वातावरण संरक्षणमा नागरिकको चासो

बागलुङ, २३ जेठ– ४५ औं विश्व वातावरण दिवश बागलुङमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । ‘प्लाष्टिक प्रदुषण निर्मुल पारौं, पुन प्रयोग गर्न नसके बहिस्कार गरौं’ भन्ने मुल नारासहित यो दिवश मनाइएको हो । पछिल्लो समय वातावरण प्रदुषणका घटना बढेको, कार्बन उत्सर्जनले मानव जीवनमा नकारात्मक असर पर्दै गएको लगायत घटनाको जानकारी दिंदै वातावरण संरक्षणमा आम नागरिकको चासो बढाउन जिल्लाभरनै दिवश मनाइएको सहायक वन अधिकृत प्रकाश थापाले बताए । जिल्ला वन कार्यालयको अगुवाईमा मंगलबार मात्र दर्जन बढी स्थानमा वृक्षारोपण, सरसफाई, मुहान सफाई, हाजिरीजवाफ, विद्यालय शिक्षा लगायतको काम गरिएको हो । वृक्षारोपणलाई पनि फलदायी बनाउन लोपोन्मुख प्रजातीका विरुवा रोप्ने, विद्यालय तहमा वातावरण शिक्षा दिने काम भएको हो । नेपाली सेनाको अर्जुन बाँण गणमा रहेको बिहुँ घोडाबाँधेमा १ सय ५० वटा लोपोन्मुख बिरुवा रोपिएको थियो ।
उक्त अभियानमा प्रमुख सेनानी तथा गणपति भुवनराज देवकोटाले शुभारम्भ गरेका थिए । उक्त अवसरमा देवकोटाले वातावरण अनुकुलित व्यवहार परिवर्तन पनि आवस्यक भएको बताएका थिए । त्यस्तै प्रहरी, निजामती र अन्य संस्थाले पनि फलफूल र औषधि तथा जडिवुटी प्रकारका बिरुवा रोपेर दिवश मनाएको कार्यालयले जनाएको छ । सेनाकै एक टोलीले गलकोट नगरपालिकाको हटिया बजार र गौंदी खोलामा फालिएका प्लाष्टिक, सिसा र अन्य फोहोर सफाई गरेको थियो ।
यो अभियानलाई नगर प्रमुख भरत शर्मा गैह्रे र स्थानीयले पनि सघाएका थिए । दिवशकै अवसर पारेर जिल्ला वनले आफ्ना मातहतका कार्यालयमार्फत कुशमीसेरा, निसीखोला, बुर्तिवाङ, बिहुँ र रिघामा वातावरण शिक्षा बिषयक प्रवचन र विद्यालय शिक्षा गरेको अर्का सहायक वन अधिकृत रामबहादुर बिकले बताए । मंगलबारै अन्तर विद्यालय स्तरीय सदरमुकाममा हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो । मंगलबार देशव्यापी आब्हान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विरुवा रोपेका थिए । एक व्यक्ति एक विरुवा रोप्ने अभियानलाई यो दिवशको अवसरमा प्रधानमन्त्रीले आग्रह समेत गरेका थिए ।
पछिल्लो समय नेपालमा पनि कार्बन उत्सर्जन बढ्दो दरमा गएको पाइएको छ । विशेषगरी प्लाष्टिकजन्य वस्तु जलाउँदा बढी प्रदुषण भएको विज्ञहरुको भनाई छ । उक्त प्रदुषण घटाउने अभियानलाई देशभर पु¥याउन दिवशलाई प्रयोग गरिएको निमित्त वन अधिकृत रामबहादुर बिकले बताए । जिल्ला भूसंरक्षण कार्यालयले पनि बाढी पहिरो जान सक्ने स्थानमा बाँस र ठूला रुखहरु रोप्ने काम थालेको थियो । खेतीयोग्य जमिन पनि बर्षेनी बिनास भैरहेकोले संरक्षणमा चासो बढाउँदै बन तथा वातावरणको संरक्षणमा सबैको चासो हुनुपर्ने उनले बताए ।