जर्बजस्ती करणी गर्ने दुई युवा पक्राउ

पर्वत, २२ जेठ– अपांग बालिका र युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जर्बजस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको होभने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जर्बजस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन् । म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस–१ स्थायी भई पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा बस्ने २६ वर्षीय मंगले भन्ने अनिल विकलाई प्रहरीले जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । बिकले शुक्रबार राती १० बजे कुश्मा नगरपालिका–४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाउँमा लगेर १७ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५०० मिटरको दूरीमा पर्छ ।
पीडित युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो भने पीडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ । यसैगरी जलजला गाउँपालिका–७ का २० वर्षीय बाबुराम परियारलाई पनि १३ वर्षीया अपांग बालिकालाई जर्बजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । परियारले आइतबार बिहान १० बजेको समयमा पीडित बालिकाको घरमै पुगेर जर्बजस्ती करणीको प्रयास गरेका थिए । त्यतिनै बेला पीडितकी आमाले देखेपछि उद्धार गरेर प्रहरीमा खबर गरेकी थिइन् । पीडक परियारलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । पर्वतको कुस्मा नगरपालिका–८ चुवाका दुर्गाबहादुर क्षेत्री आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा शनिबार मात्रै पक्राउ परेका थिए । पीडक दुर्गा बहादुर क्षेत्रीकी श्रीमती घरमा सुत्केरी अवस्थामा छिन् ।