जैमिनीको पर्यटनमा विकास गर्न भन्दै हाँडीकोटमा पदमार्ग निर्माण

बागलुङ, २१ जेठ– जिल्लाको जैमिनी नगरका तीन वडाको संगमस्थलको रुपमा रहेको हाँडीकोटको धुरी पुग्ने पदमार्ग निर्माण थालिएको छ । जैमिनी नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीय लेक हाँडीकोट जाने पदमार्ग निर्माण थालेको हो । जैमिनी नगरका ७, ८ र १० नम्बर वडाको संगमस्थलको रुपमा रहेको हाँडीकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माणको काम थालिएको जैनपाले जनाएको छ । नगरपालिकाको सर्कुवा, जैदी र राङखानीको सिमानामा पर्ने व्यार्थलादेखी हाँडीकोटसम्म पदमार्ग निर्माणको काम थालिएको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए ।
पैदल हिँडेर झण्डै एक घण्टाको समयमा पुग्न सकिने हाँडीकोट पुग्न व्यवस्थित पदमार्गको निर्माणका लागि नगरपालिकाले चासो देखाएको हो । आर्थिक बर्ष २०७४÷०७५ को बजेटमा दुई लाख रुपैयाँ बिनियोजन गरेर झण्डै एक सय मिटर पदमार्ग निर्माण भैसकेको र आगामी आर्थिक बर्षको बजेटमा बाँकी काम हुने गरी बजेट बिनियोजन गर्ने योजना रहेको रानाले जानकारी दिए । ‘अहिले थोरै काम सम्पन्न भैसकेको छ’ रानाले भने ‘क्रमागत रुपमा बजेटको व्यवस्थापन गरेर व्यार्थलादेखी हाँडीकोटसम्म पदमार्ग बनाउने योजनामा छौं ।’ यस बर्षको बजेट सकिएको भएपनि पदमार्ग निर्माणको कामले निरन्तता पाउने रानाले बताए । ब्यार्थलाबाट उकालो जानुपर्ने हाँडीकोटको बाटोमा यसबर्ष ७२ वटा सिँडी बनाईएको छ ।
भुरे राजाका पाला राजदरवार रहेको हाँडीकोटमा प्राचिन महत्वका बस्तु तथा कलाहरु रहेको भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा छन् । ‘हाँडीकोटमा प्राचिन ढुङ्गामा लेखीएका हस्तकलादेखी साधुसन्तका कुटीका अवशेषहरु छन्’ उप–प्रमुख रानाले भने ‘भग्नावसेसको रुपमा रहेका यस्ता बस्तुहरुको संरक्षण र पर्यटकलाई आकर्षण गर्न पदमार्ग निर्माणले सहजता प्रदान गर्ने छ । सामुन्द्रिक सतहदेखी ३ हजार ५ सय मिटरको उचाईमा रहेको उक्त डाँडाबाट पाल्पा स्याङ्जा, पर्वत, बागलुङ गुल्मी लगायतका स्थानका मनोरम दृष्य र पोखराबाट देखिने सम्पुर्ण हिमश्रृंखलाहरु देख्न सकिने खुल्ला विश्वविद्यालयका अभियन्ता एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रमोद ढकालले बताए । पदयात्राका लागि निकै महत्वपुर्ण र धार्मिक हिसाबले समेत मठमन्दिर रहेको उक्त डाँडाको व्यवस्थापन र प्रचार–प्रसार गर्न योजना बनाईरहेको नगरपालिकाले जनाएको छ ।
हाँडीकोटमा भुरे राजाका पाला रहेको दरबारमा राखीएको ढुंगाको ढोकामा कोरीएको हस्तकला र रानीले कपाल कोर्ने बेला प्रयोग गरेको ढुङ्गाका थप आकर्षकको रुपमा रहेको रानाले जानकारी दिए । पर्यटनलाई प्रमुख आयस्रोतको रुपमा विकास गर्ने योजना बनाएको नगरपालिकाले क्रमशः पर्यटकीय स्थानको पहिचान र विकास गर्न थालेको छ । गुराँस फुल्ने हाँडीकोटमा रहेको सानो जंगलमा बिभिन्न प्रजातीका जडिबुटीहरु समेत पाईने स्थानिय बताउँछन् ।