कालिका वन क्षेत्रमा अग्नीरेखा निर्माण

बागलुङ, २१ जेठ– प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि अग्नीरेखा बनाउने काम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको सहयोगमा कालिका भगवती गुठी व्यवस्थापन समितीले अग्नीरेखा बनाउने काम थालेको हो । झण्डै दुई किलोमिर क्षेत्रमा फैलिएको वनको छेउछाउमा अग्निरेखा बनाउने काम थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष राजु खड्काले बताए । डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्न वन तथा वातावरण मन्त्रालयसँग गुठीले बजेट माग गरेको थियो । वन क्षेत्रको संरक्षणको लागि भन्दै मन्त्रालयले यस आर्थिक बर्षको लागि २ लाख ५० हजार रुपैयाँ उपलव्ध गराएपछि रेखा निर्माणको काम थालिएको अध्यक्ष खड्काले बताए ।
अग्निरेखाका लागि २ मिटर चौडाई रहेको बाटो निर्माण गरिएको छ । दुई मिटर चौडाईभित्र रहेका काम नलाग्ने रुख, झारपात, तथा कुहीएका काठहरलाई सफा गरेर अग्निरेखा निर्माण भैरहेको छ । रेखामा पर्ने ठुला रुखलाई भने यथावत राखिने गुठीले जनाएको छ । बर्षेनि मन्दिर परिसरमा रहेको वन क्षेत्रभन्दा तल्लो भागबाट आएको डढेलोका कारण कालिका भगवी मन्दिर परिसरमा रहेको वन क्षेत्र प्रभावित हुँदै आएको थियो । ‘पहिलो चरणमा सामान्य रेखा काट्ने काम थालेका छौं’ खड्काले भने ‘मन्त्रालयले चरणबद्ध रुपमा सहयोग उपलव्ध गराउने भएकाले डढेलो नियन्त्रणका लागि थप कामहरु समेत गर्ने योजना छ ।’ मन्दिरको चारैतिरको जंगल छेउमा निर्माण हुने अग्नीरेखालाई घुमाउरो पदमार्गको रुपमा विकास गर्ने योजना गुठीले बनाएको छ ।
‘डढेलो नियन्त्रणका लागि बन्ने अग्नीरेखा पदमार्गको रुपमा विकास गर्ने योजनामा छौं’ खड्काले भने ‘चारैतिर घुमेर जंगल र अन्य पर्यटकीय क्षेत्र अवलोकन गर्ने वातावरण मिल्ने छ ।’ अग्निरेखा निर्माण भएको स्थानबाट मन्दिरको वन क्षेत्र, धौलागिरी हिमश्रृंखला, कालिगण्डकी नदी, कालिका उद्यान लगायत बागलुङ र पर्वतका मनोरम दृष्यहरु देख्न सकिने भएकाले पर्यटकहरुको लागि यो महत्वपुर्ण हुने गुठीले जनाएको छ । बहुबर्षे योजना बनाएर निर्माण हुन लागेको अग्निरेखा तथा पद मार्गमा पानीको व्यवस्थापन, बिजुली बक्ति लगायतका सुबिधा समेत जडान गरिने अध्यक्ष खड्काले बताए ।
अग्निरेखा बनाई रहेको गुठीले बन क्षेत्रका रुखको पहिचान गरेर ट्याग लगाउने कामलाई समेत एक साथ सञ्चालन गरेको छ । रुखको पहिचान गर्दै वैज्ञानिक नाम, स्थानिय नाम, संकृत नाम र बोलीचालीको भाषाको नाम लेखेर ट्याग लगाउने काम भैरहेको खड्काले जानकारी दिए । मन्दिर परिषरमा घुम्न आउने पर्यटकको लागि जंगल क्षेत्रमा रहेका रुख तथा जडिबुटीको बिषयमा जानकारी होस भन्ने अभिप्रायले ट्याग लगाने काम थालिएको हो ।