लघुकथाको फरक धार

सुमन सौरभ नेपाली लघुकथा विधाका प्रतिभाशाली स्रष्टा हुन् । लघुकथाका क्षेत्रमा पृथक पहिचान बनाउन सफल सौरभ प्रयोगवादी लघुकथाकारका रूपमा समेत परिचित छन् । विशेषतः लघुकथा विधामा मात्र केन्द्रित रही साहित्य लेख्न रुचाउने उनका हालसम्म लघुकथा विधाका कृतिमात्र प्रकाशित देखिन्छन् । पचासको दशकदेखि यता निरन्तर लघुकथा लेखनमा सक्रिय रहेका सुमनका झन्डै आधा दर्जन लघुकथा कृति प्रकाशन भएका छन् । ‘आधुनिक लघुकथाहरू (२०५२)’, ‘पराइ विचार (२०६५)’, ‘चौथो लिङ्गी (२०६८)’, ‘मृत्युसङ्ग्रह (२०७२)’ र ‘स्वप्निस्तान (२०७४)’ जस्ता लघुकथासङ्ग्रह कृतिमध्ये ‘स्वप्निस्तान’ उनको सबैभन्दा पछिल्लो कृति हो । यो कृतिमा उनले स्वप्न अर्थात् सपनालाई केन्द्र बनाई लेखिएका ४७ वटा लघुकथा समावेश गरेका छन् । अघिल्लो लघुकथा सङ्ग्रहजस्तै यो कृतिमा पनि विषय र प्रस्तुतिमा नौलो प्रयोग गरिएको देखिन्छ । सङ्ग्रहमा समावेश लघुकथाहरूले परम्परागत लेखनभन्दा पृथक् मार्ग रोजेका छन् ।
लघुकथा नेपाली साहित्यमा पछिल्लो समय लोकप्रिय बन्दै गएको विधा हो । यो विधामा स्रष्टाहरूको उपस्थिति जुन किसिमले बढ्दै गएको छ, त्यहीअनुरूपको गुणात्मक मूल्य कायम गर्न सकेको देखिँदैन । उस्तै विषयवस्तु र एउटै किसिमको शैलीले गर्दा लघुकथा लेखनमा नवीनता र पृथकता आउन नसकेका बेला प्रस्तुत कृतिले नयाँ प्रयोग आरम्भ गरेको छ । यो सङ्ग्रहका ४७ वटा लघुकथा सपनालाई नै मुख्य केन्द्र बनाई लेखिएका भएपनि कथामा प्रयुक्त अन्र्तवस्तुमा भने विविधता देखिन्छ । सङ्ग्रहका प्रायः सबै लघुकथाको प्रारम्भ सपनाकै प्रसङ्गबाट भएको देखिन्छ भने आख्यानको पृष्ठभूमि सपनालाई नै बनाइएको छ । प्रस्तुत कृति लघुकथा विधाकै एउटा प्रयोगशील कृतिका रूपमा देखिन्छ । नेपाली समाज र मान्छेका विविध कमीकमजोरीमाथि व्यङ्ग्य गरी लेखिएका यी लघुकथा परम्परित विषय र प्रस्तुतिभन्दा नितान्त पृथक छन् र यही पृथकताका कारण लघुकथा विधाको परम्परामा यसले नवीन धार र प्रवृत्तिको निर्माण गरेको छ ।
सपनाका सन्दर्भबाट उठान गरिएको कथानकलाई यो कृतिका हरेक कथामा रहस्यमय र प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । प्रत्येक लघुकथाको पहिलो वाक्यमा उत्सुकता जगाउने यस्ता बीउ रोपिएका छन् कि, त्यही उत्सुकताले तानिएर पाठक कथाभित्र प्रवेश गर्छन् र चमत्कृत हुँदै बाहिर निस्कन्छन्, जसरी यी लघुकथाका पात्रहरू स्वयं चमत्कृत भएका छन् । लघुकथामा पहिलो वाक्यका रूपमा प्रयोग गरिएका यस्ता वाक्यहरू सुक्तिमय, काव्यात्मक र रहस्यमयी छन् । उदाहरणका रुपमा–उसले मेरो सपना चोरेर हैरान पाथ्र्यो– (दोधार), ऊ सपनामा भेट्न आयो– (गोटीहरू), विपनाको बोझले एलर्जी भयो र स्वतन्त्र मनले सपनाको रेस्टुरेन्टमा छिरें– (कुरूप विपना), सपनाको सहरमा घुमिफिरी फेरि आन्दोलनको ऋतु शुरु भएको थियो– (शहीदको सपना), सपनाको मैदानमा चटक देखाउँदै थियो समय– (औकात), बुढी औंला चुस्दै गरेकी छोरी मेरो छातीमा मस्तसँग निदाएर सपनामा पुगिसकेकी थिई । उसको कोक्रो बनेर सुस्तरी हल्लिरहेको म पनि सपनामा उसलाई पछ्याउन थालें– (लुटपाट), तीन महिने सपना तालिम लिएपछि मलाई सपनाको कुलत नै लागेको थियो– (तालिम), केही दिनदेखि सपनाले मलाई राजदरबार पु¥याउँथ्यो अर्दलीका रूपमा– (मोहभङ्ग)
यो सङ्ग्रहका लघुकथामा ‘म’ र ‘ऊ’ गरी दुई समाख्याताको प्रयोग गरिएको छ, अर्थात् प्रथम पुरुष र द्वितीय पुरुष दृष्टिबिन्दु प्रयोग गरिएको छ । यी दुई समाख्याताका रूपमा उभिएका पात्र सपनामा प्रवेश गर्छन् र स्वैरकल्पनाका माध्यमबाट मानव जातिमा निहीत विभिन्न किसिमका यथार्थलाई उजागर गर्छन् । प्रस्तुत सङ्ग्रहका लघुकथा विषय र प्रस्तुति दुबैमा सफल देखिन्छन् । लघुकथा लेखनमा स्वैरकल्पना, विपर्यास, चिद्वैषम्य, अधिकल्पना, मायिक यथार्थ, परोक्ष यथार्थजस्ता शैली वा प्रविधि प्रयोग गरी लेखिएकाले प्रस्तुत सङ्ग्रहका कथाहरू लघुकथाका भीडमा पृथक किसिमका देखिन्छन् ।
सपनालाई कतै विपनामा घोलेर र कतै विपनालाई सपनामा घोलेर कथानक बुनेका लघुकथाकारले यो सङ्ग्रहका लघुकथामा अन्र्तविषयकताको प्रयोग गरेका छन् । लघुकथाका समाख्याता कहिले चित्रकार, कहिले साहित्यकार, कहिले व्यापारी, कहिले भक्त, कहिले वैज्ञानिक, कहिले डक्टर अनि कहिले मजदुरका रूपमा उपस्थित हुने भएकाले समाख्याताको चरित्र र उसको पेशाअनुरूपको विषयवस्तु प्रयोग भएको छ । विज्ञान, चिकित्सा, कानुन, चित्रकारिता, साहित्य, दर्शन, राजनीति आदि विविध क्षेत्रका सन्दर्भहरू कथामा प्रयोग हुन आएकाले प्रस्तुत सङ्ग्रहका लघुकथाहरू अन्तर्विषयकताका दृष्टिकोणले समेत उल्लेखनीय छन् ।
यी लघुकथाहरूमा वर्तमान यथार्थको चित्रणका साथै त्यसप्रति मीठो व्यङ्ग्य पनि पाइन्छ । यस किसिमका व्यङ्ग्यहरूमा युगचेतनाको अभिव्यक्ति प्रभावकारी रूपमा आएको छ । ‘गोटीहरू’ शीर्षकको लघुकथामा कथाकारले युगबोधको अभिव्यक्ति यसप्रकारबाट गरेका छन्–
‘नाइँ, सपनाबाहिर विपना छ । विपनामा चेसबोर्डका गोटीसरह तपाईंहरू र महरू छौं, कल्ले हो कल्ले खेलिरहन्छ हामीलाई । (पृ.४०)
सत्तामा बस्ने सत्तासीनहरूले नेपाली जनतालाई गोटी बनाएर खेलेको यथार्थलाई यहाँ सटिक व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।
सपनालाई केन्द्र बनाएर यस प्रकारका कथा लेख्दा लघुकथाकारलाई विषय प्रस्तुतिमा केही हदसम्म सहज नै भएको देखिन्छ । सपनाको आधार लिइएकाले जुनसुकै विषयवस्तुलाई पनि आख्यानको आवरण लगाइदिन कथाकार स्वतन्त्र छन् । विपना अर्थात् यथार्थमा हुनै नसक्ने असम्भव कुराहरू पनि सपनामा सम्भव भएका छन् । लघुकथाका पात्रहरू सपनामा अद्भूत ठाउँमा पुग्छन्, उनीहरू सपनासँग, छायासँग, रातसँग, मैनबत्तीसँग संवाद गर्छन् । विभिन्न क्षेत्रका विशेषज्ञ र डक्टरहरूसँग भेट्छन् । अनौठा किसिमका यात्रा गर्छन् र कयौं रोमाञ्चकारी प्रतियोगिताहरूमा भाग पनि लिन्छन् । यसरी कल्पना र स्वैरकल्पना प्रयोग गरी अन्ततः लघुकथाकारले मानवीय कमजोरी र आजको विसङ्गत पक्षमाथि नै व्यङ्ग्य प्रहार गरेका छन् ।
यो सङ्ग्रहका लघुकथामा पाइने अर्को महत्वपूर्ण पक्ष भनेको भाषाशैलीगत सौन्दर्य हो । विभिन्न विम्ब, प्रतीक, मिथकहरूका साथै काव्यात्मक भाषा प्रयोगले लघुकथा आकर्षक बनेको छ । उदाहरणका रूपमा ‘विद्रोह’ शीर्षकको लघुकथाको शुरु वाक्यलाई लिन सकिन्छ–
‘सपनामा खोला थियो र खोलाको किनारमा एउटी युवती गिट्टीको थुप्रोमा पसिनाको थोपाले एकोतार कविता लेखिरहेकी थिई– टक्क टक्क, तप्प तप्प ।’ (पृ.८१) यस्ता सूक्तिमय र काव्यात्मक वाक्यले लघुकथालाई रोचक, रहस्यमयी, बौद्धिक र कलात्मक बनाएका छन् । लघुकथामा हुनुपर्ने सम्पूर्ण अभिलक्षणहरू अटाएका यो सङ्ग्रहका लघुकथाहरू मानक लघुकथाका रूपमा देखिन्छन् । यसरी लघुकथा विधामा यति धेरै प्रयोगहरू एकै ठाउँमा गरिएको यस कृतिले नेपाली साहित्यको लघुकथा लेखनमा फरक धारको प्रारम्भ गर्नुका साथै लघुकथा लेखनलाई परम्परित सोच र ढाँचाबाट समेत मुक्त गराएको छ । –बाह्खरीबाट