मुल्यबृद्धिको बिरोध गर्दै नेविसंघको ज्ञापनपत्र

बागलुङ, २३ जेठ– नेपाल विद्यार्थी संघ बागलुङले महंगी विरुद्ध सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार बागलुङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा सरकारको ध्यानाकर्षण गराएको हो । केपी ओली नेतृत्वको सरकार गठन भएपछि जनताले दिन दिनै पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बजारका अन्य बस्तुमा समेत महंगी खेप्नु परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन पनि आग्रह गरेको हो । ‘पेट्रोलियम पदार्थमा मात्र ५ पटक मूल्य बढाएको छ’ संघका अध्यक्ष खड्ग थापाले भने, ‘दैनिक उपभोग्य, खाद्यान्न लगायतका बस्तुमा पनि चरम मूल्य वृद्धि भैरहदा सरकार वेवास्ता गरेर बसेको छ ।’ जनताको चाहना माथि खेलवाड गरेको भन्दै उनीहरुले मूल्य वृद्धि फिर्ता माग गरेका हुन् । त्यस्तै गणतन्त्र दिवशको दिन पारेर सरकारले चाल चलन ठीक भएको भन्दै व्यक्ति हत्याको आरोप लागेका बालकृष्ण ढुंगेललाई रिहा गरिनुले मानवअधिकारको चरम उलंघन भएको पनि नेविसंघले आरोप लगाएको छ । अध्यक्ष खड्ग थापा र सचिव श्रीकृष्ण पौडेलको हस्ताक्षर भएको ज्ञापन पत्र बुझाइसकेपछि कानूनी राज्यको उपहास भएको पनि बताइएको छ ।