कोरियामा सञ्चालित ढोरपाटन कपको उपाधि गण्डकीलाई

बागलुङ, २३ जेठ– बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले ‘शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रवद्र्वन र आपसी सद्भावका लागि खेलकुद’ भन्ने नाराका साथ दक्षिण कोरियाको सौलमा आयोजित छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता ‘ढोरपाटन कप २०१८’ को उपाधि कालीगण्डकी ब्वाइजले हात पारेको छ । १४ टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा परिवारलाई २–१ को सेटमा पराजित गर्दै कालीगण्डकी ब्वाइजले उपाधि चुमेको हो । विजेता कालीगण्डकी ब्वाइजले नगद १३ लाख वन (१ लख ३० हजार नेपाली), कप र प्रमाण पत्र, उपविजेता स्याङ्जा परिवारले नगद १० लाख वन (१ लाख नेपाली) कप तथा प्रमाणपत्र प्राप्त गरेको छन्भने सेमी फाइनलमा प्रवेश गरेका २ टिम बागलुङ बि र सिहङ सि आनसानले नगद ३ लाख ५० हजार वन (३५ हजार नेपाली) का दरले पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडिको उपाधि स्याङजा परिवारका खेलाडी कुमार गुरूङले हात पार्न सफल भएका छन् । बेष्ट प्लेयरलाई कप, नगद एक लाख वन (१० हजार नेपाली) तथा प्रमाण पत्र प्रदान गरिएको छ । बागलुङ सम्पर्क समिति कोरियाका अध्यक्ष सुवास लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले गरेका थिए ।