सडक सञ्जाल भएको वडा बनाउँछु

पुरानो संरचना अनुसार जिल्लाको सुदुर दक्षिणमा रहेको गाविस छिस्ती राज्यको पुनः संरचनासँगै एकाएक नगरपालिकाको वडाको रुपमा विकास भएको छ । नगरपालिकाको वडाको रुपमा विकास हुँदा पनि सामान्य सडक सञ्जाल समेत नरहेको छिस्तीले गत बर्षको स्थानिय तहको निर्वाचनमा युवा नेतृत्व पाएको छ । अनेकौं समस्या पुर्वाधारको अभाव र भौगोलिक विकटताको समस्या झेलिरहेको छिस्तीमा निर्वाचनको एक वर्ष बितिसक्दा सम्म वडाका सबै टोलमा सडक पुगेको छभने अन्य केही विकास निर्माणका काम पनि भएका छन् । आफ्नो व्यवसायभन्दा समाजसेवा र राजनीतिलाई अग्रभागमा राखेर काम गरिरहेका जैमिनी नपा–८ का वडा अध्यक्ष विजय शर्मा अधिकारीसँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।

वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–सबैभन्दा पहिलो कुरा त आफुले कामलाई कसरी लिने भन्ने कुरा हो । यदि आफ्नो काम सम्झेर काम गरे कुनैपनि काम गर्न सकिँदैन वा अप्ठ्यारो हुन्छ भन्ने होईन् । वडा अध्यक्ष भनेको जनताको मान्छे हो । जनताका भावना बुझेर काम गर्न सक्ने होभने काम गर्न असहज छैन् । सर्वमान्य निर्णय लिन सके काम गरेर निकास दिन सकिन्छ भन्ने लाग्छ ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–एकदमै राम्रो प्रश्न गर्नुभयो, म निर्वाचित भएपछि हाम्रो वडामा धेरै कामहरु भएका छन् । साना–तिना कामको विषयमा त मैले के ब्याख्या गरौं र यो सर्वसाधारण जनताले मुल्याङ्कन गर्ने कुरा हो । निर्वाचन हुनु पुर्व हाम्रो नगरपालिकाको एउटा मात्रै वडा थियो, जहाँ सडकको सञ्जालले छोएको थिएन । हामीले निरन्तर प्रयास गर्दै सडक नै नभएको वडाका सबै टोलमा सडक पु¥याएका छौं । कालीगण्डकी कोरिडोरको ट्रयाक खुल्ने क्रममा थियो, त्यो ट्रयाक खुलेपछि सोही सडकलाई आधार बनाएर धेरै बाटोहरु हामीले निर्माण गरेका छौं । नगरपालिकाको केन्द्र कुश्मीशेरा बजारदेखि जैदीहुँदै ढुसेनी जाने सडक निर्माण भएको छ । कालीगण्डकीको किनारदेखि ढाव–वडा कार्यालयसम्म जाने सडक निर्माण भएको छ । कालीगण्डकी कोरिडारदेखि वाईनकुना सडक बनेको छ । कोरिडोर–रिठावट–मर्नास सडक निर्माण भएको छ । वडाभित्र रहेको खोलाखानी टोलबाहेक सबै टोलमा सडकको सञ्जाल बिस्तार गरेका छौं । सडक नै नभएका कारण पहिलो प्राथमिकतामा राखेर हामीले सडकको काम गरेका हौं । त्यसैले गर्दा अन्य ठुला काम कम भए होलान तर साना–तिना योजनाका काम धेरै भएका छन् ।
वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–अहिले त्यो समस्या छैन । हाम्रोमा स्थानिय व्यक्तिनै सचिवको रुपमा त्यहाँ रहनुभएकाले मैलेभन्दा पनि धेरै समय उहाँले दिनुभएको छ । म पनि नियमित कार्यालय पुग्ने गरेको छु । विषयगत कार्यालयका कर्मचारी नियमित जाने गरेकाले कार्यालय बन्द हुने वा काम नबन्ने समस्या छैन् ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–हामीले वडाको विकासका लागि विभिन्न साना योजनाहरु प्राथमिकताका साथ अगाडि बढाएका थियौंभने मुख्य योजना सडक बनाउने नै थियो । सोही अनुरुप धेरै सडकका कामहरु भैसकेका छन् । म हजुरसँग कुरा गरिरहँदा पनि बाटो बनाउने कामबाट नै यहाँ आएको हुँ । उपभोक्ता समितीमार्फत काम भैरहेको छ । केही शिक्षा क्षेत्रका काम भएका छन् । केही स्वास्थ्य क्षेत्रका जस्तोः शौचालय बनाउने, भवनको मर्मत गर्ने तथा विद्यालयका कक्षा कोठा बनाउने, बालविकास केन्द्रका भवन बनाउने लगायतका योजना थिए र काम भैरहेका छन् । कतिपय काम सम्पन्न भैसके भने केही काम सम्पन्न हुने चरणमा छन् ।
तपाईको वडाका सडक कच्ची छन, पक्की कहिलेसम्म बनाउनु हुन्छ ?
–हामीकहाँ सडक नै थिएन । पहिलो कुरा त सडक बनाउने नै भयो । म नगरपालिकाको पुर्वाधार विकास समितीको संयोजक समेत रहेकाले गत वर्षको बजेटमा हामीले सडक पक्की बनाउने विषयमा कुनैपनि सोच नै बनाएका थिएनौं । किनभने हाम्रोमा एक मिटर सडक समेत पक्कि छैन । ट्रयाक नै खोल्ने काम बाँकी थियो । ट्रयाक खोल्ने काम सक्ने, स्तरोन्नती गर्ने, सडकलाई गाडी गुड्न योग्य बनाउने र ग्राभेल तथा पक्की बनाउने काम क्रमशः सुरु गर्ने छौं । तर मेरै कार्यकालमा पक्की गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । अर्को कार्यकालमा निर्वाचित भएर आउनेहरुका लागि आधार बनाएर छोड्ने योजना मेरो छ ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–पहिलो कुरा सडकमा व्यापक स्तरोन्नती गरेर राम्रो सडक सञ्जाल भएको वडा बनाउने छौं । अर्को कुरा वडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ । कालीगण्डकी किनारादेखि पुर्ण गाउँसम्म चौतर्फी विकास गरेर पर्यकटकका लागि आर्कषक गन्तव्य बनाउने योजना छ । भौगोलिक हिसाबले वडाको तल्लो तहदेखि उपल्लो तहसम्म विविध खालको वातावरण हाम्रोमा छ । सोही विविधतालाई प्रयोग गरेर पर्यटक तान्ने माध्याम बनाउने सोच छ । बराजुको थान हाम्रोमा रहेको निकै रोमाञ्चक र आर्कषक धार्मिक पर्यटनको गन्तव्य हुन सक्छ । त्यसको लागि समेत हामीले योजना बनाएर काम गर्ने सोचमा छौं । अर्को कुरा प्राविधिक चेकजाँच त भएको छैन् । उष्ण हावापानी रहेको कालीको किनारमा आँप खेती र चिसो हावापानी भएको उपल्लो भागमा सुन्तला खेती गर्ने योजना बनाएको छु । स्थानिय सबै जनतासँग सहकार्य र सरसल्लाह मेरो यो योजनालाई अगाडि बढाउने छु ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–हामीलाई आफ्नो विचार राख्ने र वडामा भए गरेका कामको विषयमा आम वडाबासीलाई जानकारी गराउने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद । हामीबाट कहीँकतै कमजोरीहरु भएभने खवरदारी गर्ने क्षेत्रमा यहाँहरु हुनुहुन्छ । रचनात्मक खबरदारीको हामी सधैं प्रतिक्षामा रहने छौं । अवसरका लागि तपाईं र तपाईको सञ्चारमाध्यामलाई धन्यवाद ।