दाङको विमान सेवा फेरि बन्द

दाङ, २२ जेठ– जिल्लाको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताए ।
तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६ सय ८० रुपैयाँ एकतर्फीरूपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ । भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन ।
समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । “अघिल्लो आइतबार काठमाडौँ जानका लागि नौजना यात्रु थिए”, तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, “उताबाट पुरानो भाडादरमा उडान भर्न नसकिने भन्दै उडान रद्द भएको बताएपछि टरीगाउँ हवाईमैदानमा जहाजको पर्खाइमा बसेकालाई पैसा फिर्ता दिएर पठायौँ ।” हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म ६ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए ।