बहिरा विद्यार्थीलाई खेलकुद पोषाक वितरण

नवआगन्तुक प्रजिअलाई स्वागत

बागलुङ, १९ जेठ– जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललार्ई धवलागिरी बहिरा आवासिय मावि बागलुङले स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रजिअ खरेलले सामाजिक समावेशीकरणको सिद्धान्त अनुरुप अपाङ्गता भएको व्यक्तिहरुलाई सबै क्षेत्रमा समान र सक्रिय सहभागिता गराउन पहल गर्ने बताए ।
प्रजिअ खरेलले जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अपाङ्गमैत्री कार्यालय तथा अपाङ्गमैत्री संरचनाको व्यवस्थापनमा ध्यान दिने बताउँदै फरक क्षमता भएका व्यक्तिको चौतर्फी विकास गर्न समन्वय र सहकार्य गर्ने बताए । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याले बहिरा बालबालिकको शिक्षा विकासमा राज्यले ठूलो लगानी गरेको बताउँदै उनले बागलुङलाई अपाङ्ग शिक्षाको ‘हब’ बनाउन सकिने बताए । कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, महिला तथा बालबालिका कार्यालयका प्रमुख डिलकुमार शर्मा, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । बहिरा विद्यालयमा हाल एक भारतीयसहित ४१ जिल्लाका २५० जना बहिरा विद्यार्थी निःशुल्क आवासिय सुविधासहित अध्ययन गरिरहेका छन् । सरकारले बहिरा तथा अपाङ्ग विद्यार्थीहरुको लागि मासिक ४ हजार रुपैयाँ उपलब्ध गराएको सहायक प्रधानध्यापक रेशम श्रीसले जानकारी दिए ।
समावेशी शिक्षाको अवधारण अनुसार बहिरा विद्यालयमा कुल विद्यार्थी संख्याका १० प्रतिशत श्रवणशक्ति (सुन्ने) विद्यार्थी समेत अध्ययन गरिरहेका छन् । सो विद्यालयको कक्षा ९ र १० मा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ्ग र सिटिईभीटिद्वारा मान्यता प्राप्त तीन वर्षे डिप्लोमा इन कम्प्युटर कक्षा संचालन भैरहेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य केवी राना मगरको अध्यक्षता, प्रधानध्यापक मुद्युसुदन निउरेको स्वागत र नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो । यसैबीच, धवलागिरी बहिरा आवासिय मावि बागलुङमा अध्ययनरत विद्यार्थीहरुलाई खेल पोषक वितरण गरिएको छ । लुण्ड बहिरा खेलकुद स्वीडेनको सहयोगमा बागलुङ बहिरा संघमार्फत ७३ जना विद्यार्थीलाई खेलकुद पोषाक वितरण गरिएको हो । धवलागिरी बहिरा विद्यालय व्यवस्थापन समितिका सदस्य केवी राना मगर, प्रधानध्यापक मधुसुदन निउरे र बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलर उपाध्यक्ष लभकुश शर्माले पोषाक वितरण गरेका थिए ।