने समझदारी गरेको थियो । पोखरेल पनि यसअघि नै उपप्रधानमन्त्री भइसकेका थिए । तर उपप्रधानमन्त्री नै नराख्ने भन्दै यसअघि ओलीले पोखरेललाई रक्षामन्त्रीको मात्र जिम्मेवारी दिएका थिए ।