प्रधानमन्त्रीद्धारा ‘एक नेपाली-एक फलफूलको विरुवा’ अभियान सुरु

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण

बागलुङ, २२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन । विश्व वातावरण दिवशको अवसरमा मंगलवार सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गरेका हुन ।
अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिएको जानकारी दिए । “सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।” फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ” प्रधानमन्त्री ओलीले भने ।
सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका छन ।