बोल माया…यो देशको यथार्थ

सृजनाले समाजका कुरा उठाउने मात्र होईन कहिले बाहिर हाँसे पनि भित्र रुवाउँछ भने कहिले बाहिर रुवाए पनि भित्र हसाँउछ । शब्द भावसँग मिल्न गयो भने सृजनाका विविधतामा रुवाई भेटिन्छ । कवि नवराज पराजुलीको ‘हेप्पी बर्थडे आमा’ कविता सुनेर आँसु नझार्ने को होला । “घर भरी सबै भएको बेला म तिमीलाई सम्झिन्छु, घरमा कोही नभएको बेला म तिमीलाई सम्झिन्छु । म छु भन्दाको दिन म तिमीलाई सम्झिन्छु, मर्छु कि जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु । यि हरफ सुन्दा आँसु झरेको थियो । गीतले त झन् नरुवाउने कुरै भएन । सुन्दा रुने गीतका शब्द भोग्नेलाई कस्तो हुन्छ होला । बैदेशिक रोजगारमा गएका नेपालीहरूको लाश बिमानस्थलमा आउन थालेको बर्षौ भयो । करीब छ जना हरेक दिन काठको बाकसमा आउने गरेको भनिन्छ । बाकसमा समालेर पठाउन नसक्ने गरी मरेका, हराएका, पठाउनै आफन्त नभएका, मरेको लाश सनाखत नै हुन नसकी बिदेशी भुमिमा उडेको सासहरू कति छन् कति ।
लोक गायक प्रकाश सपुत भाई र बैनी शान्ति श्री परियारले गाएको ‘बोल माया’को गीत एक्कै पटकमा हेर्न सक्ने क्षमता धेरै कममा होला । गीत सुरू नहुँदै दृष्यले रुवाउने यो गीत आफ्नै जिल्लाको ब्यथा भएर पनि होला । करीब ५ पटकमा पुरा हेरेर सकें । गीतका शब्द, संगीत र अभिनय केलाउने सबैका आ–आफ्नै फरक–फरक हेराई र बुझाई होला तर दृष्य नै यति सशक्त छ कि शब्दमा जानै पर्ने छैन । बेलायतको एक कार्यक्रममा उपन्याकार अमर न्यौपानेले भन्नुहुन्थ्यो कथा त समाजमा जताततै छन् तर त्यसलाई कसरी बुन्ने त्यो ठुलो कुरा हो । त्यस्तै बाकसमा मान्छे आएको कुरा नयाँ थिएन, जसको परिवारमा यो घटना आईपर्यो उसैलाई अलि बढी पिडा भयो अरूले साहनुभुती दिएपछि सकिन्थ्यो । गत दुई महिना अघि एउटै परिवारका तीन जना बिदेशी भुमीमा मरे र लाईन लागेर काठको बाकसमा लाश आयो म्याग्दीमा । गाउँ नै शोकमग्न भयो । यसरी आमाको कोख, श्रीमतीको सिन्दुर रित्तिन थालेको धेरै बर्ष भएको छ तर यो गीतले तिनै ब्यथालाई वृतचित्र जस्तो देखाई दियो ।
बिदेशीएका बाबुआमालाई लामो समयमा फर्केर आउँदा बाबु वा आमालाई यो तेरो बा वा आमा हो भनेर हजुरबा हजुरआमाले चिनाउन पर्ने स्थिति छ । जाँदा एकल आउँदा बच्चासहित आएका हाम्रा चेलीबेटीका कथा कति कष्टकर छन् । बोल माया गीतमा माया यहाँ श्रीमतीले श्रीमानलाई देखाईएको छ । यही दृष्यमा कति आमाले बोल छोरा भन्नु परेको छ, कति बाले बोल छोरा भनेका छन्, कतिले बोल्नुस् दाई भन्छन् तर बाकसका लाशहरू चुपचाप नै रहेछन् । यो गीतले हाम्रो देशको बास्तविकता देखाएको छ । देशैभरि कतै न कतै आज यो लेख पढ्दा पनि कसैको लाश आएको खबर पाउनेछन् । यहाँ लाश थोरै भएका भए मरेको लाश पाउन समेत महिनौं लाग्ने थिएन । श्रममन्त्री गोर्कण बिष्टले यसरी आउने लाश बुझ्न छुट्टै कक्ष संचालनमा ल्याउन निर्देशन दिएका छन् र संभवतः तयार पनि भए होला । अब लाशका लागि घुस खुवाउनु पर्दैन होला पक्कै । बोल मायाले देशको दुर्गम स्थानमा कसरी लाश पुर्याइन्छ भन्ने समेत देखाएको छ । हाम्रा बाटा, हाम्रा बस्ती र सास्ती समेत चित्रण गरेको छ । बिदेशमा यसरी आउने लाशलाई राज्यले नै उनीहरूको घरसम्म पुर्याउने व्यवस्था रहेको छ । नेपालमा भने लाश बोक्न रकम दिईन्छ होला तर व्यवस्था भने पिडितले आँसु पुछ्दै गाडीको जोहो गर्नुपर्छ ।
बोल मायामा अझै त्यो परिवारको कथा बाँकी छन् । एकल महिलाका रुपमा ति महिलाले अब कसरी समाजमा बस्छिन । गीतमै भनेको छ की समाजले अब अलछिनी भन्छ भन्ने कुरा । समाजमा अझै पोई टोकुवाका रुपमा एकल महिलालाई हेर्ने कुदृष्टी जीवितै छ । यस बाहेक गर्भमै रहेको त्यो अबोध बच्चा नजन्मँदै गर्भे टुहुरो, कतै बाउ खाएर आएको भन्ने भोली सम्मका लागि दाग लिएर जन्मँदैछ । खरको छाना रहेका कति घरमा दिउँसभरि घाम छिर्छ अनि रातभरी तारा छिर्छन् । धनीले कौसीमा लगेर आफ्ना छोराछोरीलाई तारा देखाउँछन् तिनै तारा गरीबका ओछ्यानमै आईपुग्छन् । यिनै तारा छेक्न बिदेश पुगेको छोरा यसरी बाकसमा आउँदा कसरी बाँचेका छन् ति तमाम वृद्ध बाबुआमा यो पनि गीतको बाँकीका पाटा हुन सक्छ । बोल मायामा श्रीमतीले जसरी मध्यरातसम्म आवाज ठप्पै हुने बेलासम्म बोल्न आग्रह गरिरहेकी थिईन श्रीमानलाई, त्यही बेला कुरुवा सबै सुतेका थिए । समाज भनेको यस्तै हो एक दिन कसैले निद्राको माया मार्न सकेनन् जहाँ बाआमाले छोरा र श्रीमतीले श्रीमान माया मार्दै थिईन बोल माया भन्दै । समाज कति त्यागी छ अरूको लागि यहिँबाट थाहा हुन्छ ।
गत बर्ष एउटा चालिस कटेपछि रमाउँला भन्ने गीत खुव चर्चामा रह्यो । यो पटक बोलमाया । यी दुबै गीतले बिदेशीएका युवा युवतीको आवाज बोलेको छ । यो बोल मायाको कथा पत्रिकामा पढेकै होलान् नेताहरूले तर पनि एक पटक संसद भवनमा लगेर देखाउन आवश्यक छ । हुन त नेताहरू गाई मर्दा पनि रुन्छन् निकै भावुक छन् । चार करोड पैसा एक्लै बाँडफाँड गर्न नपाउने भएपछि जुम्लाका एक सांसद संसदमै रोए । यस्ता घटनाहरूमा रुने हाम्रा नेताहरू खास गरी यिनीहरुकै कारण यसरी बाकसमा लाश र जीवन बिल्लीबास भएको अवस्था छ । आशा गरौं, अबको केही बर्षमा यस्ता गीतहरू बजारमा सुन्न नपरोस् ताकी नेपालमै रोजगारी मिलोस् र ति आमाबा र श्रीमतिहरूले कहिलै कसैका अगाडी अलछिनीको आरोप खेपेर सेतै भएर जीवन बिताउन नपरोस् ।