गीतमा परदेशीका गीत

हे बरै, दसी धारा पो नरोए आमा
बाँची पठाम्ला तस्बिरै खिचेर… ।
हे बरै, आमैले सोध्लिन् नि खै छोरा भन्लिन्… ।
लडाइँमा गएको परिवारको एक सदस्य, जो मृत्युको मुखमा छ, उसको भावना समेटेर झलकमान गन्धर्वले गाएको यो गीत नसुन्ने नेपाली सायदै होलान्। सारंगीको धुनमा गाइएको यो लोकगीत धेरैको मुखमा झुन्डिएको छ । माओवादी द्वन्द्वका बेला रेडियोबाट निकै बज्ने गरेको यो गीत त्यो बेला निकै सान्दर्भिक पनि थियो ।पछिल्ला वर्ष देशको सामाजिक, राजनीतिक परिस्थिति बदलिएको छ । आफ्नो र परिवारको सुखी जीवनको सपना साँचेर हजारौँ नेपाली रोजगारीका सिलसिलामा बिदेसिने क्रम बढेको छ।
पैसा कमाउने सपना साँचेर ग्रामीण क्षेत्रका तन्नेरीहरू साउदी अरब, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, मलेसिया जस्ता देश जाने गरेका छन् । योसँगै झलकमानको ‘आमैले सोध्लिन्’ जस्तै नयाँ सन्दर्भ र विषयका गीत आउन थालेका छन् । बिदेसिन बाध्य युवाका कथा समेटिएका लोक तथा आधुनिक गीतले आमनेपालीको मन छुन सफल भएका पनि छन् ।
जाँदा खेरि आकाशैमा, आउँदा बाकसैमा
लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइँमा
यतातिर भाँडो खस्ने, उता प्राण जाने
बिरानो त्यो मुलुकमा कसले देला पानी… ।
बोल माया, एक वचन बोल, तिम्रै बोली छ मलाई अनमोल…।
दुई साताअघि सार्वजनिक गरिएको प्रकाश सपुतको शब्द र लयमा नारायण रायमाझी, प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीत युट्युबमा निकै हिट भएको छ । दुई सातामै ३० लाखभन्दा धेरैपटक हेरिएको १९ मिनेट लामो यो गीत एउटा गीतिकथाको रूपमा प्रस्तुत गरिएको छ।
गन्धर्वहरूले गाउने सारंगीसहितको लोकभाकामा गाइएको यो गीतले नेपालीको दुःखको कथा व्यक्त गरेको छ । दैनिक हजारौँ युवा सुखी जीवन र सुन्दर भविष्यको कल्पना गर्दै हरेक दिन एयरपोर्टबाट विभिन्न देश जान बाध्य छन् । यस गीतले सुन्दर भविष्यको सपना बोकेर बिदेसिएको युवाको दुखान्त कथा बोलेको छ । विदेशमा मृत्यु भएका युवा काठको बाकसमा फर्कनुपरेको कथालाई गीतमा शब्द र दृश्यमा देखाइएको छ।
दैलेखका मोहन बोहरा विवाह भएको एक वर्ष नबित्दै साउदी अरेबिया गएका थिए, चार वर्षअघि । त्यहाँ उनी कुकको काम गर्थे । उनकी श्रीमती नेपालगन्जमा बस्थिन् । कामबाट फर्कंदा गाडी दुर्घटनामा परेर २८ वर्षीय बोहोराको साउदी अरेबियामै मृत्यु भयो । मृत्यु भएको एक महिनापछि मात्र उनको शव ल्याइएको थियो । एयरपोर्टमा उनकी २६ वर्षीया श्रीमती निशा बोहोरा शव कुर्दाकुर्र्दै बेहोस भएकी थिइन् । ‘केही याद छैन ।
पहिले एक–एक वर्षमा आउनुहुन्थ्यो, पछि उहाँको शव नेपाल आइपुग्यो । उहाँले आफ्नी कान्छी छोरीलाई देख्न पनि पाउनुभएन,’ निशा भन्छिन् । उनी अहिले जसोतसो किराना पसल चलाएर गुजारा चलाइरहेकी छन् । तीन र दुई वर्षका दुई छोरीहरू नै अहिले उनका जिउने सहारा हुन् । हालै मात्र उनले कता–कताबाट ‘बोल माया…’ बोलको गीत सुनिन् र फेरि भक्कानिएर रोइन् । भागेर प्रेमविवाह गरेकी निशालाई यो गीत आफ्नै लागि बनाएजस्तो लाग्छ । ‘हरेक शब्द मैले मोहनलाई नै भनिरहेकी जस्तो लाग्छ,’ उनले भनिन्।
१९ मिनेट लामो ‘बोल माया’ बोलको गीत सुन्दा आँखा नरसाउने कमै होलान् । फोन संवादबाट सुरु भई गीतभित्रै कथा, उपकथा बुनिँदै जाँदा श्रव्यदृश्यसहितको यो गीत लामो तर एक मार्मिक कथा बन्न गएको सपुत बताउँछन् । ‘हामीले प्रस्तुतिमा पनि ध्यान दियौँ । यो एउटा गीत मात्र नभएर नेपालको धेरै गाउँठाउँका कथा पनि हो । यसले नेपलाी जनजीवन बोकेको छ,’ उनी भन्छन् ।यो गीत हेरेर र शब्दमा डुबेरै धेरैले रुवायो भनेर कमेन्ट गरेका छन् । युट्युब भिडियोमै १० हजारभन्दा बढी कमेन्ट आएको छ र जसमा धेरैले ‘म निकैबेर रोएँ’ र ‘आँसु थामिएन’ भन्ने वाक्य प्रयोग गरेका छन्।
विदेशमा भएकाले त त्यसरी कमेन्ट गरे, तर विदेश जाने मनसाय बोकेकाले समेत यो गीत सुनेपछि आफ्नै देशमा केही गरौँ भन्ने आशा जागेको प्रतिक्रिया दिएका छन् । ‘विदेश जान तयार भएकाबाट समेत यो गीत सुनेपछि त यहीँ केही गरौँ जस्तो लागेको छ भन्ने प्रतिक्रिया पाउँदा निकै भावुक भएँ,’ सपुत सुनाउँछन् ।यो गीतको सुटिङ बेला हेर्न आउने र सँगै काम गर्ने धेरैको आँखा रसाएको सपुत बताउँछन् । उनले आफैँ हुर्केको बाग्लुङको धम्का भन्ने गाउँमा यो गीतको सुटिङ गरेका थिए।
वैदेशिक रोजगारमा मृत्यु भएका दुईवटा घटनालाई सपुत आफैँले देखेका र शवलाई आफैँ रिसिभ गरेका थिए । एक आफ्नो निकै मिल्ने साथी र अर्का आफन्तको शव उनले काठमाडौंबाट गाउँसम्म पुर्याएका थिए । त्यही घटनाले पनि उनलाई बारम्बार पिरोलिरहन्थ्यो । आफन्त, परिवार र साथीभाइलाई कति पीडा भयो होला भनी उनी भावुक भइरहन्थे । उनको त्यही भावले यो गीत बन्यो । यो गीत गत मंगलबारसम्म युट्युबको पहिलो नम्बरमा ट्रेन्डिङ भइरहेको थियो ।
‘पछिल्लो समय मौलिक गीत सुन्ने श्रोता–दर्शकमा कमी आएको भन्ने थियो । कलाकारले श्रोतालाई मौलिक गीत सुन्दैनन् भन्ने आरोप लगाउँछन् । त्यस्तै, श्रोताले समेत राम्रा मौलिक गीत आउन छाडे भन्ने आरोप लगाउँछन् ।
यो आरोप–प्रत्यारोपको सिलसिलामा ‘बोल माया’ले लोकगीतलाई पुनर्जीवन दिएको जस्तो लाग्छ,’ सपुत दाबी गर्छन् ।
वैदेशिक रोजगारमा जानेहरू मात्र होइन, पछिल्लो समय सबैको मनपर्ने गीत बन्न सफल रहेको अर्को गीत हो, ‘सुन साइँली साइँली, परदेशबाट फर्की आउँला, चालीस कटेसी रमाउँला…।’
हर्क साउद र कालीप्रसाद बास्कोटाको शब्द–रचना, कालीप्रसाद बास्कोटाको संगीत र हेमन्त रानाको स्वर रहेको यो गीत करिब १५ महिनाअघि सार्वजनिक गरिएको थियो । पहिले लिरिकल संस्करण मात्र सार्वजनिक गरेर पछि सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो युट्युबमा डेढ करोडभन्दा धेरैपटक हेरिएको छ ।‘हाम्रो गाउँले परिवेशमा स्कुल सकिएपछि कोही काठमाडौं पढ्न आउँछन्, केही नभए अलिकति पैसा कमाउने आसमा केही खर्च गरेर खाडी मुलुकमा पुग्छन्।
छोराछोरीले आफूले भोगेको दुःख नभोगून्, केही पैसा जोहो गरेर घर–घडेरी किनौँ र बाँकी जीवन केही सानो काम गरेर सुखदुःख गरेर बाँचौँ भन्ने कथा बोकेको छ, यो गीतले,’ साउद भन्छन् । यो गीतका शब्द गाउँको परिवेशका छन् । यो गीतको भिडियोमा अहिलेसम्म १४ हजारभन्दा धेरै कमेन्ट छन्, जसमा विदेशीहरूले पनि शब्द नबुझे पनि गीत सुनेको भनेर कमेन्ट गरेका छन् ।देशमा जति दुःख हुन्छ, त्यसको चार गुणा दुःख विदेशमा हुन्छ, तर सुनौलो भविष्यको सपना देख्दै दैनिक हजारौँ बिदेसिन्छन् । विदेशी पुगेपछि गाउँघरको सम्झना बिछट्टै आउँछ ।
अझ घरमा प्रियसीलाई छाडेको छ भने त्यो यादले झन् सताउँछ । आफ्नो आर्थिक अवस्थामा सुधार आओस्, केटाकेटीलाई राम्रोसँग पढाउँ–बढाउँ भन्ने इच्छा सबैको हुन्छ । गाउँघरका मान्छेले सम्झिने के त ? ढिकी, जाँतो, कल, घट्टजस्ता शब्द त धेरै नयाँ पिँढीले बिर्सिसकेका हुन्छन् । ‘यस्ता गीतले हामीले बिर्सिसकेको र बिर्सन लागेको ठाउँ र परिवेशलाई सम्झाइराख्छ । यस्तो शब्द प्रयोग गर्दा पनि हामीभन्दा पछिल्लो पिँढीले धेरै मौलिक शब्दहरू थाहा पाउँछन्,’ साउद भन्छन् । यस्ता गीतले हराएका शब्दहरूको पुनरुत्थान हुने उनी बताउँछन्।
बाग्लुङका ज्ञानबहादुर किसानको तीन वर्षअघि मलेसियामा मृत्यु भयो । बिदामा घर आएर फर्केको चार महिना नबित्दै उनको मृत्युको खबरले उनकी श्रीमती अचेत भइन् । सुनौलो भविष्यको सपना सजाएर गएका पति काठको बाकसमा फर्केको सम्झँदा अहिले पनि हात–खुट्टा लुला हुन्छन्, लक्ष्मी किसानको।
‘म त सम्झिन पनि सक्दिनँ, अरुलाई पनि परेर के गर्नु आफ्नै दुःख ठूलो लाग्दोरहेछ,’ उनले रुँदै सुनाइन् । प्रकाश सपुतको गीत उनले हेर्न–सुन्न सक्दिनन् । यो गीत उनलाई आफ्नै कथा लाग्छ, अनि भक्कानिएर रुन थाल्छिन् । मलेसियामा बिरामी भएर मृत्यु भएको भनिए पनि आफ्ना श्रीमान्को के भएर मृत्यु भएको उनलाई थाहा छैन । अहिले छोरी र छोरासँग बस्ने उनी अझै पनि बेला–बेला भक्कानिन्छिन्।
बाग्लुङकै कृष्णकुमारी विक राति निदाउन सक्दिनन् । कतारमा सडक दुर्घटनामा आफ्ना श्रीमान् कोमामा गएपछि उनले भोगेको दुःखको सूची छोटो छैन । २०६५ सालमा कतार गएका उनका श्रीमान् २०६६ मा सडक दुर्घटनामा परेका थिए । उनले पाँच वर्ष कतारको हमाद अस्पतालको शड्ढयामा बिताए ।
त्यसपछि भने अस्पतालले पनि राख्न नमानेपछि कोमामा रहेका उनलाई धेरै मेहनत गरेर काठमाडौं ल्याइयो । तर, उनको १५ महिनापछि निधन भयो । उनले सपनामा आफ्नो श्रीमान्लाई देख्छिन् । बिहान उठ्दा डाँको छाडेर रुन्छिन् । ‘बोल माया’ गीतले उनको मन एकदम छोएको छ । निद्रा नपर्दा पनि उनी त्यही गीत सुन्छिन् र श्रीमान्को यादमा धेरै रुन्छिन् । ‘मलाई लाग्छ, यो गीत मेरै लागि लेखिएको हो,’ उनले रुँदै भनिन् ।
नमुछे आमा दहीमा टीका नछरे जमरा,
दैवले पर्दा उठायो आमा आउँदिनँ फर्केर… ।
स्व. लक्ष्मण रायमाझीको शब्द, नारायण रायमाझीको संगीत र कृष्णभक्त राईको स्वर रहेको यो गीत दुई दशक अघिदेखि नै रेडियोमा बज्दै आएको हो । दसैँ सुरु हुने बेलादेखि निकै बज्ने यो गीत सशस्त्र माओवादी युद्धका समयमा हरेकको मुख–मुखमा झुन्डिएको थियो । यही गीत सुन्दै सैयौँ आमाहरू युद्धमा गुमाएका आफ्ना छोरालाई सम्झिएर भक्कानिन्थे । सन्दर्भ फेरिएको छ, तर गीतको मर्म र भावना भने फेरिएको छैन । अहिले देशमा युद्ध नभए पनि विदेशमै विविध कारण मरेका आफ्नो छोरालाई दसैँका बेला सम्झिने आमाहरूको व्यथा यो गीतले बोलेको छ।
‘नमुछे आमा दहीमा टीका’ र हालै आएको ‘बोल माया’ गीतमा संगीत र स्वर दिएका नारायण रायमाझी यस्तो गीतले धेरै श्रोतालाई छोएको बताउँछन् । उनका अनुसार त्यसबेला भारतीय फौजमा नेपाली युवा जाने प्रवृत्ति थियो, जसलाई कारगिलमा जाने भनिन्थ्यो । ‘नमुछे आमा बोलको गीतले विदेशमा गएर लडाइँमा वीरगति प्राप्त गरेका युवाको कथा भनेको छ,’ उनी भन्छन्, ‘विशेष गरी दसैँ–तिहारका बेला रेडियोबाट यस्तैखाले गीत बज्ने गर्छन् ।’आफूले बनाएको सिर्जना चल्दा उनलाई खुसी त लाग्छ, तर अरुलाई विरक्त लाग्ने सिर्जना बनाउन नपरे हुन्थ्यो जस्तो लाग्छ उनलाई । समाजलाई सजक बनाउन पनि यस्ता गीत बनाउनुपर्ने उनी बताउँछन् ।
नयाँ सपना नयाँ सहर
मनमा लिएर केही रहर
घरबाट आएँ म टाढा
आफन्त साथी सबै छोडी सारा
धेरै टाढा… ।
कर्मा ब्यान्डले करिब ६ वर्षअघि सार्वजनिक गरेको यो गीतलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ । बिदेसिने युवाको मर्म बोकेको यो गीतको भिडियोमा धेरै परदेसिएका युवाले आफ्नो कथा भनेर कमेन्ट गरेका छन् । परिवार र साथीहरूबाट टाढिएर बिदेसिएका युवालाई यो गीतले निकै छोएको युट्युबमा कमेन्ट गर्नेहरूको मत छ।
ललितपुरको भैँसेपाटीका २३ वर्षीय सन्तोष लामिछाने कोरियाको सियोल नामयाँगु सहरमा बस्छन् । उनी तीन वर्षअघि रोजगारीकै सिलसिलामा कोरियातर्फ लागेका थिए । पहिले–पहिले भाषा नबुझेर काममा निकै गाली खानुपथ्र्यो । इसारामा कुरा गर्नुपथ्र्यो । नेपालमा मसालेदार खानेकुरा खाने बानी लागेका उनलाई त्यहाँ उसिनेका खाना मात्र खानुप¥यो । बिफ र कुकुरको मासु मिसिएको खानाले उनी धेरैपटक बिरामी पनि परे । अहिले बिस्तारै उनको स्वास्थ्य अवस्था राम्रो हुँदै गइरहेको छ । ‘मेटल प्रेसमा काम गर्छु ।
घर–परिवार र देशबाट टाढा भएर दैनिक १७–१८ घन्टा काम गरेर थाक्दा र एक्लिँदा गीत–संगीतले धेरै साथ दिँदोरहेछ,’ उनी भन्छन् । ‘सुन साँइली’ उनले सुनेकोमध्ये सबैभन्दा मनपर्ने गीत हो । त्यसपछि ‘हाम्रो नेपालमा’, ‘बोल माया’ पनि उनले सुनिसकेका छन् । उनलाई कर्मा ब्यान्डको ‘नयाँ सपना, नयाँ सहर’ बोलको गीतले पनि धेरै छुने गरेको छ । हरेक शब्द आफू र आफूजस्तै वैदेशिक रोजगारमा काम गर्नेका लागि बनेकोजस्तो उनी अनुभव गर्छन् ।रोजगारीका लागि बिदेसिएका नेपालीमध्ये सरदर दैनिक दुईवटा लास काठको बाकसमा देश भित्रिन्छ ।
धन कमाउने र परिवारलाई सुखी बनाउने आसमा बिदेसिएका युवा यसरी काठको बाकसमा आउने घटनालाई गायक पुस्कल शर्माले पनि गीतको रूपमा प्रस्तुत गरेका छन् । यो गीत युट्युबमा नौ लाखभन्दा धेरैपटक हेरिएको छ भने बिदेसिएका नेपालीले त्यो गीतलाई आफ्नो गीत भनेर टिप्पणी गरेका छन् ।‘तिमीले मिसकल गर्दा १५ तलामाथि’ यो गीतमा रोजगारीका लागि जाने व्यक्तिका पीडा र उसले कमाउन थालेपछि उसको कमाइ उत्पादनमूलक क्षेत्रमा लगानी नगरी सुख–सुविधा खोज्दै परिवार सदरमुकाम छिर्ने चलनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
रोजगारीका सिलसिलामा साउदी अरब पुगेका रतुवामाई मोरङका ३३ वर्षीय सागर बस्नेत कतिपय गीतले वैदेशिक रोजगारीमा रहनेको जीवनमा दिनदिनै आइपर्ने घटना समेटेको बताउँछन् । उनी कामबाट फुर्सद भएका बेला युट्युबमा गीत सुन्ने र कहिलेकाहीँ नजिकका साथी भाइलाई सेयर गरी समीक्षा पनि गर्ने गर्छन् । ‘यी गीतले यो युगका लगभग सबैजसो घरका नेपालीको कथा बोकेका छन् ।
अरुबेला ईश्वरीय शक्ति नकार्ने आजका अति आधुनिक युवाले पनि आफू धेरै टाढा रहँदा आफ्ना प्रियलाई केही नहोस् भनेर नाम थाहा भएजति सबै ईश्वरीय शक्ति गुहार्छन् भन्ने अर्थ पनि बोकेको छ भन्ने लाग्छ,’ बस्नेत भन्छन् । साउदी अरबमा विगत ११ वर्षदेखि काम गरिरहेका उनी आफू निरीह र एक्लो भएपछि मनकै विश्वासका लागि भए पनि पूजापाठ र धूपबत्ती गर्ने नेपाली नारीले सुझाउने कुरो पनि गीतले सुन्दर ढंगले समेटेको उनी बताउँछन्।
चितवनको भरतपुर महानगरपालिका कल्याणपुरका स्थायी बासिन्दा ३२ वर्षीय अविरल यात्री अहिले संयुक्त अरब इमिरेट्सको दुबई सहरमा बस्छन् । अहिले जनसम्पर्क अधिकारीका रूपमा काम गरिरहेका उनी खाडी मुलुकमा बस्न थालेको १२ वर्ष भयो । गीत–संगीतका पारखी उनलाई अझै पनि यम बरालले गाएको ‘निष्ठुरीले छाडेर गइहाली’ बोलको गीत निकै सम्झना आउँछ।
काठमाडौं लैनचौरस्थित अमृत साइन्स कलेजमा पढेका उनको त्यतिबेला एक युवतीसँग प्रेम सम्बन्ध जोडिएको थियो । तर, उनीहरूको प्रेम सफल हुन सकेन । यात्री कामका लागि बिदेसिए भने ती युवती अन्तै बिहे गरेर गइन् । ‘आज पनि यो गीत सुन्दा मलाई मेरो बाध्यतालाई उसले नपत्याएको र उसको खुसी किन्न आफू बाहिर निस्किँदा आफू नै रित्तिएको आभास हुन्छ,’ उनी भन्छन् । उनी अझै पनि सुत्ने बेला त्यो गीत सुन्छन् र आँखा रसाएपछि सुत्छन् ।
विछोडको पीडा नसकी खप्न दसैँको बेलामा,
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा… ।
रत्नशमशेर थापाको शब्द, नारायणगोपालको संगीतमा नारायणगोपाल र दिलमाया खातीले गाएको यो गीतमा जस्तै बिदेसिएका वा बिछोडिएका सबै दसैँका बेला आफन्त भेट्न घर फर्केर आउन पाउँदैनन् । कति त काठको बाकसमै बन्द भएर आउँछन् भने कति यस्तै गीत सुनेर मन बुझाएर बस्छन् । बिदेसिएका मात्र होइन, स्वदेशमै बसेर बिदेसिएकाको बाटो कुरेर बस्नेहरू पनि विभिन्न सर्जकले सिर्जना गरेका गीत सुन्दै आफन्तलाई सम्झेर बस्छन् ।