फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोलको ११३ रुपैयाँ

इन्धनको मूल्य बढाउँदा पनि १५ दिनमा १८ करोड ६२ लाख घाटा
बागलुङ, १९ जेठ – आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले भाउ बढाएको हो । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ। यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति हजार लिटरमा ७५ डलर बढेको निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यास मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। एलपीजी ग्यासको खरिद मूल्य बढेको निगमले जनाएको छ। निगमलाई खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा छ।निगमले इन्धनको मूल्य बढाउँदा पनि १५ दिनमा १८ करोड ६२ लाख घाटा हुने जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिनहरुमा तेलको मूल्य बढिरहेको बेला नेपालमा भारतभन्दा सस्तो छ। भारतभन्दा नेपालमा प्रतिलिटर पेट्रोल २२ दशमलव ७२ रुपैयाँ र डिजेलमा प्रति लिटर २४ दशमलव ८५ रुपैयाँले सस्तो रहेको प्रवक्ता गोइतले जानकारी दिए।
नयाँ मूल्यअनुसार झापा, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य प्रति लिटर एक सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ ५० पैसा कायम गरिएको छ। पोखरा र दाङमा भने पेट्रोलको प्रति लिटर एक सय १२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम भएको छ। भारतको रक्सौलभन्दा नेपालमा पेट्रोलतर्फ प्रतिलिटर २२ रुपैयाँ ७२ पैसा र डिजेलतर्फ २४ रुपैयाँ ९५ पैसा सस्तो भएकाले पछिल्लो समयमा भारततर्फ नेपालबाट इन्धनको तस्करी ठूलो परिमाणमा बढेको छ।