मरिलानु के छ र ?

लघुकथा

गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर मन्त्रीजीको स्वागत गरे । एकैछिनमा मन्त्रीजीले कलशमा बत्ती बालेर सप्ताहको उद्घाटन गरे ।
मन्त्रीजीले श्रद्धालुहरुलाई सम्बोधन गर्दै भने, ‘हेर्नुहोस् भक्तजनहरु, भगवानको कृपाले मेरो काठमाण्डौँमा चारवटा घर छन्, करीब बीस रोपनी जग्गा छ । चारवटा घर र बीस रोपनी जग्गा  भएर के गर्ने, बस्ने त एक रोपनीमा बनेको एउटा घरमा न हो; त्यस घरमा दशवटा कोठा छन्, दशवटा कोठा भएर के गर्ने;  बस्ने त आखिर एउटा कोठामा न हो ।’
भक्तजनहरुले रमाइलो मान्दै मन्त्रीजीको प्रवचन सुनिरहेका थिए ।
वातावरणलाई थप रमाइलो बनाउँदै मन्त्रीजीले भने, ‘एउटा कोठामा पनि एउटा मात्र खाट छ; के गर्नुहुन्छ, त्यही एउटा खाट पनि हामी बुढाबुढीले आधाआधा बाँडेर सुत्नु परेको छ ।’
भक्तजनहरुले चाख मानेर मन्त्रीजीको प्रवचन सुनिरहेका थिए । वातावरण रमाइलो भइरहेको थियो ।
मन्त्रीजीले भने, ‘हुन त बैँकमा  लाखौँ रुपियाँ पनि राखेको छ; तर के गर्ने छोराछोरी अमृकामा बस्छन् हामी बुढाबुढीलाई चिनी रोग लागेको छ;  खानामा बिहान दुइटा रोटी, बेलुकी दुइटा रोटी भए पुगिहाल्छ ।’
कुराको बीट मार्दै मन्त्रीजीले भने, ‘बुझ्नु भो, मानिससँग जति सम्पत्ती भए पनि आखिर दुइटा रोटी र आधा खाट भए पुग्नि रैछ, केही नचाहिँदो रैछ । मरीलानु पनि त केही छैन, त्यसैले मेरो तर्फबाट यस स्कूलका लागि दश लाख रुपियाँ चन्दा लेख्नुहोस्, तपाइँहरु समय मिलाएर काठमाण्डौँ आउँदा मलाई भेटेर रकम लिनु होला।’
मन्त्रीजीको दानशिलता देखेर भक्तजनहरुले तालीको गडगडाहटबाट उनको स्वागत गरे, मुक्तकँठले उनको प्रशँसा गरे । मन्त्रीजीको प्रवचनको प्रभावले धेरै भक्तजनहरुमा बैराज्ञ उत्पन्न भइसकेको थियो ।  भक्तजनहरुले पनि आआफ्नो गच्छे अनुसार हजार, दशहजार, पचासहजार सम्मको दान दिने घोषणा गरे ।
खोलाखेते हरिदाइ सँग पकेटमा भैँसी बेचेको पचासहजार रुपियाँ थियो । स्टेजमा गएर पचास हजार नगदै बुझाए । आयोजकहरुले उनलाई दानबीर हरि भनेर फूलको माला र सम्मानपत्रले सम्मान गरे । कालीपारे हर्कप्रसादले हिजोमात्र मनी एक्सचेञ्चबाट छोराले कतारबाट पठाएको पचास हजार बुझेर आएका थिए । रकम पकेटमै थियो । उनले पनि दायाँबाँया नहेरि स्टेजमा गएर सबै रकम दान गरे । गहतेकी पण्डितनी बजैले जतनसाथ जोगाएर राखेको पेवाको पचिस हजार दान गरिन । कसैले नगद दिए कसैले यती दिने, उती दिने भनेर बाचा गरे । आयोजकहरुले सबैलाई फूलमाला र अबिरको टीका लगाएर सम्मान गरे ।
मन्त्रीजीलाई अर्को कार्यक्रममा जान हतार भइरहेको थियो । आयोजकहरुले मन्त्रीजीलाई बीस तोलाको चाँदिको करुवा र सम्मानपत्र दिएर सम्मान गरे । मन्त्रीजी हेलीकप्टर चढेर काठमाण्डौँ लागे ।
सप्ताहको पहिलो दिनमै मन्त्रीज्यूको दश लाख समेत गरेर करीब बीस लाख जति रकम उठ्यो ।
त्यसको केही दिनपछि सप्ताहका आयोजकहरु मन्त्रीजीबाट दश लाख रुपियाँ लिन भनेर काठमाण्डौँ गए । दुइ दिनको कसरत पछि बल्ल बल्ल मन्त्रीजी भेट भए । यस पटक आफूसँग सुको कौडो नभएकोले दश लाख रुपियाँ दिन असमर्थ रहेको कुरा सुनाए । अर्कोपटक आउँदा फरक नपर्ने दिने आश्वासन दिए । आयोजकहरुले दिएको चाँदिको करुवा मन्त्रीजीको बैठक कोठाको दराजमा सजाएर राखिएको थियो । सबैले त्यस करुवालाई हेरे । मन अमीलो पार्दै आयोजकहरु बाहिरिए । त्यसपछि आयोजकहरु करिब पाँच चोटी काठमाण्डौँ गए । तर मन्त्रीजीले कबोल गरेको दश लाख कहिलै दिएनन् । आयोजकहरुले कुरा बुझे, त्यसपछि कहिलै पनि मन्त्रीजीकहाँ माग्न गएनन् ।
त्यसको केही महिनामा हृदयघातको कारण मन्त्रीजीको निधन भयो । त्यो खबर सुनेर आयोजकहरु मध्येको एकजनाले भने, ‘कठैबरा! मरिलानु त केही पनि रहेनछ ।’