सोचमा–एक युवाको अन्त्य

चुक घोप्टिए जस्तै चकमन्न कालो रात जसले धर्ति छोपिएको छ, कता–कता एकहोरो कुकुर भुकेको आवाज स्पष्ट सुनिन्छ अनि बिहानीको पर्खाइको खोजीमा बगिरहेको खोलाको सुस्याई, नभए मौन छ वातावरण । पातलो बस्तीभित्र सानो एउटा खरको झुपडी, त्यो पनि चारैतिर टालिएको, बर्षाद कहिले नहोस्, बर्खा कहिले नआओस्, चुहिने र टालटुल पारिएको झुपडी बोलेको भान हुन्छ । झुत्रा–झुम्रा कपडाहरु छरपष्ट छरिएका छन् भित्र, भाँडाकुँडाहरु पनि त्यस्तै । अनि धिपधिपे टुकीबाट छरिएका मधुरो प्रकाशहरु जसले भित्तामा लट्किएको प्रतिबिम्बलाई चियाइरहेको देखिन्छ, सुकेका पुष्पगुच्छाले भरिएको उक्त तस्विर सायद बिस बाइस बर्षको लाउँ–लाउँ र खाउँ–खाँउ भन्ने उमेरको हुन सक्छ । जिवनका अनुभूति बटुल्ने त्यो समय, जीवनको मर्मस्पर्शी भावनामा डुब्ने त्यो उमेर, अनि भविष्यको बारेमा नयाँ–नौलो सपनामा रमाउने त्यो उमंग निर्दयी दैवले चुडालिदिएपछि के लाग्छ र त्यो सपना । अँगेना छेउमा सेताम्मे फुलेका, टालटुल पारिएको बस्त्रमा सजिएका बुढाबुढी, अनि उनीहरुको परेलीमा टिल्पीलाएका आँशुका दानाहरु, जसले धर्तिलाई चुम्न आतुर देखिएका छन्, आफै सम्हाल्नु बाहेक अरु विकल्प छैन, एकाग्र रुपमा लोलाहित आँखाहरु भित्तामा अडिग छन्, बुढेसकालको एक मात्र सहारा मुटुको टुक्रा आज पुष्प गुच्छामा बाँधिएको बस रोइरहेको, हृदयलाई एक हातले समाल्दै टुलुटुलु त्यो प्रतिबिम्बलाई चियाइरहेका छन्, बुढेसकालका आँखाहरु ।
साहुको घरमा पन्ध्रबिस बर्ष हलि बसेर जीवनका अनगिन्ती पल पार गरिरहेका वृद्ध आमाबाबा, ठाउँ–ठाउँमा टाँलिएका कपडा अनि उस्तै जिन्दगी, आज के खाउँ र भोली के खाउँ भन्ने अवस्था, सुकुम्बासी जीवन, कति ज्यूने कसरी बिताउने, हरपल, हरक्षण, हररात सताइरहेको छ, पिरोलीरहेको छ उसलाई । कैयौं देशहरु कसरी आफ्नो देशलाई विकसित बनाउने भन्ने सोंचमा होडबाजी चलिरहेको बेला मेरो देश नेपाल उही पन्ध्रौ शताब्दीतिरै उभिएको आफ्नो आँखा वरिपरि देखेको छ उसले, हलियाप्रथा उन्मुलन गर्न पाँचतारे होटलमा बैठक बस्ने मन्त्रीहरुले के निर्णय गर्छन् भन्ने कुरा हलियाहरुको झुपडीसम्म पुग्दैन बस बैठक सकिन्छ, यसको अन्त्य गर्नुपर्छ भन्ने भाषणै सिमित रहन्छ, यसको लागि आवाज उठाउनु छ उसले । सुकुम्बासीहरुलाई लाठी चार्ज गरेर लखेटिएका दृष्य अनि ग्रैह सुकुम्बासीले हडपेका जग्गा जमिनको बारेमा पनि आवाज उठाउनु छ उसले । दलित भित्रको द्वन्द्व जो निमुखा दलित छ जसको जग्गा जमिन छैन उसले आरक्षण पाउनुको साटो यहाँ धनिमानी दलितले आरक्षण पाइरहेको अवस्था छ, हो यसको लागि आवाज उठाउनु छ उसले । आँट, हिम्मत र साहस लिएर यो देशलाई परिवर्तन गर्नुछ । यो देशको मुहार फेर्नु छ जसको लागि एउटा सच्चा क्रान्तिकारी नायकको खाँचो छ यस देशलाई । त्यसैले हामी प्रत्येक नेपाली नागरिक एकजुट हुनु आवश्यक छ भन्ने उसको विचार । गाउँ–गाउँबाट, गल्ली–गल्लीबाट परिवर्तनको विगुल फुक्दै सिंगो नेपाल हराभरा बनाउनु पर्ने छ भन्ने उसको अठोट प्रयास । प्रष्ट देखिन्छ उसका आँखामा परिवर्तनका ज्वालाहरु दन्किरहेको ।
आफूलाई जन्मदिने ति बुढेसकाल लागेका बाबाआमा जसले दुःख कष्टका साथ हुर्काए, बढाए, पढाए जसलाई आज मेरो साहाराको खाँचो छ अनि उनीहरुमा आशा पलाएको होला अवश्य पनि छोराले हामीलाई सुखी र खुशी दिने छ भन्ने । तर उसको विचार मेरा जस्ता दुःखमा झेलिएर बाँचेका कैयौं आमाबाबा यो देशमा छन्, यो धर्तिमा दसनंग्रा खियाएर दुई छाकको निम्ति दिन कटाइरहेका होलान ति मजदुरहरुको परिश्रम जसको आज कुनै मूल्य र मान्यता छैन । हो त्यसको लागि लड्नु पर्छ म अनि म जस्ता कैयौं छोराहरु, यस देशमा परिर्वतन ल्याउनको खातिर उग्ररुप लिएको छ, उसको विचारले आँशु र पीडामा रुमलिएको यो जिन्दगी जसबाट छुटकारा पाउनको लागि लाचार अनि विवश छ ऊ । किनकि वृद्धा आमाबाबालाई चटक्क छोडेर जानुको पीडा छ मनमा भने देशलाई परिवर्तनको शिखरमा पु¥याउने सोंच छुट्टै छ । मध्यरात विरालोको चालमा सुस्त–सुस्त उसका पाइला अघि बढ्दैछन्, दिनभरिको थकानले निद्रादेवीको काखमा लुटपुटिएका वृद्वा आमाबालाई प्रणाम गरी देशमा परिवर्तन ल्याउनको लागि शान्तिको दियो बाली उज्यालो बनाउने कल्पनाका साथ आज आफ्नो जन्मस्थान छाड्न बाध्य छ ऊ ।
चारैतिरबाट लुछिरहेको यो अवस्था, कोपीरहेको यो अवस्था अनि चिथोरीरहेका छन् यो देशभित्रका अनि यो देश बाहिरका गिद्धहरुले । तर पनि कति सहेकी होलीन त्यो पीडा अनि लुकाएर कति बस्न सकेकी होलिन नेपाल आमा । तर यही देशका नालायक बाउहरु तमासे बनेर हेरिरहेका छन् त्यो पीडा र दुःखमा छट्पटाइरहेकी नेपाल आमालाई । धिक्कार छ ति बाउलाई । आफ्नै चिचिला–बिचिला छोराहरुको त्यो हरिविजोग, खान नपाएर भोक–भोकै नाङ्गो शरिरमा चिच्याइरहेका ति बालकहरु, उनीहरुको चिच्याहट र रोदनमा रमाउने लाछी बाउहरु हो ! धिक्कार छ तिमीहरुलाई यो देशमा जन्मिएकोमा लामो सुस्केरा हाल्दै एउटा चौतारीमा विश्राम लिन पुग्छ । कति सुन्दर छन् गाउँबेशी, हरियाली वनपाखा अनि खोलाको सुस्याई सबै कुरा प्रकृतिले उपहार स्वरुप दिएको छ । कस्तो लाजलाग्दो कुरा छ जसको सुदपयोग गर्न नसक्नेहरु देशमा हुकुम चलाइरहेका छन् । दिन दहाडै बलात्कारका घटनाहरुले उग्ररुप लिएको छ, थाहा छैन । हजारौं चेलीहरु भारतको कोठीमा बेचिएका छन् थाहा छैन । कुन देशमा आफ्नो परिश्रम बेचिरहेका छन् युवायुवतीहरु थाहा छैन । दिन–दिनै सिमा मिचिएको छ थाहा छैन । बोक्सीको आरोपमा महिलालाई आगो लगाइन्छ थाहा छैन । पढ्ने उमेरका बालबालिकाहरु गिटी कुटिरहेका छन्, ईट्टा बोकिरहेका छन् थाहा छैन । बस थाहा छ त कुन देशमा भ्रमण जाने हो, कुन ठाउँमा उद्घाटन गर्ने हो, कहाँ भाषण गर्ने हो । सिटामोल र जीवनजलको अभावमा छट्पटिएको मेरो देश हो, पानीको अभावमा तिर्खाएको मेरो देश हो, खेतीयोग्य जमिनहरु धुजा–धुजा परेको मेरो देश हो, गरिवी र अशिक्षाले गाँजेको मेरो देश हो, लुटतन्त्र र घुसतन्त्रमा रमाएको मेरो देश हो, लोकतन्त्र र गणतन्त्रको नारा बोकेको मेरो देश हो, संघीयताको भार थेगेको मेरो देश हो । देशको लाचारीपनको बारेमा सोँच्दा सोँच्दै त्यो युवा अर्धचेत अवस्थामा लडिरहेको छ, जसलाई पानीसम्म खुवाउने कोही नभएपछि उसले देखेका देश विकासोन्मुख भएको देशमा समृद्धि छाएको अनि देशले शान्तिको काँचुली फेरेको त्यो सपना तुहिन पुग्यो अन्तमा संसारदेखि विदा लिन पुग्छ । कालो रात, खोलाको सुस्याई, मौन वातावरण अनि आँखाको डिलमा टिलपिलाएका ति बृद्धा आमाबाको आँशु छोराको फोटोमा तप–तप चुहिरहेको धिपधिपे प्रकाशमा प्रस्ट देखिन्छ ।