हरेक महिना २० जनाको ‘ब्रेनडेथ’

अंग प्रत्यारोपण भने वर्षमा एकजनाको मात्रै 

बागलुङ, २० जेठ – २७ वैशाख ०७४ मा निर्वाचन प्रचारप्रसारका क्रममा सिन्धुली खाङसाङ-८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परे । गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौंको कान्तिपुर अस्पताल ल्याइयो । २८ वैशाखमा साँझपख चिकित्सकले भुजेलको ‘ब्रेनडेथ’ अर्थात् मस्तिष्क मृत्यु भएको घोषणा गरे ।
कान्तिपुर अस्पतालले तत्काल आफ्नो धर्म निभायो । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र (हाल धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र)मा खबर ग-यो । खबर पाउनासाथ केन्द्रका विशेषज्ञ चिकित्सकसहितको प्राविधिक टोली कान्तिपुर अस्पताल पुग्यो ।
भुजेलका परिवारसँग लामो परामर्श ग-यो । परिवारले अंगदान गर्न सहमति जनाए । उता, केन्द्रमै प्रत्यारोपणको पर्खाइमा बिरामी थिए । ब्रेनडेथ भएका भुजेलको शरीरबाट निकालिएको अंग सुनसरीका ५१ वर्षीय गोविन्दप्रसाद तिमिल्सिना र लाजिम्पाटका १५ वर्षीय मिलन श्रेष्ठमा सफलतापूर्वक प्रत्यारोपण गरियो ।
यो एक उदाहरण हो, ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् ।भुजेलको अंग प्रत्यारोपणपछि अहिलेसम्म केन्द्रले एउटै पनि ‘केस’ पाएको छैन । त्यसो त केन्द्र स्थापनापछि अहिलेसम्म यही एउटा मात्रै केस आएको हो । काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालले उपचारका क्रममा आफूकहाँ ‘ब्रेनडेथ’ भएका घटनाको जानकारी प्रत्यारोपण केन्द्रलाई नै गराएका छैनन् ।
हरेक महिना २० जनाको ‘ब्रेनडेथ’
२४सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । ‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।
महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन् । तर, निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन् ।
अस्पताल र पीडितलाई आर्थिक सहयोग, तर उपलब्धि शून्य
डा. श्रेष्ठका अनुसार अस्पताल र पीडितको कुराअनुसार नै ‘ब्रेनडेथ’ उपलब्ध गराउने परिवारका सदस्यलाई उपचार गर्दा लागेको खर्च र अस्पताललाई एक लाख रुपैयाँ दिने निर्णय भइसकेको छ । यति हुँदा पनि अस्पतालहरू नै घटना लुकाइरहेका छन् । यो अवस्थाले स्वास्थ्य मन्त्रालय पनि आश्चर्यमा छ ।
उपत्यकाका ठूला अस्पतालले उपलब्ध गराएको डाटाअनुसार ओम अस्पतालमा औसतमा महिनामा दुईजनाको ‘ब्रेनडेथ’ हुने गरेको छ । त्यस्तै, न्युरो अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा ६, वीर अस्पतालमा दुई, शिक्षण अस्पतालमा तीनजनाको हरेक महिना ‘ब्रेनडेथ’ हुने गरेको स्वयं अस्पतालहरूले जानकारी दिएका छन् ।
किन खबर गर्दैनन् ?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार उपाध्यायले ‘ब्रेनडेथ’ भएको व्यक्तिको अंग दान निकै गम्भीर र जटिल विषय भएको बताए । यसमा प्राविधिकदेखि कानुनी समस्याहरू भएकाले केन्द्रलाई खबर नगरेको उनले स्पष्ट पारे ।
‘हामीले नदिने भनेका छैनौँ,’ उपाध्यायले भने, ‘तर, हामीसँग ‘ब्रेनडेथ’ भएपछि अप्रेसन गर्ने, अंग निकाल्ने समय हुँदैन । अप्रेसन थिएटर व्यस्त भएकाले उक्त प्रक्रिया हामीबाट अगाडि बढ्न नसकेको हो ।’ केन्द्रले भने अस्पतालले सबै प्रक्रिया अपनाएर दिनुपर्ने धारणा राख्दै आएको छ ।
अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. समीर आचार्यले कानुनी समस्याले ‘ब्रेनडेथ’ भएकाहरूको अंग दिन नमिल्ने बताए । ‘हामीबाट यो सम्भव हुँदैन । परिवारका सदस्यलाई बाहिरका व्यक्तिले सम्झाएर लगे भने मात्रै हो । अन्यथा अस्पताल र चिकित्सकले दिन सक्ने आधार छैन,’ उनले भने, ‘ब्रेनडेथ भएका व्यक्तिको अंग निकाले चिकित्सकले मारेको भन्ने आरोप लगाउने आधार बन्न सक्छ । ‘ब्रेनडेथ’बारे हरेक नागरिकमा चेतना जगाउन आवश्यक छ ।’
कुन–कुन अंग प्रत्यारोपण गर्न सकिन्छ ?
‘ब्रेनडेथ’ भएकाहरूको व्यक्तिबाट मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज, सानो आन्द्रा, आँखाका नानी तथा छालालगायत अंग प्रत्यारोपण गर्न सकिन्छ । पहिलोपटक ‘ब्रेनडेथ’ भएकाको मिर्गौला मात्रै प्रत्यारोपण भएको डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । नयाँ पत्रिका