सहकार्य आवश्यक

गत चैत्रको ९ गतेदेखि सञ्चालनमा आएको बलेवा बिमानस्थल सञ्चालन भएको केही हप्ताबाहेक सुनसान जस्तै छ । हप्तामा दुई उडान हुने बिमानस्थलमा निकै कम चहलपहल देखिने गरेको छ । बिमानस्थलको सुरक्षाका लागि बसेका सुरक्षाकर्मी र बिमानस्थल सञ्चालनका लागि बसेका केही कर्मचारीबाहेक बिमानस्थल आसपासमा उडान नभएका दिनमा सुनसान हुनु स्वभाविक कुरा हो तर उडान भर्ने दिनमा समेत बिमानस्थल सुनसान हुन थालेपछि सारोकारवालामा चासो बढेको छ । केही सञ्चारमाध्यमले बिमान सञ्चालन पछिको अवस्थाका बिषयमा समाचार सम्प्रेषण गर्दा यात्रुको चहलपहल नरहेको बिषयलाई प्रमुखताका साथ समाचार बनाईसकेका छन्भने स्थानिय सर्वसाधारणमा बिमानस्थलबाट हुने उडानमा यात्रु नपुगेर निरन्तर बागलुङ नगरपालिकाले सोधभर्ना गर्नुपरेकोमा चिन्ता व्यक्त गर्न थालेका छन् । हरेक हप्ताको आईतबार तारा एयरलान्स र बिहिबार नेपाल एयरलायन्सले उडान गरिरहेको बिमानस्थलमा यात्रुको संख्या निकै कम हुने गरेको बिमानस्थल स्रोतले बताउँदै आएको छ ।
सुरुमा नेपाल एयरलायन्सले ६ हजार ३ सय र तारा एयरलान्सले ६ हजार पाँच सय रुपैयाँ एकतर्फी भाडा दिँदै आएकोमा नगरपालिका तथा सरोकारवालाको निरन्तरको पहलले नेपाल एयरलान्सले भाडा दरमा समायोजन गरेको भएपनि हालसम्म तारा एयरलायन्सले भाडामा पुर्नविचार नै गरेको छैन । सुरुदेखि नै अबैज्ञानिक र अव्यवहारिक भाडादर भयो भनेर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानहरुमा आवाज उठाईरहेका बागलुङ तथा आसपासका सर्वसाधारणले बलेवाहुँदै काठमाण्डौ र काठमाण्डौदेखि बलेवा आउने तत्परता नदेखाएका कारण बिमानस्थल सुनसान बन्न पुगेको हो । बागलुङ बजार तथा आसपासका जिल्लाबाट ट्याक्सी चढेर पोखरा र पोखराबाट काठमाण्डौ हावाको बाटो प्रयोग गर्दा समेत बलेवाबाट जहाज चढ्दा भन्दा कम खर्च लाग्ने भएकाले पनि बलेवादेखि काठमाण्डौ बिमानको यात्रा गर्न सर्वसाधारण हिच्कीचाएको देखिन्छ । अर्को पक्ष जिल्ला सदरमुकामबाट बिमानस्थल सम्मको कच्ची सडक हलुका सवारी साधनका लागि निकै कष्टपुर्ण रहेकाले पनि बिमानस्थलमा बिमान सञ्चालनमा चुनौती देखापरेको छ । सुरुवातीमा बिमान सञ्चालनमा आउँदा सञ्चालनको जस लिनका लागि होडबाजी गरेका केही सामाजिक पद धारण गरेका व्यक्तिहरुले बिमानस्थल सञ्चालनका लागि आवश्यक पुर्वाधार के हो भन्ने कुरामा हेक्का नराखेका कारण पनि यो समस्या पैदा भएको हो ।
आवत–जावत दुबै उडानमा बिमान कम्पनीलाई यात्रु संख्या नपुगेर घाटा भएमा घाटाको सोधभर्ना नगरपालिकाबाट गर्ने गरी भएको सहमती अनुसार हालसम्म बागलुङ नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ व्यभार व्यहोरी सकेको छ । यदि बिमानस्थल सञ्चालनको लागि थप प्रचार–प्रसार र यात्रुमा जागरुकता नआउने होभने २६ बर्षसम्म बन्द अवस्थामा रहेर ठुलो मेहेनतले सञ्चालनमा आएको बिमानस्थल पुनः बन्द हुने अवस्थामा जानेछ । बिमानस्थल बागलुङ नगरपालिका मात्रै हैन बागलुङका अन्य स्थानिय तह र आसपासका जिल्ला पर्वत र म्याग्दीको समेत सरोकारको बिषय हो । बिमानस्थल सञ्चालनमा लागेको घाटा पुर्ती, बिमान कम्पनीहरुले लिईरहेको भाडामा समायोजन, बाटो लगायतका आवश्यक पुर्वाधारको निर्माण र यात्रुको संख्या बढाउनका लागि सबै तहले बागलुङ नगरपालिकालाई सघाउन आवश्यक छ । धौलागिरीको गौरवको रुपमा रहेको बिमानस्थल नियमित सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण र यात्रु संख्या बढाउन सबै तह लाग्नु जरुरी छ ।