सडकको स्तरउन्नतीले मुहार फेर्दै सेरा बजार

अवको बर्षातमा हिलाम्मे नहुने

बागलुङ, २३ जेठ– जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारले मुहार फेर्न थालेको छ । बजार क्षेत्रभित्रको सडक स्तरोन्नती तथा पक्की नाली निर्माण भएपछि सेरा बजारले मुहार फेरेको हो । बर्षात्को समयमा हिलाम्मे हुने सेरा बजारले यस बर्षको बर्षात्मा यो नियती भोग्नु नपर्ने गरि सडकको स्तरोन्नती र पक्की नाली निर्माण गरिएको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए । बजार माथिबाट सिंचाईका लागि ल्याईएको ६ सयको कुलाको पानी बजार क्षेत्रमा पस्ने र बर्षात्को पानी निकासका लागि नालीको ब्यवस्था नभएका कारण सेरा बजार हिलाम्मे हुने गरेको रानाले बताए ।
यस बर्षको बजेटमा नगरपालिकाले ४५ लाख रुपैयाँ बिनियोजन गरेर सेरा बजारमा सडक फराकिलो बनाउने र पक्की नाली निर्माण गर्ने काम गरिरहेको छ । सेरा बजारको जिपपार्कदेखि तल्लो बजारसम्मको सडक विस्तार गर्ने र नाली बनाउने काम सकिएकाले बजारको रुपरंग नै फेरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदीले बताए । ‘उपभोक्ता समितिले ७० प्रतिशत काम सकेको छ’ सुवेदीले भने ‘केही काम चलिरहेको भएपनि बजारको मुहार भने फेरिएको छ ।’ कुश्मीशेराको तल्लो बजारदेखि ठेउलेखोलासम्म र उपल्लो बजारको केही भागमा नालीको काम बाँकी रहेको सुबेदीले जानकारी दिए । ६ सय ३६ मिटर लामो सडकलाई मापदण्ड अनुसार फराकिलो बनाउने र सडकमा एकतर्फी नाली बनाउने कामका लागि नगरपालिकाले बजेट विनियोजन गरेको थियो । राज्यको पुनःसंरचना भएसँगै नगरपालिकाको केन्द्र बनेको सेरा बजारलाई हेर्न सुहाउने बनाउनका लागि पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाईएको नगरपालिकाले जनाएको छ ।
बजार क्षेत्रको भल बाढी र ढल निकासको समेत व्यवस्थापन गर्ने गरी बजार क्षेत्रदेखि खोलासम्म नालीको निर्माण गर्ने योजना बनाईएको हो । ‘साँघुरो र हिलाम्मे सडकका कारण नगरपालिकामा सेवा लिन आउनेलाई सास्ती हुने गरेको थियो’ नगर उप–प्रमुख रानाले भने ‘फराकिलो बनाईएको सडकलाई ग्राभेल समेत गर्ने योजना रहेकाले अब त्यो समस्या हटेर जाने छ ।’ सेरा बजारमा रहेको समस्याका कारण जिल्लाको दक्षिणहुँदै चल्ने सवारी साधनले समेत सास्ती खेप्दै आएका थिए ।
असार मसान्तभित्रै बाँकी ३० प्रतिशत काम सक्ने योजना बनाएको नगरपालिकाले कामलाई गति दिन उपभोक्ता समितीलाई ताकेता गर्दै आएको छ । ‘प्राविधिक सहितको टोलीले पटक–पटक अनुगमन गरेर बाँकी काम पनि छिट्टै सक्नु भनेका छौं’ रानाले भने ‘असार मसान्त सम्ममा योजनाको सबै काम सकिने छ ।’ निरन्तर काम चलिरहेकाले तोकिएको समयमा नै योजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष काशीराम आचार्यले बताए ।