आन्तरिक राजस्व कार्यालय भैरहवामा लक्ष्यभन्दा बढी राजश्व संकलन

चालू आर्थिक वर्षको १० महिनामा ७ अर्ब २५ करोड ६१ लाख राजस्व

भैरहवा, २४ जेठ – आन्तरिक राजस्व कार्यालय भैरहवा चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । साउनदेखि वैशाखसम्म राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
यो अवधिमा ६ अर्ब ९० करोड २४ लाख राजश्व संकलनको लक्ष्य रहेकामा वैशाखसम्म कार्यालयले ७ अर्ब २५ करोड ६१ लाख राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । संकलित राजस्व लक्ष्यभन्दा ५ प्रतिशतले बढी हो । विभागले कार्यालयलाई आव २०७४-७५ का लागि ९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ लक्ष्य दिएको थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकासहित ८ गाँउपालिका र नवलपरासीको सदरमुकाम रामग्रामसहित दक्षिणी भाग कार्य क्षेत्र यो कार्यालयअन्तर्गत छ । “कर शिक्षाको प्रभावकारिता, आमनागरिकमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास, करको दर र दायराबारे बुझाउन सक्दा राजस्व संकलन बढेको हो,” प्रमुख कर अधिकृत ढकालले भने, “करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन सक्नु, कर छली गर्नेहरूमाथि कारबाही र विभिन्न निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थालगायत सरकारी गैरसरकारी निकायको सहयोग र कर्मचारीको लगनशीलता र पारदर्शिताले गर्दा विभागले दिएको लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेका हौं ।”
कार्यालयका अनुसार चालू आवको वैशाखसम्म मूल्य अभिवृद्धि करतर्फ ७३ करोड ४१ लाख राजस्व संकलन भएको छ । मुअकरमा ७३ करोड २७ लाख लक्ष्य राखिएको थियो । यस्तै अन्तःशुल्क लक्ष्य ५ अर्ब २० करोड ४८ लाख राखिएकोमा ५ अर्ब ४९ करोड ८७ लाख संकलन भएको छ । स्वास्थ्य सेवातर्फ ६८ लाख १८ हजार राजस्व संकलन भएको छ । स्वास्थ्य सेवामा ५६ लाख ९३ हजार रुपैयाँ लक्ष्य राखिएको थियो । शिक्षातर्फ १ करोड १ लाख लक्ष्य राएिकोमा जम्मा ८४ लाख मात्रै संकलन भएको कार्यालयले जनाएको छ ।
यस्तै आयकर लक्ष्य ८५ करोड ९९ लाख रहेकोमा ९२ करोड ९१ लाख राजस्व संकलन भएको छ । बहाल कर लक्ष्य ३ करोड ४ लाख रहेकोमा ४ करोड र ब्याज कर लक्ष्य ५ करोड ८६ लाख राखिएकोमा ३ करोड ८९ लाख संकलन भएको छ । कार्यालयले सेवावापत र वस्तुगत कारोबारमा मात्रै राजश्व संकलन गर्छ । सेवाका हकमा २५ करोड रुपैयाँसम्म कारोबार गर्ने संघसंस्थाले राजश्व दाखिला गर्ने गर्छन् । भने वस्तुगत कारोबारतर्फ ४० करोडसम्मका करदाताले कर दाखिला गर्छन् । ४० करोडमाथिको कारोबार गर्नेहरूले ठूला करदाता कार्यालयमा राजस्व बुझाउने प्रावधान छ ।