महिलाभन्दा पुरुषमा बाँझोपन धेरै

लिंग : पुरुष ।
उमेर : ५२ ।
पेसा : शिक्षण ।
वैवाहिक अवस्था : विवाहित ।
श्रीमती : चार ।
कान्छी श्रीमतीको उमेर : १८ ।
पहिलो, दोस्रो र तेस्रो श्रीमतीबाट सन्तानसुख नभएपछि एक शिक्षकले चौथोपटक बिहे गरे । बाँझोपनबारे चेक–जाँच नगरे पनि आफू ठीक भएको धादिङे शिक्षकको जिकिर थियो । चिकित्सकले चेक–जाँच गर्दा उनको शुक्रकीट नै थिएन । चौथो बिहे गर्ने शिक्षकको बाँझोपनले तीन-तीन श्रीमतीलाई कत्ति पीडा भयो होला ? पुरुषमा पनि बाँझोपन हुन्छ भनेर जनचेतना नहुँदा पारिवारिक विखण्डन भएको छ । कतिपय महिला घरबाट निकालिएका छन् । कतिपयलाई बाँझी भनेर घरमा गरिने शुभकार्यबाट टाढै रहन सुझाइन्छ । बाँझोपनले निम्त्याएको पारिवारिक विखण्डन र तनाव डरलाग्दो देखिन्छ ।
नेपालमा १५ प्रतिशत महिला र पुरुषमा बाँझोपन देखिएको छ । बाँझोपन हुनुका दुई कारण छन् । पहिलो कारण– महिला हुन्छन् भने दोस्रो कारण– पुरुष । पछिल्लो समय महिलाभन्दा पुरुषमा बाँझोपन धेरै देखिएको छ ।
कारण ?
‘जीवनशैली नै हो,’ डा. तुम्ला शाहले भनिन्, ‘धूमपान, मद्यपान, खानपानलगायतले पुरुषमा बाँझोपन बढी देखिएको हो ।’ जीवनशैलीबाहेक पुरुषमा बाँझोपन हुनुका कारण उसको जनेन्द्रियमा ट्युमर, ‘सिस्ट’ छ भने शुक्रकीट बग्ने बाटो बन्द हुन्छ । त्यसो भएपछि शुक्रकीटको मात्रा कम हुन सक्छ । शुक्रकीट ठीक मात्रामा भए पनि ‘नर्मल’ नहुन सक्छ ।
किन त्यस्तो हुन्छ ?
सम्बन्धित पुरुषको पेसागत कामले असर पार्दोरहेछ । जस्तै ? ‘वाल पेन्टर, इलेक्ट्रिसियन, एक्स–रे, एमआरआईसँग सम्बन्धित रहेर काम गर्ने पुरुषको शुक्रकीटको मात्रा कम देखियो,’ डा. शाहले थपिन्, ‘शुक्रकीट ठीक छ भने एबनर्मल (डब्बल हेड, पुच्छर नभएको) शुक्रकीट पाइएको छ ।’
महिलामा चाहिँ ?
‘महिलामा बाँझोपन देखिनुका कारण पनि पुरुषको भन्दा फरक छैन,’ उनले प्रस्ट्याइन्, ‘सर्वप्रथम त जीवनशैलीसँग सम्बन्धित छ । उनीहरूले पनि धूपमान, मद्यपान गर्छन् ।’ त्यसबाहेक तनावले महिला र पुरुषमा बाँझोपन बढिरहेको हो ।
‘कतिपय महिलाको जन्मदै पाठेघर हुँदैन । कसैको पाठेघर सानो हुन्छ,’ महिलामा बाँझोपन देखिनुका अन्य कारण अथ्र्याउँदै उनले सुनाइन्, ‘जन्मदै पाठेघर नभएको र सानो भएकाको बालबच्चा हुँदैन ।’ महिलाको जनेन्द्रियमा संक्रमण भएमा सेतोपानी बग्ने, तल्लोपेट दुख्ने हुन्छ । त्यतिमात्रै होइन, ‘ट्युब’ (शुक्रकीट र डिम्ब मिलन हुने ठाउँ) ‘ब्लक’ हुन्छ । ‘ट्युब ब्लक’ भयो भने पनि गर्भ रहँदैन । गर्भ रहन ट्युब खुला हुनुपर्छ ।’

तनावले बाँझोपन
मानसिक तनावले पुरुषको शुक्रकीटको मात्रा घट्न सक्छ भने महिलाको हर्मोन ‘डिस्प्यारेन्स’ हुन्छ । तनावले महिलाको हर्मोनमा थुप्रै असर पारिरहेको हुन्छ । तनावले पुरुषको एन्ड्रोजिन हर्मोनमा समेत त्यत्तिकै असर पार्छ । हर्मोन कमीले पुरुषको शुक्रकीटको मात्रामा असर पारिरहेको हुन्छ ।
५०÷५० प्रतिशत कारणले महिला र पुरुषमा बाँझोपन देखिन्छ । गाउँ र सहर दुवैमा बाँझोपनको मात्रा उस्तै छ । सहरका जँचाउन आउँछन् । गाउँका आउँदैनन् । गाउँकालाई पुरुषमा पनि बाँझोपन हुन्छ भन्ने जानकारी छैन ।
पाठ्यक्रममै बाँझोपन
बिहेपछि वर्ष दिनसम्म परिवारनियोजन साधन प्रयोग नगर्दासमेत बालबच्चा पैदा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । बाँझोपनबारे पाठ्यक्रममै समेट्नुपर्ने डा. शाहको मान्यता छ । त्यसो गर्न सकेमा बाँझोपनले निम्त्याउने डरलाग्दो अवस्था कम गर्दै लैजान सकिन्छ । बाँझोपन हुँदैमा आकाश खसिहाल्दैन । यसको उपचार नेपालमै सम्भव छ ।
उपचार पद्धति
पुरुषका सन्दर्भमा हर्मोनको कमीले शुक्रकीटको मात्रा कमी भए हर्मोन दिइन्छ । ‘उनीहरूलाई जीवनशैली परिवर्तन सल्लाह, सुझाव दिन्छौं,’ २२ वर्षदेखि बाँझोपन उपचारमा संलग्न डा. शाहले भनिन्, ‘तर, पेसा व्यवसाय परिवर्तन गर भन्न सक्दैनौं । चिकित्सकको सुझाव आत्मसात् गर्दा धेरैलाई सन्तानसुख भएको छ ।’
बाँझोपनको उपचार पद्धति महिला र पुरुष दुवैको उस्तै हुन्छ । उपचार पद्धतिभन्दा पहिले बाँझोपनका कारण पत्ता लगाइन्छ । पुरुष जनेन्द्रियमा ट्युमर वा सिस्ट छ भने शल्यक्रिया गर्नुपर्छ । शुक्रकीट बग्ने नली (भास) बन्द भएको हो भने शल्यक्रिया गरेर खोल्नुपर्छ ।
महिलाका सन्दर्भमा ‘ट्युब ब्लक’ छ भने शल्यक्रिया गरेर खोल्नुपर्छ । पाठेघरमा ट्युमर वा सिस्ट छ भने शल्यक्रिया गर्नैपर्छ । हर्मोन ‘डिसप्यारेन्स’ हो भने हर्मोन दिनुपर्छ ।
बाँझोपन भएका महिलाका हकमा सर्वप्रथम पाठेघरको आकार हेरिन्छ । ‘जेनरल कन्डिसन’ थाहा पाउनुपर्यो । त्यसपछि रक्तपरीक्षण, दिसा, पिसाब जाँच गरिन्छ । भिडियो एक्स–रे गरिन्छ । यसले मोटामोटी समस्या पहिचान हुन्छ । पाठेघर सानो वा जन्मदै पाठेघर नभएको थाहा हुन्छ । पाठेघर सामान्य वा ठूलो हो भने प्रस्ट हुन्छ । ट्युमर वा ‘सिस्ट’ उम्रेकोसमेत पत्ता लाग्छ । थाइराडड परीक्षण अनिवार्यजस्तै भएको छ । थाइराइडले समेत बालबच्चा जन्मदैन ।
त्यसपछि ‘ट्युब ब्लक’ छ कि छैन भनेर हेरिन्छ । पुरुषको शुक्रकीटको मात्रै एकदमै कम छ भनेमात्रै टेस्ट्युब बेबीमै जानुपर्छ । उपचार खर्च 
कसैकसैलाई दुई-चार सयको औषधि सेवन गराउँदै गर्भवती हुन्छन् भने कतिपयलाई १५÷२० हजार रुपैयाँ खर्चेर उपचार गराउँदा पनि सम्भव भइरहेको हुँदैन । उपचार खर्च प्रत्येक व्यक्तिमा निहित हुन्छ । उनको समस्याअनुसार औषधोपचार गर्नुपर्ने भएकाले त्यहीअनुसार खर्च हुन्छ । उदाहरणका लागि ‘ट्युब ब्लक’ छ भने शल्यक्रिया गर्दा खर्च हुने नै भयो । ट्युब ब्लक खोल्दा ल्याप्रोसकोपी सर्जरी गरे ३५ देखि ४० हजार र ओपन सर्जरी गर्ने हो भने २५ हजारजति लाग्छ । उपचार खर्च अस्तालअनुसार हुन्छ । उपचार सरकारी कि अस्पतालमा गराउने त्यसमा भर पर्छ ।‘बाँझोपन उपचारका लागि पुरुष आउनै चाहँदैनन्,’ उनले खुसी व्यक्त गरिन्, ‘पछिल्लो समय पुरुष सकारात्मक देखिएका छन् । उनीहरू पनि चिकित्सकसँग परामर्श लिन थालेका छन् । सुखी परिवार क्लिनिकले बाँझोपन उपचारका लागि आउने महिलालाई श्रीमान् अनिवार्य उपस्थित गराउनुपर्ने प्रावधान छ । नत्र उपचार गरिँदैन । श्रीमान् श्रीमतीको जाँच गरेपछि समस्या कसको हो भन्ने पत्ता लगाउन सजिलो हुन्छ ।’ बाँझोपनले नेपाली महिला पीडित देखिन्छन् । ‘महिलाले महिलालाई सहयोग गरेका छैनन्,’ २५ हजारजनालाई सन्तानसुख दिएकी उनको एउटै सपना छ, ‘नेपाली महिला सबै आमा बनेको हेर्न, सुन्न र देख्न पाऊँ ।’