संघिय बजेटको सत्तापक्षका सांसदहरूबाट ब्यापक आलोचना

प्रतिपक्षी भन्छन - बजेट आश्वासनमुखी

काठमाडौँ, १९ जेठ – सत्तापक्षकै सांसदहरू बजेटको कडा आलोचनामा उत्रिएका छन् । शुक्रबारको बजेट छलफलमा सत्तापक्षकै सांसदहरू प्रतिपक्षीभन्दा पनि आक्रामक रूपमा प्रस्तुत भएका हुन् । यो क्रम बिहीबारदेखि नै चलिरहेको छ वाम गठबन्धनको घोषणापत्र र प्रतिबद्धताअनुसार बजेट आउन नसकेको आरोप सत्तापक्षका सांसदहरूको छ ।
उनीहरूले बजेटको राम्रो पक्षको व्याख्या गर्दै कमजोर पक्षलाई सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । सत्तापक्ष र प्रतिपक्षी सांसदले अर्थमन्त्री युवराज खतिवडाले सांसदको दबाबमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड रुपैयाँको स्थानीय पूर्वाधार विकास कार्यक्रम ल्याउनुपरेको भन्दै सञ्चार माध्यममा दिएको अभिव्यक्तिको पनि चर्को विरोध गरेका छन् ।
सत्तापक्षका सांसद अग्नि सापकोटाले राजस्व चुहावट नियन्त्रण तथा आर्थिक अनुशासन कायम गर्न सक्षम भए पनि घोषणापत्र, नीति तथा कार्यक्रम र नेताहरूले गरेको प्रतिबद्धताअनुसार बजेट नआएको बताए । बजेटले अग्रगामी फडको हान्न नसकेको दाबी गर्दै उनले उपत्यका बाहिरको जनसंख्यालाई उपेक्षा गरिएको टिप्पणी गरे । उनले बजेटमा अर्थशास्त्रका विज्ञको दर्शनमात्रै देखिएको भन्दै अर्थमन्त्रीको विरोध गरे । ‘बजेटमा विशाल जनसंख्याको दर्द र पीडाको विश्लेषणमा कमी छ,’ सापकोटाले भने, ‘ड्याम ड्याम धक्का मार्दै अघि बढ्नुपर्नेमा धक्का मार्नै सकेन । जनताले महान् अग्रगामी छलाङ खोजेका थिए । बजेटमा छलाङ नदेख्दा जनतामा उत्साह देखिँदैन ।’
सत्यबोध भएपछि बजेटमा सुधार गर्न आँट गर्नुपर्ने उनले बताए । ‘लेख्नुपर्ने च्याउ, लेखियो स्याउ । त्यति पनि सच्याउन नसक्ने हो भने विकासमा फडको मार्न सकिँदैन,’ उनले भने, ‘राजनीतिक पार्टीका सांसदलाई विस्थापित गर्ने खेल भइरहेको छ । अर्थमन्त्रीमा राजनीतिक सुझबुझको कमी देखियो ।’ सहिद, बेपत्ता तथा अपांगता भएका व्यक्तिका परिवारलाई अवमूल्यन गरेर बजेट ल्याइएको आरोपसमेत उनले लगाए ।
सत्तापक्षका सांसद गजेन्द्रनारायण महतले बजेटको बचाउ गर्न खोजे पनि जुम्लालाई कुनै असर नपरेको भन्दै छलफलमा भावुक बने । बजेटलाई उनले आकाशको फलका रूपमा समेत चित्रण गरे । ‘लंकामा सुन छ, कान मेरो बुच्चै भनेजस्तै छ । यतिमात्रै होइन बजेटले हर्ष न विस्मात् बनायो,’ उनले भने, ‘बजेटमा धेरै कुरा समेटिएको छ । तर मेरो र जुम्लाका लागि केही छैन । जुम्लीले अब के हेरेर चित्त बुझाउने ?’ सत्तापक्षका अर्का सांसद टेकबहादुर बस्नेतले बजेटले जनताको विश्वास गुमाएको बताए । ‘बजेट करमुखी भयो । उत्पादनमुखी भएन,’ उनले भने, ‘यो बजेटले समाजवादको भविष्य देखाएन ।’
सत्तापक्षका अर्का सांसद हरिराज अधिकारीले संघीयता कमजोर बनाउने गरी बजेट आएको भन्दै सरकारको आलोचना गरे । जनतामा कम्युनिस्ट सरकार आएपछि वृद्ध भत्ता तथा कर्मचारीको तलब बढ्ने अपेक्षा गरिए पनि सबैको मनोविज्ञान नबुझी बजेट आएको बताए । ‘कम्तीमा ५ सय रुपैयाँ भए पनि बृद्ध भत्ता बढाउनुपथ्र्यो । ७० वर्ष काटेकालाई एक लाख रुपैयाँको बिमा ठीक भएन,’ उनले भने, ‘कर्मचारीलाई तलब बढाएर संघीयता कार्यान्वयन गर्नुपर्नेमा हप्काएर तलब नबढाएर के गर्न खोजिएको हो ? यो संघीयताविरोधी विष रोपेजस्तो भएको छ ।’
संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बजेट केन्द्रीकृत भएको भन्दै विरोध गरे । अर्थमन्त्रीले सांसदको दबाबमा ४ करोड बजेट छुट्याउनुपरेको भन्दै दिएको अभिव्यक्तिले सांसदको अपमान गरेको उनले बताए । ‘चार करोड हामीलाई दान दिएजस्तो गरिएको छ,’ उनले भने, ‘हामीलाई भिख दिएजस्तो लाग्यो । हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं । आशीर्वाद र टिके प्रथाबाट आएका हैनौं । तपाईं पहिला जनताको प्रतिनिधि भएर आउनुस् ।’ वडा अध्यक्षसमेत जितेर नआएको व्यक्तिले सांसदको अपमान गरेको आरोप उनको छ ।
सांसद अमनलाल मोदीले अर्थमन्त्री खतिवडा मनोनीत सांसद भएकाले उनले जनताको चाहना र भावना बुझन नसकेको बताए । ‘आफू नमरेसम्म स्वर्ग देखिँदैन भन्थ्यो, हो रैछ जस्तो लाग्यो,’ उनले भने, ‘मनोनीतले जनताको भावना बुझ्नुभएन ।’ सहिद परिवार, मजदुर, किसान, सुकुम्बासीको समस्या सम्बोधन हुने गरी बजेट नआएको उनले बताए । ‘यदि संशोधनसहित बजेट पारित नगर्ने हो भने कम्युनिस्ट सरकारमाथि नै प्रश्न उठ्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री खतिवडा दोबाटोमा हराएजस्तो गरी बजेट आएको भन्दै आलोचना गरे । प्रधानमन्त्री रोजगारी कार्यक्रम, उद्योग ग्राम स्थापना, प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने, महिलालाई उद्यमी बनाउन कम ब्याजमा ऋण दिने, २६ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने, सबै नेपालीको बंैक खाता हुने विषय सकारात्मक रहेको उनले आंैल्याए । भ्याट फिर्ता खारेज गर्ने, चुरोट र मदिरामा अन्त:शुल्क बढाउने विषय पनि सकारात्मक रहेको उनले बताए । ‘सामान्य अवस्थाको बजेट हुँदा राम्रो हुन्थ्यो । तर, अहिले सामान्य अवस्था होइन । त्यसैले यो बजेटलाई ६० नम्बरसम्म दिन सकिन्छ,’ उनले भने, ‘बहुमत प्राप्त सरकारको घोषणापत्रको सपना मरेजस्तो लाग्यो । नीति तथा कार्यक्रममा आशा देखाएको थियो । सरकारले हिम्मत हारेजस्तो देखियो ।’ सत्तापक्ष सांसद खगराज अधिकारीले भने बजेटले नयाँ युगको सूत्रपात भएको भन्दै सरकारको प्रशंसा गरे ।
बजेट आश्वासनमुखी – प्रतिपक्षी
प्रतिपक्षी कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा र गन्तव्य दिन नसक्ने ठोकुवा गरे । ‘बजेट आश्वासनमुखी छ । प्राथमिकता किटान गर्न सकेको छैन । कार्यान्वयनको विश्वसनीय आधार छैन,’ उनले भने, ‘जनतामा उत्साह ल्याउन सकेको छैन । सपनामात्रै बाँडिएको छ । बजेटले संघीयतालाई बेवास्ता गर्‍यो ।’
फोरमका सांसद बिमलप्रसाद श्रीवास्तवले अर्थमन्त्री मुलुकको वास्तविक धरातलमा पुग्न नसकेको आरोप लगाए । ‘राजमार्ग र ठूला योजनाको कुरा गर्छौं । प्रधानमन्त्रीले तुइनमा हिँड्नु नपर्ने, झोलुंगे हुँदैन भन्नु भएको थियो । खोइ अहिले पूरा भएको ?’ उनले भने । दलितदेखि कमजोर वर्गको आर्थिक अवस्था मजबुत बनाएर मात्रै ठूला योजना अघि सार्नुपर्ने उनको सुझाव छ । हुम्लाका सांसद छक्कबहादुर लामाले नीति निर्माताले कर्णालीलाई उपेक्षा गरेको आरोप लगाए । मुगुका सांसद गोपालबहादुर बमले बजेटले वित्तीय अनुशासन कायम गर्ने भन्दै प्रशंसा गरे । कांग्रेस सांसद तेजुलाल चौधरीले भाषण गरेर मात्रै विकास नहुने भन्दै ट्रेड युनियन बन्द गर्नुपर्ने बताए ।
कांग्रेसकै सांसद बहादुरसिंह लामाले बजेटमा धेरै विषयलाई प्राथमिकता तोकिएको उल्लेख गर्दै राम्रो बनाउन खोज्दा झन् बिग्रिएको बताए । सत्तापक्षका सांसद बृजेशकुमार गुप्ताले बजेट जनताको ताली खाने नभए पनि प्रतिबद्धता र घोषणापत्रअनुसार पाँच वर्षभित्र गरिबलाई माथि उठाउने उद्देश्यसहितको रहेको बताए । कांग्रेस सांसद रामबहादुर बिष्टले छलाङ मार्ने खालको बजेट नभएको बताए । ‘बाहिर हेर्दा झिलिमिली, भित्र केही रहेनछ,’ उनले भने, ‘सांसदलाई हेप्ने गरी बजेट ल्याइएकाले संघीयता बलियो हुँदैन । संविधान बनाउन, सरकार बनाउन सांसद चाहिने, बजेटमा हात लगाउन नपाइने ?’
सत्तापक्ष सांसद महेश बस्नेतले बजेटले वित्तीय अनुशासनहीनको अन्त्य गरेको बताए । ‘बजेट बल्ल सुल्टो दिशामा आएको छ । यसले भ्रष्ट र ठगलाई तह लगाउने र सही ट्रयाकमा अर्थतन्त्र अघि बढने छ,’ उनले भने, ‘विपक्षले कार्यकर्ता पोस्ने गरी बजेट ल्याइयो भने भनिएको छ । यस्तो काम हामीले भन्दा पनि कांग्रेसले जानेको छ । हामी यसमा सचेत छांै ।’ यो सरकारको पहिलो बजेट भएकाले अब चार वर्षभित्र प्रतिपक्षले सोचेभन्दा राम्रो बजेट आउने बस्नेतले बताए ।
सत्तापक्षका सांसदहरू पार्वती बिशुन्खे, नवराज सिलवाल, यज्ञराज सुनुवार, सुरेशकुमार राई र सुजिता शाक्यले सरकारको बचाउ गरेका थिए ।
राजपाका नेता लक्ष्मणलाल कर्णले बजेट संघीयताको ढाँचामा नआएको भन्दै आपत्ति जनाए । प्रतिपक्षी सांसद विनोद चौधरीले प्रदेशलाई सक्रिय बनाए मात्रै मुलुकको विकास सम्भव भएको बताए । अर्का सांसद जिपछिरिङ शेर्पाले निर्माण व्यवसायीलाई कारबाहीको नाममा आतंक सिर्जना गरिएको बताए । अर्का सांसद उमेश श्रेष्ठले शिक्षामा बजेट कमी भएको भन्दै विरोध गरे । निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न उनले सरकारलाई आग्रहसमेत गरे । कान्तिपुर