ढलेको विद्रोह

मैले उन्मुक्तिको नारा लाउन
उसै दिन छाडिदिएँ मेरी आमा
जब बुख्याँचाहरूको बस्तीमा
तिम्रो चिच्याहट विलीन भयो ।
तिम्रो अस्मिताको लुटमा
यो सहरले खुसी मनाइरह्यो ।
अनि
रङ्गीन साँझका लागि ओछ्याइए
तिम्रा कुमारी छोरीहरू
मैले विद्रोह त्यसै दिन छाडिदिएँ मेरा बा
जब
तिमीलाई कठपुतली बनाएर
रगतको होली मनाए राक्षसहरूले
तिमी उचालियौ र बजारियौ भुइँमा
तमासेहरूको भीडमा काटियो फेद
टुप्पोमा चडाएर तिमीलाई
उन्मुक्तिको नारा उन्मुक्त हुन
काफी नदेखेपछि
विद्रोही स्वर न्याय प्राप्तिको
मिसाल नभेटेपछि नै हो
मेरा बा
मैले शालीन र शान्त भएर
तिम्रा प्रत्येक रगतका छिटाहरूको
बदला चाहेको

लाचार बेश्या बनेर पाई पाई हिसाब खोजिरहेछु
तिम्रो अस्मिताको
मेरो भाइको अर्थी उठेको दिन
दाइको चिता बलेको दिन
अनि दिदी बलात्कृत भएको दिन
यो दुनियाँले मनाएको तिहार सम्झेरै हो
मैले युद्ध त्यागिदिएको
रगत उमाल्ने सङ्गीतले
आजकल मलाई छुँदैछुँदैन
मैले उमालेर पोखाउनेहरूको
बस्ती नियालिसकेँ
मौनताको तागत बुझेरै हो
मेरा बा
मैले होहल्ला छाडिदिएको
र प्राप्त गरेको हुँ मोक्ष ।