गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

सिंगापुरमा शिखर वार्ता

बागलुङ, २२ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई नेताबीच यही महिना (जुन १२) मा सिंगापुरमा पहिलोपटक भेट तथा शिखर वार्ता हुँदैछ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र किमको भेटवार्ताको दौरान सुरक्षाका लागि सिंगापुर सरकारले गोर्खाली सेना खटाउन लागेको हो। सिंगापुरका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार ट्रम्प र उनबीच भेटवार्ता हुने स्थान, होटेल र सडकहरुमा गोर्खाली सैनिकलाई खटाइएको छ।
ट्रम्प र उनले आ–आफ्ना सुरक्षाकर्मी लिएर आउने भएतापनि बाहिरी भागको सुरक्षाका लागि सिङ्गापुरले प्रहरीसँगै गोर्खाली सैनिक खटाएको उक्त अधिकारीले बताए। सिङ्गापुर आर्मीका विशेषज्ञ टिम हक्सलेले गोर्खाली सैनिक सबैभन्दा शक्तिशाली रहेको बताउँदै सुरक्षाका लागि उनीहरुलाई खटाइने बताए।
यस्ता महत्वपूर्ण कार्यक्रमका लागि विशेष सुरक्षा आवश्यक पर्ने हुँदा सोही अनुसार गोर्खाली सैनिकहरुलाई तालिम दिएर योग्य पारिएको हक्सलेको भनाई छ। उनले गोर्खाली सैनिकहरु विगत लामो समयदेखि सिङ्गापुरको नेतृत्वको सम्पत्तिका रुपमा रहेको पनि उल्लेख गरे।सिङ्गापुरमा ६ अर्धसैन्य कम्पनीमा करिब १८ सय गोर्खालीहरु कार्यरत छन्।