सुरु भयो सुबिधा सम्पन्न बागलुङ बसपार्क बनाउने तयारी

आसपासका पुर्बाधार बनाउँदै नगरपालिका

बागलुङ, २३ जेठ– जिल्ला सदरमुकाममा बन्न लागको सुबिधा सम्पन्न बागलुङ बसपार्क आसपासका संरचना निर्माणको कामले गति लिएको छ । बस पार्क निर्माणका लागि जग्गा दान गरेका जग्गा धनिहरुको बाँकी जग्गा कटीङ् गर्ने तथा प्लटिङ गर्ने कामले गति लिएको हो । नेपाल सरकार र दाता निकायको ऋण सहयोग लिएर ११ करोडको लागतमा निर्माण गर्न लागिएको बस पार्कको टेण्डर प्रक्रिया अगाडि बढेपछि नगरपालिकाले वरपरको जग्गा सम्याउन लागेको हो । नगरपालिकाले जग्गा सम्याउने कामका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । हाल ४ वटा डोजरले धमाधम काम गरिरहेका छन् । ‘यो गतिमा काम गरेमा कम्तिमा १० दिनमा सम्याउने काम सकिन्छ’ वडा नं. ४ का अध्यक्ष धु्रवबहादुर केसीले भने, ‘ठेक्काको काम हुँदै गर्दा हामीले पनि स्थानीय जग्गा दातालाई घडेरी दिने व्यवस्था गर्छौ ।’ स्थानीय बासिन्दाले जग्गा दिएपछि २०५९ सालमा ५९ रोपनी जमिन बसपार्कका लागि छुट्टयाइएको थियो । बसपार्कका लागि अत्यावस्यक १७ रोपनी जमिन छाडेपछि बाँकी स्थानमा जग्गावालालाई व्यवसायका लागि घडेरी बनाईदिने गरी जग्गा व्यवस्थापन समिति गठन भएको थियो । बसपार्कको टेन्डर खुलाईएपछि मात्र सम्याउने काम शुरु भएको निर्माण समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । बसपार्क निर्माणका लागि नगरबिकास कोषको ९ करोड ३९ हजार ऋण र अनुदानको ४१ लाख प्राप्त हुनेछ । बाँकी नगरपालिकाको आन्तरिक कोष, केएफडब्लु र समपुरक कोष मार्फत बनाईने भएको हो । यो बसपार्कका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन डिपिआर पनि बनाइसकेको छ । आगामी दुइ बर्ष भित्र बसपार्क बनेमा दैनिक कम्तिमा ६० वटा बस पार्क गर्न मिल्नेछ भने नियमित आउजाउ गर्ने समेत झण्डै एकसयबढी बस राख्न मिल्नेछ । साथै स्थानीय जग्गादाताले व्यवसाय संचालन गर्न सकुन भनेर १ सय २७ वटा घडेरी बनाएर उपलब्ध गराउने तयारी भएको हो । १५ बर्ष अघि जग्गा दिएका स्थानीयले लामो समय पछि मात्र घडेरीको रुपमा पाउन लागेको उनीहरुले बताए । करोडौं पर्ने जग्गा दिएका स्थानीयले राहत स्वरुप घडेरी पाउन लागेको कोषाध्यक्ष भीमकुमारी आचार्यले बताईन् । बसपार्क निर्माण भएमा बजारको चहलपहल बढ्ने र व्यवसाय फस्टाउने समेत स्थानीयले बताए ।