तरुणदल बागलुङको संगठन बिस्तार अभियानमा

बागलुङ, २१ जेठ– नेपाल तरुणदल बागलुङले गाउँ गाउँमा संगठन बिस्तार अभियान थालेको छ । गत निर्वाचनमा माउपार्टी कांग्रेसको हार पछि तरुणले युवा जागरण अभियानलाई तीव्रता दिएको हो । युवाहरुलाई संगठित शसक्त र जागृत बनाउने उद्देश्यले सवै स्थानिय तह र वडा टोल सम्म संगठन विस्तार अभियान थालेको जिल्ला अध्यक्ष उमाकान्त शर्मा (बाबु)ले बताए ।
जिल्लाका सबै स्थानीय तहमा तरुणदलको भेला तथा प्रशिक्षण कार्यक्रम गर्नुका साथै नयाँ नेतृत्व पनि निर्माण थालिएको उनले बताए । अहिले सम्म तरुणदलले जिल्लाको ७ स्थानीय तहमा संगठन विस्तार तथा भेला र प्रशिक्षण कार्यक्रम गरिसकेको छ । बरेङ, ताराखोला र तमानखोला गाउँपालिका जेठ मसान्त भित्रै सम्पन्न गरिने योजना बनाईएको छ । ‘स्थानीय तह अनुसार संगठन विस्तार गरिरहेका छौं,’ उनले भने, ‘वडा र टोल तहसम्मै संगठनका सक्रिय कमिटि बन्छन् ।’ हरेक वडामा प्रशिक्षण कार्यक्रम पनि गरिएको उनले बताए । गाविसस्तरमा बनेका तरुण दलका समितिहरु केही निस्कृय छन् । नयाँ संरचना अनुसारको संगठन चाहिएकोले यो अभियान थालेको समेत उनले बताए । संगठन विस्तार सँगै शसक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितीमा राजनीतिक प्रशिक्षण कार्यक्रम चलाइएको हो ।