दमका विरामीको निःशुल्क उपचार

बागलुङ, २३ जेठ– धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित निलगिरि सहकारी अस्पतालले एक दिने श्वास प्रश्वास तथा दम रोगका विरामीहरको निःशुल्क स्वास्थ्य परिक्षण शिविर मंगलवार सम्पन्न गरेको छ । श्वास प्रश्वास तथा दमका रोग सम्बन्धी विरामीहरुको फोक्सोको कार्य क्षमता पल्मोनरी फङ्सन टेष्ट प्रयोग गरी श्वास प्रश्वास सम्बन्धमा फोक्सोको जाँच गरिएको अस्पतालमा मेडिकल निर्देशक डा.गोविन्द गौतमले जानकारी दिए । मानिसको श्वास प्रश्वास प्रक्रियामा फोक्सोले राम्रोसंग काम गरे नगरेको जाँच गरी उपचारमा सहयोग पुग्ने भएकाले यो जाँच आवश्यक रहेको गौतमले बताए । सिप्ला फार्मासेउटिकल कम्पनीको सहयोगमा आयोजना गरिएको १ दिने शिविरमा २५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । कम्पनीका कर्मचारी बिनिता पौडेल र निलगिरि अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतम लगायतका स्वास्थ्यकर्मीहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । साविक धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्थापित निलगिरि सहकारी अस्पतालले नियमित रुपमा विभिन्न किसिमका रोगको उपचारका लागि शिविरहरु सञ्चालन गर्दै औषधि उपचार गर्दै आइरहेको छ ।