सात करोड लगानीमा बुटवलमा नाटकघर बनाइदै

बुटवल, २२ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नाटक घर बन्ने भएको छ। तिलोत्तमा नगरपालिका २ मा रहेको शंकरनगर सामुदायिक वनको १२ कठ्ठा क्षेत्रफलमा नाटकघर बन्नेछ । निर्माणकार्यको अन्तिम तयारी भएको नाटकघर २०७६ मा सञ्चालन गरिने समेत जनाइएको छ ।
सो नाटकघरभित्र लोपोन्मुख लोकबाजा,पोशाक,गेष्टरुम,पराम्परागत शैलिको संरचनाहरु,आबासहरु समेत निर्माण गरिने छ । सार्वजनिक निजी साझेदारीअन्तर्गत साधना सांस्कृतिक कला केन्द्रले नाटकघर बनाउन लागेको संस्थाका सञ्चालक तथा नृत्यकर्मी संघ नेपाल रुपन्देहीका अध्यक्ष अनु रजकले बताए ।
‘हामीले बनाउने नाटकघरमा स्थानीय कलाकारले पनि चान्स पाउनुहुनेछ,यस्ले लोकसंस्कृती र नेपाली पहिचानको रक्षा जगेर्ना गर्नेछ’ उनले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने । संग्रहालयमा अडियो ,भिडियो पुराना सबै प्रकारका बाजाहरु समेत राखिने छ । निर्माण पश्चात प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने र कलाकारहरुलाई सरकारी जागिरको ब्यवस्थासमेत हुनेछ । प्रदेशको नाचघरको रुपमा स्थापना गर्न तिलोत्तमा नगरपालिकासंग सम्झौता भइसकेको जनाइएको छ ।